ad ad

समाज


सानेपा घटना : छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु

सानेपा घटना : छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु

सागर न्यौपाने
माघ २८, २०७६ मंगलबार १४:४३,

एक हप्ताअघि काठमाडौंबाट फोन गरेर दाङका जानकी चौधरीलाई छोराले भने, ‘बुबा, भुटेको तोरीको तेल र मुसुरोको दाल पठाइदिनू, सरले भन्नुभएको छ।’

सोमबार ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा मृत फेला परेका विजय चौधरीका बुबा जानकी चौधरीले मंगलबार नेपालखबरसँग भने, ‘छोरासँगको त्यही कुराकानी नै अन्तिम रहेछ।’

२३ वर्षे छोराले आत्महत्या गरेको खबर सुनेपछि मंगलबार दाङबाट बसमा काठमाडौं आउँदै गरेका उनी फोनमा राम्रोसँग कुरा गर्न सकिरहेका थिएनन्।

५० वर्षे चौधरीले आफ्नो जेठो छोरा गुमाउनु पर्दाको पीडा लुकाउन सकिरहेका छैनन्। फोनमा कुरा गर्दागर्दै उनी लरबराएको र डाँको छोड्न खोजेको सुनिन्थ्यो। तर बसमा अन्य यात्रुसँगै यात्रा गरिरहेकाले होला, उनी सम्हालिन खोजिरहे झैं लाग्थे।

विजय साढे पाँच वर्षदेखि पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्न भनेर बसेका थिए। सोमबार कार्कीकी श्रीमती मुना र विजय सोही घरमा मृत भेटिए। घटनास्थलमा मुना रगतपच्छे र अचेत अवस्थामा भेटिइन् भने विजयले झुण्डिएर आत्महत्या गरेको जस्तो देखियो। कार्कीको घरको दृष्य देख्ने प्रहरी र अन्य धेरैले विजयले मुनाको हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरे।

त्यही खबर एकैछिनमा देशविदेश फैलियो। विजयका बुबा जानकीको कानमा केही घण्टामै त्यो खबर पर्यो। छिमेकीले सुनाएको त्यो अत्यन्त अशुभ खबरमा जानकी चौधरीले अहिले पनि विश्वास गर्न सकेका छैनन्।

सोमबार अपरान्ह नै घटनाबारे थाहा पाएपछि उनी विह्वल भए। उनको होस हराएजस्तै भयो। के गर्ने कसो गर्ने ठम्याउन सकेनन्। सोमबारै काठमाडौं हिँड्न पनि सकेनन्। मंगलबार भने उनी बिहानै काठमाडौं आउने बस चढे, बिरामी श्रीमतीलाई घरमै छोडेर।
***
काठमाडौं आएको करिब ७ वर्षको अवधिमा विजय ३ पटक मात्रै जन्मघर दाङ पुगेको जानकीले सम्झिए। काठमाडौं आएको पाँच वर्षपछि अघिल्लो वर्षको माघमा र तिहारमा घर पुगेका विजय त्यसअघि एकपटक नागरिकता बनाउन भनी गएका रहेछन्।

बेलाबेला फोनमा कुरा गर्ने गरेका विजय सहरमा आफू बसेको घरमा खुसी रहेको बताउँथे, परिवार र साथीभाइसँग।

‘काम राम्रो छ, घरमाभन्दा काठमाडौं नै रमाइलो भन्थ्यो’, जानकीले छोरा विजयका शब्द स्मरण गर्दै भने, ‘अरु केही भनेको थिएन, सरहरुको कुरा खासै गर्दैनथ्यो। बेलाबेला पैसा पठाउँथ्यो।’

अहिलेसम्म कति पैसा पठाए होलान विजयले भनेर जानकी हिसाब अनुमान लगाउन सक्तैनन्। छोरा गुमाउनुको दर्दनाक पीडामा रहेका उनी सम्झिएका कुरा पनि राम्रोसँग भन्न सकिरहेका थिएनन्। केही दिनअघि माघीमा भने २० हजार रुपैयाँ पठाएको उनले सम्झिए।  

विजय चौधरी दाङबाट करिब १५ वर्षको उमेरमा काठमाडौं आएका थिए। छोराको जन्म मितिबारे पनि आफूलाई ठ्याक्कै याद नभएको जानकी बताउँछन्। ६ कक्षा पढ्दापढ्दै बीचमै पढाइ छाडेका विजयलाई छिमेकी आश्विन चौधरीले ‘एकजना सरलाई राम्रो मान्छे चाहिएको छ’ भनेर काठमाडौं ल्याएका थिए। 

दाङको लमही नगरपालिका वडा नम्बर २ (साविकको चेलाई गाविस) का बासिन्दा जानकीका जेठो छोरो हुन् विजय। घरमा दुई भाइ र बुबा आमालाई छोडेर उनी काठमाडौं पसेका थिए।

विजयभन्दा जेठी एकजना दिदीको विवाह भइसकेको छ।
***
घरको जेठो छोरा, त्यसमाथि पनि सीधा स्वभावका उनलाई आश्विन चौधरीले काठमाडौं ल्याउनुको कारण थियो– तत्कालीन नेपाल सरकारका सचिव अर्जुन कार्कीकोमा घरेलु कामदार राख्न।

‘अर्जुन सरले इमान्दार र घरको रेखदेख गर्न सक्ने एकजना मान्छे चाहियो भनेपछि मैले मेरो ठाउँको सबैभन्दा सोझोमध्येको विजय चौधरीलाई छानेको हुँ,’ आश्विन चौधरीले नेपालखबरसँग भने।

पूर्वसचिव कार्कीसँग आफ्नो झण्डै २० वर्षदेखि चिनजान रहेको रहेको उनले बताए। एक सिंचाई परियोजनाको प्रमुख भएर कार्की दाङ बसेका बेला सोही परियोजनाको सुपरभाइजरको जिम्मा आश्विनले पाएका थिए।

नेपाल विद्युत प्राधिकरणले कार्कीलाई काठमाडौं सरुवा गरेपछि आश्विनले पनि प्राधिकरणमै जागिर पाएका थिए। त्यसपछि कार्कीले आश्विनलाई कहिले काठमाडौं त कहिले दाङमै जागिर मिलाइदिएका थिए। त्यही बेलादेखिको सम्बन्धले अर्जुनले आश्विनसँग घरमा रेखदेख गर्नसक्ने मान्छे खोजिदिन भनेका थिए।

आश्विनले पढाइ छाडेर बसेका किशोर विजयलाई कार्कीको घरमा पुर्‍याइदिए।

कार्की परिवार बानेश्वरबाट ललितपुरको सानेपामा नयाँ घर बनाएर भर्खरै सरेको थियो। त्यही नयाँ घरमा रेखदेख र घरका अन्य काममा सघाउनका लागि खटिएका थिए विजय।

सुरुमा कार्कीले विजयलाई महिनाको ८–१० हजार तलब दिने र काम चित्त बुझे थप सहयोग गर्ने बताएका थिए।

‘काम राम्रो गरे पैसामा विचार गरुँला भनेका थिए’, आश्विन चौधरीले त्यसबेलाको कुरा सम्झिए।

‘अर्जुन सरको घरमा काम गर्न थालेपछि मेरो विजयसँग भेटघाट हुनै छोड्यो, म पनि प्राय दाङमै हुन्थें’, उनले भने, ‘जागिर नै दाङमै थियो, त्यही भएर विजयसँग भेट नै भएन।’

सरकारको सचिव पदबाट अवकाश पाएका कार्कीको घरमा विजय बसेको पाँच वर्ष पुगेको छ।

कार्की परिवारका मुना कार्की, उनका दुईवटी छोरी र छोराको उनले विश्वास जितेका थिए। पछिल्लो पटक घर जाँदा विजयले गाडी चालकको लाइसेन्स लिन नागरिकता बनाएका थिए।

तर, सोमबार विजयले ‘घरमालिक्नी मुना कार्कीको हत्यापछि आत्महत्या गरेर’ आफूलाई पनि सिध्याए। मंगलबार दिउँसोसम्मको अनुसन्धानका आधारमा विजयले नै मुनाको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको प्रहरीले बताएको छ।

विजयले नै मुनाको हत्या गरेको किटानी जाहेरी पनि महानगरीय प्रहरी परिसर जावलाखेलमा दर्ता भइसकेको प्रहरीले जनाएको छ। तर मुना कार्कीको हत्या विजय वा अरु कोबाट भएको हो भन्ने अन्तिम निष्कर्ष भने प्रहरीले अझै  सार्वजनिक गरेको छैन। अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

यो पनि
पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ?

कार्कीको घरमा रहेको सीसीटीभी फुटेजमा त्यसबेला अन्य व्यक्ति घरको कम्पाउण्डमा नदेखिएकाले पनि विजयले नै मुनाको हत्या गरेको प्रहरीको भनाइ छ। सीसीटीभीमा कैद दृष्यमा विजय मुना व्यस्त रहेको भान्सा कोठामा ओहोरदोहोर गरेको देखिएको अनुसन्धानरत एक प्रहरी अधिकृतले नेपालखबरलाई बताए।

छिमेकीसँग खासै घुलमिल नभएपनि विजयले कार्की दम्पत्ति र उनका सन्तानलाई गर्ने व्यवहार भने परिवारकै सदस्यको जस्तै रहेको पाइएको छिमेकीको भनाई उद्धृत गर्दै अनुसन्धानमा खटिएका अर्का एक प्रहरी अधिकृत बताउँछन्।

छोराले आत्महत्या गरेको हो कि होइन भन्ने बुझ्न काठमाडौं आएका जानकी चौधरीले बुधबार सम्बन्धित निकायमा पुगेर जानकारी लिने बताए।

सोझो र अन्र्तमुखी स्वभावका विजयले मुनाको हत्या गरेको पत्याउन जानकी तयार छैनन्।

‘म अहिले केही भन्न सक्तिनँ, बिरामी श्रीमतीलाई पनि केही नभनी काठमाडौं आएको छु’, उनले भने, ‘मलाई सबै सपनाजस्तो लागिरहेको छ।’

दाङस्थित विजयको घरमै पुगेर उनको पारिवारिक अवस्था समेत बुझेका पत्रकार दशरथ घिमिरे भन्छन्, ‘मुनाको हत्या गरेर विजयले आत्महत्या गरेको भन्ने खबर पत्याउन उनका छिमेकी पनि सकिरहेका छैनन्।’

सोझो र इमान्दार भनेर गाउँबाट झिकाइएका विजयको आफू काम गर्न बसेकै घरमा मुना कार्कीसँगै विभत्स अन्त्य भएको छ।

एक हप्ताअघि फोनमा ‘सरलाई तेल पठाइदिनु’ भनेर आग्रह गरेका विजयसँग बुबा जानकीले अब दोहोरो कुरा हुन गर्न पाउने छैनन्।

अहिले पाटन अस्पतालको शवगृहमा राखिएको विजयको अनुहार एकोहोरो हेर्नमात्र सक्नेछन् जानकीले।

यो पनिः
प्रहरी भन्छः धारिलो वस्तु प्रहार गरी मुना कार्कीको हत्या
सानेपा घटनाः पूर्वसचिव कार्की–पत्नी मुनाको पनि मृत्यु
सानेपा घटनाः पशुपति दर्शनबाट फर्किँदा विभत्स दृश्य देखेपछि भुइँमा लडे पूर्वसचिव कार्की
पूर्वसचिव अर्जुन कार्कीको घरमा कामदार मृत भेटिए, श्रीमती चिन्ताजनक अवस्थामा फेला

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .