उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।
उनीहरुले सस्तो दरमा डलर मिलाई दिन्छौं भनि प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली नगद रूपैयाँ ठगी गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
सो कार्यमा संलग्न मुख्य योजनाकारको रुपमा रहेका सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–५ गाती घर भएका राम बहादुर तामाङ सहित ३ जना प्रहरी टोलिले फागुन १२ गते पक्राउ गरेको हो।
उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोकबाट ७१ रुपैयाँ अमेरीकी डलर ६०७ सहित पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
साथै डलर ठगी कार्यमा डलर मिलाई दिने ब्यक्ति (फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक) शंकर रेग्मीको साथ बाट ३ लाख ६ हजार ५०० र अमेरीकन डलर ५८३ लगायत अन्य विदेशी मुद्राहरू बरामद गरिएको प्रहरीको भनाई छ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर–४ बस्ने वर्ष ६० को रामबहादुर तामाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई हाल गोकर्णेश्वर–१ बस्ने वर्ष ५१ को बिबि तामाङ र रौतहटको चन्द्रपुर नगरपालिका–७ घर भई हाल गल्कुपाखा बस्ने वर्ष ३७ को (फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक) शंकर रेग्मी रहेका छन्।
निजहरु विगत १० वर्षदेखि डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ।।
यस्तै, ठगी गरको रकम विभिन्न सहकारीमा फिक्सड डिपोजिट गरी राख्ने गरको र केही रकम मिटरब्याजमा लगानी गर्ने गरको पाईएको छ।
निजहरु आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिहरूलाई प्रयोग गरी ठगी कार्य गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ।
निजहरुले ठमेलस्थित फरेन एक्सचेन्ज सेन्टर प्रालिबाट ठगीमा प्रयोग हुने डलर साट्ने गरेको र अमेरिकन डलरको आकारमा कागजहरु काट्ने गरेको पाइएको छ।
Shares
प्रतिक्रिया