ad ad

समाज


जुगलका अध्यक्ष भन्छन् : कोरोनाजस्तै लक्षणका बिरामीको संख्या २०१ पुग्यो

जुगलका अध्यक्ष भन्छन् : कोरोनाजस्तै लक्षणका बिरामीको संख्या २०१ पुग्यो

नेपालखबर
माघ २९, २०७६ बुधबार ५:०,

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने गुम्बा गाउँमा फैलिएको रुघाखोकी, ज्वरो आएर बिरामी हुनेको संख्या २ सय नाघेको छ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बुधबार बिहान दिएको जानकारीअनुसार गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा गाउँमा रुघाखोकी, ज्वरोले ग्रस्त हुनेको संख्या २ सय १ पुगेको हो।

लक्षण अहिले विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो देखिएपछि अहिले त्यस क्षेत्रमा त्रास फैलिएको छ।

‘बुधबार बिहानसम्म बिरामी दर्ता संख्या २ सय १ पुगेको छ,’ चिकित्सक टोली लिएर प्रभावित गाउँमा जाँदै गरेका अध्यक्ष श्रेष्ठले बुधबार बिहान नेपालखबरलाई टेलिफोनमा जानकारी दिए, ‘तीमध्ये २०/२५ जना उपचारपछि निको भएको पनि जानकारी आएको छ।’

कोरोना भाइरसकै संक्रमण भनेर ठोकुवा गरिहाल्ने स्थिति नभए पनि त्यसकै लक्षणसँग मिल्दोजुल्लो भएर व्यापक मात्रमा संक्रमण फैलिएको देख्दा भने शंका गर्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताए।

प्रभावित क्षेत्रमा उपचारका लागि गाउँपालिकामा उपलब्ध स्वास्थ्य टोली शुक्रबारदेखि नै खटिरहेको छ। अहिले बिहान छिमेकी जलबिरे गाउँपालिकाको स्वास्थ्य केन्द्रबाट २ चिकित्सकसहितको टोली प्रभावित स्थलमा जाँदै गरेको उनले बताए।

रुघाखोकी, ज्वरोका औषधिका साथै मास्कसमेत बोकिएको उनले जानकारी दिए।

‘प्रभावित क्षेत्र अलि विकटै छ,’ नेपालखबरसँग अध्यक्ष श्रेष्ठले भने, ‘कच्ची बाटो, अब आधा घण्टापछि पुगिएला।’

‘बिरामीमा रुघाखोकी लाग्ने, ज्वरो आउने, वाकवाकी लाग्ने लक्षण देखिएका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘डाक्टरले कोरोना भाइरस संक्रमण हुँदा पनि यस्तै लक्षण देखिन्छन् भनेकाले त्यही हो कि भन्ने बढी शंका भएको हो।’

यस्तै गुम्बामा कोरोना संक्रमणको त्रास फैलिएपछि सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले पनि सक्रियता देखाएको छ।

कात्तिके प्रहरी चौकीबाट असई सुरेन्द्र साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

याे पनि

सिन्धुपाल्चोकमा सयभन्दा बढीमा कोरोना संक्रमणकाे आशंका

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .