ad ad

समाज


सुदखोर यादवलाई १५ लाख धरौटीमै छाड्न न्यायाधीशले दिए आदेश, पीडितले जनाए आपत्ति

सुदखोर यादवलाई १५ लाख धरौटीमै छाड्न न्यायाधीशले दिए आदेश, पीडितले जनाए आपत्ति

नेपालखबर
माघ २९, २०७६ बुधबार ४:१३,

सर्लाहीका कुख्यात सुदखोर रामबाबु राय यादवलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत सर्लाहीले आदेश दिएको छ।

मंगलबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आरोपी यादवलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर यादव भने धरौटीबापतको रकम जम्मा नगरेपछि कारागार चलान भएका छन्।

मंगलबार साँझ नै यादवलाई सुनसरीको झुम्का कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए।

यादवको सम्पत्ति छनविन गर्न सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा परेको छ। मुद्दापछि अदालतले यादवको सम्पूर्ण सम्पत्ति रोक्का गरेको छ।

सम्पत्ति रोक्का भएका कारण धरौटीबापतको रकम बुझाउन नसकेको दाबी उनका भाइ लालबाबु राय यादवले गरेका छन्।

तर, सुदखोर यादवलाई १५ लाख धरौटीमा छाड्ने अदालतको निर्णयप्रति पीडितहरुले आपत्ति जनाएका छन्।

यादवविरुद्ध २८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन्। पीडितले दिएका २८ उजुरीको आधारमा प्रहरीले २० करोड ४४ लाख रुपैयाँ बिगो दाबीसहित यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ।

‘यति ठूलो बिगोसहितको मुद्दाका अभियुक्तलाई १५ लाख रुपैयाँ धरौटीमै छाड्ने न्यायाधीशको निर्णयविरुद्ध पीडितले न्यायपरिषद गुहार्ने तयारी गरेका छन्,’ पीडितको पक्षमा पैरबी गर्दै आएका नेकपा सर्लाहीका नेता कमल बुढाथोकीले भने, ‘यो निर्णयमा न्यायाधीशको बदनियत देखिएको पीडितको आशंका छ।’

यादवलाई प्रहरीले २३ पुसमा पक्राउ गरेको थियो। अर्का सुदखोर सञ्जय साह रौनियार भने अझै फरार छन्।

यादवलाई १५ लाख धरौटीमै छाड्ने निर्णय विरुद्ध सरकारी वकिलले पनि पुनारावेदन गर्ने तयारी गरेका बुढाथोकीले जानकारी दिए।

यादव र रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सर्लाहीसहितका जिल्लाका सयौँ सर्वसाधारणको उठिबास लगाइसकेका छन्। उनीहरुबाट सर्लाही, महोत्तरी, रौतहट लगायतका जिल्लाका झण्डै १३ सय सर्वसाधारण पीडित भएको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .