अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको हो।
अख्तियारले साहसहित २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोग लगाएको छ।
यस प्रकरणमा डिभिजन वन कार्यालय जलेश्वरका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुरविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ। उनीविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दाबी गरिएको छ।
रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ।
उता बर्दिबास नगरपालिका-१ बस्ने जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोसी-४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध पनि अख्तियारले ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दाबी गरेको छ।
त्यस्तै सव-डिभिजन वन कार्यालय बर्दिबासका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेस्टर सन्तोषकुमार साह, वनरक्षकहरू राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलीप महतोविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ।
नापी कार्यालय, बर्दिबासका तत्कालीन अमिन राम दरश राउत, मालपोत कार्यालय बर्दिबासका तत्कालीन नायव सुब्बा ओमप्रकाश खड्का र बर्दिबास-१ का तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठ, बर्दिबास नगरपालिका-१ का तत्कालीन वडाध्यक्ष चूडामणि पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरुद्धसमेत अख्तियारले मुद्दा चलाएको छ।
Shares
प्रतिक्रिया