ad ad

समाज


आफ्नै मालिक्नीको हत्या गर्ने अवस्थामा विजय किन पुग्यो भनेर खोज्दैछौं : प्रहरी

आफ्नै मालिक्नीको हत्या गर्ने अवस्थामा विजय किन पुग्यो भनेर खोज्दैछौं : प्रहरी

सागर न्यौपाने
फागुन २, २०७६ शुक्रबार १४:५१,

ललितपुर सानेपामा मुना कार्कीको हत्या र विजय चौधरीको आत्महत्या घटनाको गुत्थी सल्ट्याउन प्रहरीलाई मुस्किल परेको छ। दुवै जनाको पोस्टमार्टम रिपोर्ट प्रहरीको हातमा पुगिसकेको छ। तर, घटना अझै रहस्यमै छ।

घरेलु कामदार विजयले नै पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको निष्कर्ष प्रहरीले सार्वजनिक गरिसकेको छ। तर, विजयले के कारणले हत्या र आत्महत्या गरे, अर्थात् यो अपराध गर्नुको पछाडि उनको मनसाय के थियो भन्ने चाहिँ प्रहरीले टुंगो लगाउन सकेको छैन। हाल प्रहरी अधिकारीहरुले यसैतर्फ अनुसन्धान केन्द्रित गरेका छन्।

के छ पोस्टमार्टम रिपोर्टमा?
मुना कार्की र विजय चौधरीको शव पोस्टमार्टम गरेको पाटन अस्पतालले शुक्रबार प्रहरीलाई रिपोर्ट बुझाएको छ। रिपोर्टमा मुनाको आँखा र टाउकोमा चोट छ भने नाडीमा हात बाँधेको डोब पनि देखिएको छ।

रिपोर्टमा उनको मृत्यु भने ‘घाँटी थिचेका कारण’ उल्लेख गरिएको महानगरीय प्रहरी परिसर जावालाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

विजयको भने ‘झुण्डिएका कारण’ मृत्यु भएको रिपोर्टमा उल्लेख छ।

‘अहिलेसम्म हामीलाई प्राप्त तथ्य प्रमाण र पोस्टमार्टम रिपोर्टका आधारमा म्याडम कार्कीको हत्या कामदार विजय चौधरीले नै गरेको हो भन्ने हाम्रो निश्कर्ष छ’, एसएसपी राईले शुक्रबार नेपालखबरसँग भने, ‘भुइँमा लडाएर घाँटी थिचेर मारेको देखियो।’

सोमबार बिहान अर्जुन कार्की पशुपति गएका बेला बिहान ९ देखि साढे ११ बजेबीच सो घटना भएको उनले बताए।

प्रहरीले कार्कीको घरमा कुनै न कुनै रुपमा जोडिएकाहरुसँग पनि अनुसन्धान जारी राखेको छ।

अर्जुन कार्कीका गाडी चालक नुवाकोटका दीपेन्द्र डंगोल, उनको घरमा काम गर्ने महिला मीना कोइराला र घटना घटेको दिन सोमबार कार्की निवासमा गएका प्लम्बर रमेश कार्कीसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ।

‘यी सबैका अतिरिक्त हामीले विजयका बुबा जानकी चौधरीसँग पनि अन्तर्वार्ता लियौँ,’ एसएसपी राईले भने,  ‘मुनाको हत्या विजयले नै गरेको हो भन्नेमा अब कुनै शंका छैन।’ 

bijay15

‘विजयमा त्यस्तो अस्वभाविक केही थिएन’
घटना घटेकै दिन पनि प्रहरीले कार्कीका छिमेकीहरुसँग घटनाबारे कुराकानी गरेको थियो। विजयले आउजाउ गर्ने ठाउँ, उसले सामान ल्याउने गरेको पसललगायतका स्थानमा पुगेर पनि प्रहरीले अध्ययन गरिरहेको छ।

सोमबार बिहान पानी तान्ने मेसिन बिग्रिएपछि प्लम्बर रमेश कार्कीलाई मुनाले फोन गरेर बोलाएकी थिइन्। रमेशले बिहान ८ बजे नै त्यहाँ पुगेर मेसिन मर्मत गरेको प्रहरीसँग बताएका छन्।

‘मुना मेडमले राम्रैसँग कुरा गर्नुभएको थियो, विजय भाइले पनि अह्राएको काम गरेका थिए’, रमेशको बयान उधृत गर्दै एसएसपी राईले बताए।

सानेपा बस्ने अर्जुन कार्कीका ड्राइभर दीपेन्द्र डंगोलसँग पनि प्रहरीले मुनाको आनाबानीदेखि कामदार विजयको स्वभावबारेमा कुरा गरेको थियो। दीपेन्द्रले त्यो दिन बिहान सबैथोक सामान्य देखेको बयान दिएका छन्।

‘७ बजे कार्कीका छोरालाई खुमलटारमा रहेको स्कुल पु¥याएर ड्राइभर रमेशले गाडी कार्की निवासमै छोडेर निस्केका रहेछन्,’ राईले भने।

वरिपरिका छिमेकी र काम गर्ने कामदार मीना कोइरालाले पनि विजयबारे कुनै नकारात्मक कुरा नसुनाएको ललितपुर प्रहरी प्रमुख राई बताउँछन्।

Janki13
विजयका बाबु जानकी भन्छन्ः कसरी र किन यस्तो घटना भयो होला, अचम्ममा छु

किन गरे त विजयले हत्यापछि आत्महत्या?
प्रहरी सजिलै भन्छ– विजयले मुनाको हत्या र आफूले आत्महत्या गरे। तर, यस्तो जघन्य अपराधको कारणबारे चाहीँ प्रहरी केही बताउन सक्दैन।

अहिलेसम्म प्राप्त प्रमाण हेर्दा विजय यस्तो अपराध गर्ने मनस्थितिमा किन पुगे, भन्न नसकिने एसएसपी राईले बताए।

‘हामीले प्रमाणका आधारमा मात्रै बोल्नुपर्छ,’ एसएसपी राई भन्छन्, ‘घरमा जोडिएको सीसीटिभी फुटेजलाई पनि विभिन्न किसिमले हेर्नुपर्ने हुन्छ।’

‘घरभित्र र बाहिर सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा कहीँ न कहीँ उनीहरुबीच द्वन्द्व भएको हुनसक्छ,’ एसएसपी राईले भने, ‘७ वर्ष घरमा परिवारको सदस्यजस्तै भएर बसेको, त्यहीँ रमाएको कामदार आफ्नै मालिक्नीको हत्या गर्ने अवस्थामा त्यसै पुग्न सक्दैन, हाम्रो खोजी यही विषयमा केन्द्रित छ।’

विजयले कार्की परिवारमा आफू खुसी रहेको सन्देश घरमा पठाएको देखिएको पनि एसएसपी राईले बताए।

उनले भने, ‘कार्की घरपरिवारप्रति उसको आस्था देखिन्छ तर त्यही परिवारको आमाजस्तै मानेको व्यक्तिको हत्याको कारण खोजीका लागि प्रविधिको प्रयोग गरिरहेका छौँ।’

त्यसैले मुना र विजयले प्रयोग गरिरहेको मोबाइल अहिले फरेन्सिक ल्याबमा परीक्षणको क्रममा छ। त्यसैबाट हत्याको रहस्य पत्ता लगाउने प्रयासमा प्रहरी छ।

‘कसैकसैमा गेम खेलिरहँदा पनि आपराधिक मनोविज्ञान विकास हुन सक्छ,’ उनले भने, ‘हामी प्रविधिबाट हुनेखालका यस्तै विषयलाई पनि सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं।’

मोबाइलमा रहेका र डिलिट भएका सबै सामग्री रिकभर गरी डाटा उतार्न समय लाग्ने देखिन्छ।

एसएसपी राईका अनुसार फरेन्सिक ल्याबमा जाँच गरेपछि प्रहरीले एक हप्तामा अनुसन्धान टुंग्याउन सक्छ। उनको भनाइलाई आधार मान्दा एक सातापछि मात्रै प्रहरीले सानेपा हत्याको निश्कर्ष सार्वजनिक गर्न सक्नेछ।

Bijay
विजयले सुसाइड नोट किन लेखेनन् भन्नेबारे पनि हामी अध्ययन गरिरहेका छौँ : एसएसपी राई

‘सुसाइड नोट’ नहुँदा अनुसन्धानमा सकस
अनुसन्धान गर्ने प्रहरीका लागि सधैँ ‘क्लु’ बन्ने गरेको सुसाइड नोट भने विजयले छाडेनन्। उनले त्यो किन छाडेनन् भन्ने प्रश्न पनि प्रहरीका लागि अर्को रहस्य बनेको छ।

‘घटनाको रहस्य खोतल्दै जाने क्रममा विजयले सुसाइड नोट किन लेखेनन् भन्नेबारे पनि हामी अध्ययन गरिरहेका छौँ,’ एसएसपी राईले भने।

विजयको शव परिवारले दाङमै लगेर अन्तिम संस्कार गरिसकेको छ भने मुनाको पनि काठमाडौंमा अन्तिम संस्कार भइसकेको छ।

प्रहरीका लागि जुनसुकै आपराधिक घटनामा पनि तीन वटा पक्ष महत्वपूर्ण हुन्छन्– घटनास्थल, पीडित र पीडक। सानेपा हत्याकाण्डमा भने यी सबै प्राप्त गरेर जघन्य अपराध पुष्टि भइसक्दा पनि प्रहरीले घटनाको रहस्य सल्ट्याउन सकिरहेको छैन।

आखिर यस्तै रहस्यमय घटनाहरुबाटै हो, प्रहरी अधिकारी र संगठनको दक्षता र योग्यताको मापन हुने। तसर्थ, सानेपा घटना प्रहरीकै लागि पनि परीक्षा बनेको छ। 

यो पनि
सीसीटीभी फुटेज हेरेपछि बोल्नै सकेनन् विजयका बाबु
छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु
पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .