ad ad

समाज


यौन पेसामा रहेका ४२ प्रतिशत महिलामा यौन रोगको लक्षण, २७ प्रतिशतको अध्ययन १० कक्षा माथि

यौन पेसामा रहेका ४२ प्रतिशत महिलामा यौन रोगको लक्षण, २७ प्रतिशतको अध्ययन १० कक्षा माथि

नेपालखबर
फागुन ४, २०८० शुक्रबार ६:३८, काठमाडौँ

यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनले देखाएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशत महिलामा यौन रोगको लक्षण देखिएको पाइएको हो।

अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले एचआइभी एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग ती महिलामा देखिएको बताइन्। उनका अनुसार एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको छ।

अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ। यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआइभी परीक्षण पनि नगरेको पाइएको छ।

परिषद्ले पोखरामा गत वैशाखदेखि असोजसम्म ३६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो। तीमध्ये विवाहित १६९, अविवाहित ८१ र सम्बन्धविच्छेद गरेका ९९ र विधवा १५ जना थिए ।

अध्ययनमा १८ वर्षदेखि ५८ वर्ष उमेरसमूहका महिला थिए। परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले धेरै महिलामा एचआइभी एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताइन्।

अध्ययनअनुसार पहिलो पटक शारीरिक सम्पर्क हुँदा १० बर्ष र बढीमा २५ वर्ष उमेर रहेको पाइएको अनुसन्धानकर्ता दवाडीको भनाइ थियो ।

उनले यौन व्यवसायमा २१ वर्षदेखि ३० वर्ष उमेरसमूहका बढी रहेका, ६० प्रतिशत महिलाले १६ देखि २० वर्षभित्रमा विवाह गरिसकेका र ३५ प्रतिशत महिलाले गर्भपतन गराएको पाइएको जानकारी दिइन्।

अध्ययनमा धेरैले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता दवाडीको भनाइ थियो।

‘धेरैजसोले परिवारमा पैसाको अभावकै कारण यौन व्यवसाय लाग्नुपरेको बताएका थिए । यसैगरी लकडाउन, श्रीमान्को मृत्यु, श्रीमान्ले छोडेर गएकाले पनि यौन व्यवसायमा संलग्न भएको पाइयो’, उनले भनिन् ।

लागूऔषधको दुर्व्यसनी

अध्ययनमा यौन व्यवसायमा संलग्नले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेको पनि पाइएको छ। उनका अनुसार ६० प्रतिशतभन्दा बढीले मादकपदार्थ सेवन गर्ने गरेको र ११ दशमलव आठ प्रतिशतले दैनिक मादक पदार्थ खाने गरेको पाइएको छ।

यस्तै यौन व्यवसायमा संलग्नमध्ये १० दशमलव चार प्रतिशत लागुऔषध प्रयोगकर्ता रहेको पाइयो। लागुऔषध सुईमार्फत प्रयोग गर्ने गरेको अनुसन्धानकर्ता दवाडीले बताए। यसैगरी दुई दशमलव सात प्रतिशतले लागुऔषधका लागि शारीरिक सम्पर्क गर्ने गरेको पाइएको उनले बताए।

परिवारलाई जानकारी छैन
अध्ययनअनुसार सवैजनाले परिवारमा आफ्नो पेसाबारे जानकारी नभएको बताएका थिए। परिवारिक मेलमिलाप तथा सामाजिक प्रतिष्ठामा असर पर्ने भएकाले यस्ता कुरा सुरक्षित राख्ने गरिएको छ।

यौन व्यवसायमा लाग्ने धेरैजसोले आधारभूत शिक्षा लिएको पाइएको छ। छदेखि १० कक्षा पास गरेका धेरैजसो थिए भने १० कक्षामाथिका २७ दशमलव चार प्रतिशत थिए।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघराज धिमालले यौन व्यवसायमा लाग्ने महिलालाई आम्दानी हुने खालका सीपमूलक तालिम दिएर सम्पन्न गराउनसके यौन व्यवसायमा छोड्ने भएकाले महिलालाई मानसिक स्वास्थ्य र परामर्श सेवा सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले अध्ययनले नीति निर्माता तथा कार्यक्रम तर्जुमा गर्नेलाई वास्तविक यौन व्यवसायका पीडा देखाउने र तिनीहरुका पक्षमा योजना बनाउन सजिलो हुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .