ad ad

समाज


अरुण चौधरीसहित ३ व्यवसायी आज छुट्दै

अरुण चौधरीसहित ३ व्यवसायी आज छुट्दै

नेपालखबर
माघ २४, २०८० बुधबार ११:१७, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम आज व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रिहा गर्दै छ। 

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुणसहित बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका पूर्वअध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई हाजिर जमानीमा छाड्न लागिएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार दिएको आदेशअनुसार आज उनीहरूलाई रिहा गर्न लागिएको हो। 

सीआईबीले पक्राउ गरे पनि स्वास्थ्यको कारण देखाउँदै अरुण र अजितलाई भने हिरासतमा नराखी अस्पतालमा राखिएको थियो भने ठाकुर सीआईबीकै हिरासतमा छन्।

रिहा गर्न अरुण र अजित दुवै ग्रान्डी अस्पतालबाट सीआईबीको कार्यालय लाजिम्पाट ल्याइएको छ र कागज गराएर आफन्तको जिम्मामा छाड्ने तयारी भइरहेको छ। 

उनीहरूबारे अनुसन्धान भने जारी रहने सीआईबीले जनाएको छ। 

दोस्रोपटक म्याद थपका लागि सीआईबीले सोमबार उनीहरूलाई अदालत उपस्थित गराउँदा न्यायाधीश आचार्यले माघ २२ र २३ गते थप २ दिन मात्र हिरासतमा राख्न अनुमति दिँदै बाँकी अनुसन्धान थुनाबाहिरै राखेर गर्न आदेश दिएका थिए।

व्यवसायी चौधरी, ठाकुर र थापालाई सीआईबीले गत बिहीबार पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि अदालतले पहिलोपटक चार दिनको म्याद दिएको थियो। तर यो अवधिमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले सोमबार थप म्याद मागेको थियो। तर अदालतले दुई दिनभन्दा बढी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो।

६० वर्षीय चौधरी तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सेयरधनी तथा सञ्चालक हुन्। उनीहरूले पहिले सार्वजनिक कम्पनीलाई निजी कम्पनी बनाएको सीआईबीको निष्कर्ष छ। हालको सीजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालकसमेत रहेका अरुणले नै मालपोत कार्यालयमा लिखतहरु सहीछाप गरेको भेटिएको प्रहरीको भनाइ छ।

यही प्रकरणमा पक्राउ परेका अजितनारायण थापा तत्कालीन बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष थिए। तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड सञ्चालक समितिको अध्यक्ष पनि उनै थिए। उनकै कार्यकालमा छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना भएको मानिएको छ। थापाले नै उक्त जग्गा अर्को कम्पनीको नाममा गराउने निर्णय गरेको सीआईबीको दाबी छ।

प्रहरीका अनुसार, हाल अरुण चौधरी लगायतको कम्पनीको नाममा आएको १० रोपनी जग्गा दिने निर्णयकर्ता थापा नै हुन्। उनकै एकल निर्णयमा छाला तथा जुत्ता कारखानाको जग्गा फुटवेयर कम्पनीको नाममा पुगेको थियो।

२०३७ कात्तिक २० गतेको निर्णयले बाँसवारी छाला तथा जुत्ता कारखानाको नाममा काठमाडौं महानगरपालिका–२२ मा कित्ता नं ५० को १८ रोपनी ३ आना २ पैसा जग्गा स्रेस्ता कायम भएको थियो।

तर उक्त जग्गा तत्कालीन सरकारको निर्णयबिनै गैरकानुनी रुपमा बाँसबारी छाला तथा जुत्ता काराखाना सञ्चालक समितिले फुटवेयर कम्पनी खडा गरेको र उक्त कम्पनीको नाममा १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

सरकारको निर्णयबिना सञ्चालक समितिलाई कारखानाको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभए पनि तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिने निर्णय गरेको आरोप छ।

२०४३ भदौ १० गते बाँसबारी छाला तथा जुत्ता कारखानाको तर्फबाट थापाले अरुण चौधरीसमेत सञ्चालक रहेको कम्पनी खडा गरेका थिए।

कम्पनीको जारी पुँजी ५० लाखको २५ प्रतिशत सेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा स्रेस्ता कायम रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गाको हक हस्तान्तरण भएको थियो।

सञ्चालक समितिको यही निर्णयबाट सरकारलाई हानि पुर्‍याएको सीआईबीको दाबी छ। सम्झौता अनुसार च्याम्पियन फुटवेयरमा बाँसबारी छाला तथा जुत्ता कारखानाका तर्फबाट १२ लाख ५० हजार रुपैयाँ मात्रै लगानी गर्नुपर्ने भए पनि २६ लाख २७८ रुपैयाँ २१ पैसा लगानी गरेको देखिएको र यसबाट पनि आफूलाई आर्थिक लाभ हुने गरी सरकारलाई ठगेको आरोप उनीहरूलाई लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .