ad ad

समाज


विद्यार्थीका सिर्जनाबाट मेयर बालेन्द्र प्रसन्न

विद्यार्थीका सिर्जनाबाट मेयर बालेन्द्र प्रसन्न

नेपालखबर
फागुन २०, २०८० आइतबार १०:८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले चलाएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रबाट नविनतम सिर्जना उत्पादन हुन थालेको भन्दै मेयर बालेन्द्र शाहले प्रसन्नता व्यक्त गरेका छन्।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ अभियान सुरु गरेको छ। यो कार्यक्रमबाट विभिन्न नयाँ सिर्जना उत्पादन हुन थालेको भन्दै मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत् केही सिर्जना पनि प्रस्तुत गरेका छन्।

महानगरपालिकाको वडा नम्बर ५ स्थित टंगाल माध्यमिक विद्यालयका ७ र ८ कक्षामा अध्ययनरत बालबालिकाले तयार पारेका केही प्रविधिको तस्बिर सेयर गर्दै मेयर शाहले विद्यार्थीको सिर्जनाप्रति खुसी व्यक्त गरेका छन्। 

‘वडा नं ५ को टंगाल माध्यमिक विद्यालयको कक्षा ७ र ८ मा अध्ययरत बालबालिकाहरुले रिमोटबाट सञ्चालन हुने सामान ओसार्ने हवइ जहाज, एअर एम्बुलेन्स, हाइड्रो (जल विद्युत) प्रणाली, क्युव स्याटसाइट, स्मार्ट ब्रिजजस्ता बिज्ञान र प्रविधिमा आधारित मोडल तयार पारेका छन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्।

सामाजिक क्षेत्रका क्रियाकलापहरुमा परम्परागत भेषभुषाका नमूना बनाउने, नेवार समुदायमा प्रसादका रुपमा ग्रहण गरिने समय बजी (माछा, अण्डा, बारा, राग, छोइला, छुस्यामुस्या, भुटी) बनाउने काम पनि विद्यार्थीले गरेका उनले बताएका छन्।

विद्यार्थीले व्यवहारिक सिपका क्षेत्रमा हाउस वायरिङ्ग गर्ने, खाना बनाउने (पाक शिक्षा) लगायतका सिप सिकेर विद्यालयमा प्रदर्शन गर्न थालेका छन्।

‘विद्यालयहरुमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु ‘बाबा’ र ‘स्टिम’ क्लवसहित विभिन्न सिप विकासका विधामा उपसमूहमा आवद्ध भएर शिक्षा आर्जन गरिरहेका छन्। पठन संस्कार, व्यक्तित्व विकास, योग, संगीत, नृत्य, नाट्य जस्ता विधामा प्रशिक्षित भइरहेका छन्,’ उनले भनेका छन्, ‘कागजमा कोरिने चित्रका रेखा र रङ्गसँग प्रकृति, वातावरण र मानव जीवनको सम्बन्ध व्याख्या गर्न थालेका छन्।’ 

गएको वर्षबाट थालिएको कार्यक्रममा विद्यार्थीको रुचि देखिएपछि चालु शैक्षिक सत्रमा निरन्तरता दिँदै लगानी बढाइएको पनि उनले बताए। महानगरपालिकाले कार्यक्रम हरेक शुक्रबार सञ्चालन गरिरहेको छ। 

‘कार्यक्रमको प्रभावकारिताका लागि शिक्षण पद्धति सिर्जनशील, व्यवहारिक, प्रयोगात्मक र वास्तविक बनाउन शिक्षक शिक्षण तालिम प्रदान गर्न थालेका छौँ। शिक्षकको ज्ञान विद्यार्थीमा सजिलै हस्तान्तरण गर्ने विधि र विद्यार्थीले सिकेको ज्ञान तथा सिपलाई व्यवहारमा प्रयोग गर्दै दिगो स्मरण तथा उपयोगमा ल्याउने कुरा हाम्रा कार्यक्रमका मूल्यांकन सूचक हुन्,’ उनले भनेका छन्। 

महानगरपालिकाले विद्यार्थीहरुको व्यवहारिक, सामाजिक र आचरणयुक्त सिप, प्रविधिमैत्री र नवप्रवर्तनमा आधारित शिक्षा नीति लिएको बताउँदै मेयर शाहले यसबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीमा विद्यालय उमेरभित्रै आफूभित्र भएको क्षमता र भविष्यको बाटो पहिचान गर्न सकिने समेत उल्लेख गरेका छन्।

‘यसका लागि शिक्षण सिकाइमा मात्र होइन, विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने, प्रयोगशाला (कम्प्युटर, विज्ञान) लाई विद्यार्थीहरुको स्वध्ययन स्थल बनाउने, पुस्तकालय (भौतिक र इन्टरनेटमा आधारित)लाई ज्ञान विज्ञानसँग जोडने काम गरिरहेका छौँ,’ मेयर शाहले भनेका छन्, ‘यसले विद्यार्थीको बुझाइ क्षमता र बौद्धिक स्तरमा वृद्धि गराउनेछ। उनीहरुको विकास, पेशा र जीवन निर्वाहको बाटो निर्देश हुनेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .