काठमाडौं महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिका विरुद्ध आन्दोलित भएका छन्।
शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरुको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन्। गत सोमवार काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन्।
बिहीवार शान्तिबाटिकामा पीडितहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादती गरेको बताएका छन्। शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगरपालिकाका मेयर बालेन साहले हस्तक्षेप गरेका उनीहरुको भनाई छ।
उनीहरूले शान्तिबाटिकामा आफूहरुको धर्ना जारी रहने पनि बताएका छन्।
२३८ दिनदेखि आरती साहको न्यायको लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरु हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट पनि पीडित भएको बताए।
उनले मेयर साहले गरिबहरुमाथि दमन र अत्याचार गरेको बताए। उनले शान्ति बाटिका मेयर साह र काठमाडौं महानगरपालिकाको मात्रै सम्पत्ति नभएको भन्दै मेयरले तानासाही व्यवहार देखाएको बताए। मेयर साहलाई हिटलर नबन्न आग्रह समेत गरे।
त्यस्तै, मिटरब्याज तथा ठगी बिरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमवार धर्नारत महिला तथा बालबालिकाहरुलाई नगर प्रहरीले जबर्जस्त शान्तिबाटिकाबाट निकालेर ज्यादती गरेको बताइन्।
उनले महिलामाथि ज्यादती गर्ने मेयर र नगर प्रहरीलाई राज्यले कारबाही गर्नुपर्ने बताइन्। उनले आफूहरुको आन्दोलन जारी रहेको भन्दै शान्तिबाटिका नछोड्ने स्पष्ट पारिन्। पीडितहरु महानगरको ज्यादतीपछि बिचल्लीमा पर्दा पनि सरकार टुलुटुलु हेरेर बसेको उनले बताइन्।
त्यसैगरी विगत २५ दिनदेखि धर्नारत न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको बताइन्। उनले आफूमाथि राज्यले आतंक मच्चाएको पनि बताइन्। उनले प्रमाण हुँदाहुँदै पनि बलात्कारी न्यायाधीश भुवन गिरीलाई न्यायालयले संरक्षण गरिरहेको बताइन्।
उनले न्यायालय कहिले स्वतन्त्र र शुद्धीकरण हुन्छ? भनेर प्रश्न समेत गरिन्। पीडितहरुले आफूहरु शान्तिबाटिकामा बसेर विरोध प्रदर्शन गरिरहने बताएका छन्।
Shares
प्रतिक्रिया