ad ad

समाज


सहकारी ठगी प्रकरण : रवि लामिछाने र दीपेश पुनविरुद्ध कास्की प्रहरीमा जाहेरी

सहकारी ठगी प्रकरण : रवि लामिछाने र दीपेश पुनविरुद्ध कास्की प्रहरीमा जाहेरी

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार १८:२३, काठमाडौँ

पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।

दर्ता भइनसकेको उक्त जाहेरीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनकाे नाम पनि उल्ले छ। दीपेश नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव हुन्। 

जिल्ला प्रहरी कार्यालय कास्सीका एसपी मोहन थापाले यो प्रकरणमा रवि र दीपेशसहितविरुद्ध पुरक जाहेरी परेको नेपालखबरलाई बताए।

'रवि लामिछाने र दीपेश पुनसहित जीबी राईले चलाएका १६ वटा कम्पनीविरुद्ध पुरक जाहेरी आएको छ', उनले टेलिफोनमा भने, 'हामीले यसबारे केही दिनदेखि अनुसन्धान गरिरहेका थियौँ। अब दोषी देखिएका मानिसहरूविरुद्ध पुरक प्रतिवेदन अदालत जान्छ।'

पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिले रविसहितका व्यक्तिहरुलाई पनि दोषी किटान गरेकाले ती व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने मागसहित प्रहरीमा दोस्रो निवेदन बुझाइएको सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए। 

छानबिन समितिको सिफारिसको आधारमा सरकारी वकिलको कार्यालयले १९ जनालाईमात्र प्रतिवादी बनाएको तर  प्रतिवेदनमा समेटिएका २ देखि ३ सय व्यक्तिलाई प्रतिवादी बनाएर जानुपर्ने संघर्ष समितिको माग छ।

यही माग लिएर उनीहरुले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि रास्वपाका अध्यक्ष रवि लामिछानेसम्मलाई गुहारेका थिए। तर, उनीहरुको माग सुनुवाइ भएको छैन।

सहकारीपीडितले आइतबार नै जाहेरी दर्ता गराउन चाहेका थिए। तर कास्की प्रहरीले 'सूचना दिनुस्, पुरक जाहेरी दर्ता गरिरहनु पर्दैन' भनेरर उनीहरूलाई फर्काइदिएको थियो।

सहकारीको अर्बौं रुपैयाँ हिनामिना गरेर जीवी राई, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, थानबहादुर बुढामगर, भूपेन्द्र राई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठ फरार भएका छन्।  

संघर्ष समितिका संयोजक किरण श्रेष्ठ महानगरले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा नाम भएकाहरु, गलत प्रक्रियाले पैसा लगेर लामो समयसम्म एकपैसा पनि फिर्ता नगरेका र गलत तरिकाले कारोबार गरेका विभिन्न व्यक्ति, संघ-संस्थालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन्।

सूर्यदर्शन सहकारीको पैसा रवि प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरिएको सार्वजनिक भइसकेको र लगानी नै गर्न नमिल्ने ठाउँमा सहकारीले लगानी गर्दा रवि लामिछाने टेलिभिजनको प्रबन्ध निर्देशक रहेको मात्र नभएर महानगरले गरेको छानबिन प्रतिवेदनमा पनि नाम मुछिएकाले उनीसहितका व्यक्तिहरुमाथि पनि अनुसन्धान गरिनुपर्ने आफ्नो माग रहेको संघर्ष समितिका संयोजक किरणको भनाइ छ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्बभन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्वअध्यक्ष गितेन्द्र (जीबी) राईसहित दर्जनौँ व्यक्ति अहिले फरार छन्।

उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ। सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष रम्तेल सबैभन्दा पहिले पुर्पक्षका लागि थुनामा गएका थिए। 

त्यसैगरी युवा संघ नेपालका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) पनि जेल चलान भएका छन्। उनीसँगै सञ्चालक भविश्वर अर्याल पनि अहिले कास्की कारागारको थुनामा छन्। 

गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए।

पोखरामा जीबी राई अध्यक्ष रहेको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत् बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। 

ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा झिकेको छानबिन प्रतिवेदनले देखाएको थियो। 

सहकारीको रकम अपचलनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको पनि नाम मुछिएको थियो। लामिछानेले भने सहकारीको रकम आफूले नलिएको जिकिर गरिरहेका छन्। 

जिल्ला अदालत, कास्कीमा दर्ता सहकारी ठगी मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .