ad ad

समाज


कोरोना भाइरसबाट धेरै त्रसित हुनु पर्दैन, सार्स र मर्सजस्तो खतरनाक यो होइन : चिकित्सक

कोरोना भाइरसबाट धेरै त्रसित हुनु पर्दैन, सार्स र मर्सजस्तो खतरनाक यो होइन : चिकित्सक

नेपालखबर
माघ २७, २०७६ सोमबार १४:२८,

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले सोमबार चीनबाट फिर्ता ल्याउने भनिएका नेपालीलाई काठमाडौँ उपत्यकाभित्र राख्न नहुने बताए। उनीहरुलाई यति धेरै जनसंख्या भएको स्थानमा राख्दा महामारी फैलिन सक्ने उनको तर्क थियो।

केही दिनअघि उनीहरुलाई सरकारले उपत्यकाको चार स्थानमा राख्ने गरी तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए। तत्कालै केही स्थानीय स्थानीय सरकार र बासिन्दाहरुले त्यसको विरोध गरे। नगरसभाहरुले ती नेपालीलाई आफ्नो क्षेत्रभित्र राख्न नदिने निर्णय समेत गरे।

चीनको हुबेई प्रान्तबाट फैलिएको कोरोना भाइरसको त्रास नेपालमा कुन हदसम्म छ, यी घटना र अभिव्यक्तिबाटै थाहा हुन्छ। तर, सरुवा रोगका विज्ञहरु भने नेपाली जनमानसमा देखिएको यस्तो चिन्ता उचित नभएको बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोना भाइरसबाट यसरी डराउनु नपर्ने बताएका छन्।

‘इन्फ्लुइन्जामा भन्दा थप दुई विषयमा सतर्कता अपनाए यो भाइरस सर्दैन,’ उनले भने, ‘जनावरको नजिक नजाने र मासु राम्रोसँग पकाएर खाने गर्नुपर्छ। व्यवस्थापन राम्रो भयो भने आत्तिन पर्दैन। सतर्क भने रहनुपर्छ।’

हालसम्म कोरोना भाइरसबाट संक्रमित ४४ हजारमध्ये अधिकांश चिनियाँ छन्। हालसम्म यसबाट ९ सयभन्दा बढीको ज्यान गइसकेको छ।

सेन्टर फर मलिक्युल डाइनामिक्स नेपालका जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित पनि कोरोना भाइरससँग सतर्क हुनुपर्ने तर तर्सिन नहुने बताउँछन्।

‘कोरोना भाइरसबारे चाहिने भन्दा बढी त्रास देखिएको छ। नेपाल मात्रै होइन, विश्वव्यापी रुपमै यस्तो देखिन्छ,’ दीक्षितले भने, ‘यससँग सतर्क हुनुपर्छ तर त्रसित हुन आवश्यक छैन। सार्स र मर्स भाइरसको संक्रमितमा मृत्युदर उच्च थियो। यसमा त्यति छैन।’

कोरोना भाइरसको संक्रमितमध्ये मृत्युदर दुई प्रतिशत मात्रै छ। सार्समा १५ प्रतिशत र मर्समा ४३ प्रतिशत मृत्युदर थियो।

अहिले देखिएको साधारण रुघाखोकीले पनि मानिसको ज्यान लिनसक्ने भन्दै दीक्षितले भने, ‘कमन फ्लुले पनि प्रत्येक वर्ष आफूलाई परिवर्तन गर्छ। नेपालमा मात्रै वार्षिक ६ देखि सात हजारमा मानिसको मृत्यु हुने गरेको अनुमान छ। यसबाट संसारभर प्रत्येक वर्ष छ देखि साढे लाख मानिसको मृत्यु हुने गर्छ।’

कमन फ्लुबाट संक्रमितमध्ये प्रतिहजार एक जनाको मृत्यु हुने गरेको छ।

‘कोरोनाको कारण कुन उमेर समूहका मानिसको बढी मृत्यु भएको छ, त्यो हेर्नुपर्ने हुन्छ,’ दीक्षितले भने, ‘उमेर बढी भएको मानिस र कमजोर प्रतिरोधी क्षमता भएको मानिसको धेरै मृत्यु भएको छ।’

चीनमा कोरोनाको संक्रमित भएर गम्भीर अवस्थामा पुगेका चार हजार मानिस उपचारपछि घर फर्किएका छन्।

‘कोरोना नया प्रजाति भएको कारणले यस विषयमा खासै अनुसन्धान भएको छैन। त्यसले धेरै प्रकार हल्ला र डर त्रास आएको छ,’ दीक्षितले भने, ‘यो हावाको माध्यमबाट सर्छ कि सर्दैन, स्पष्ट भइसकेको छैन। हावाबाट सर्ने हो भने यसलाई खतरनाक मान्नुपर्छ। तर, अहिलेसम्म त्यो पुष्टि भएको छैन।’ उनले जनावरबाट मानिसमा सर्दाको समयभन्दा भन्दा अहिले कोरोना भाइरस कमजोर भइसकेको पनि बताए।

वुहानमा रहेका नेपालीहरुले आफूहरुलाई उद्धार गर्न सरकारसँग आग्रह गर्दै आएका छन्। तिनका आफन्तले पनि सरकारसँग चाँडो उद्धारका लागि हारगुहार गरिरहेका छन्। उद्धार गरिएकाहरुसँगै भाइरस पनि आउने त्रास थुप्रैमा देखिन्छ।

तर, चीनबाट नेपाल ल्याइनेहरुले कुनै समस्या नपार्ने हुनाले उद्धारमा आपत्ति जनाउन नहुने बताउँछन्, डा. पुन।

‘चीनकै विमानस्थलमा स्क्रिनिङ हुने र संक्रमणको लक्षण नदेखिएकाहरुलाई मात्रै नेपाल पठाउने हो,’ उनले भने ‘चीनमा पनि क्वारेन्टाइनमा बसिरहेका छन् उनीहरु। अहिलेसम्म नेपालीकोही संक्रमित भएको छैनन्।’

पुनले चीनबाट नेपाल ल्याइनेहरुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्धारण गरेको समय सीमाअनुसार १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताए । ‘केही परीक्षण गर्नुपर्दा थप एक दुई दिन लाग्न सक्छ,’ पुनले भने।

यद्यपि भाइरसको प्रकोप नियन्त्रण नभइन्जेल यसबाट उत्पन्न हुने त्रास कम हुने संकेत देखिँदैन। सायद यस्तै त्रास देखेर सिंगापुरका प्रधानमन्त्री ली सिन लुङले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘त्रास र चिन्ता मानवीय प्रक्रिया हो। तर, भाइरसले भन्दा त्रासले बढी क्षति पुर्‍याउन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .