‘हिन्दु धर्मगुरु’का रूपमा परिचित भागवत कथावाचक आचार्य श्री शीतलकृष्णजी महाराजले श्रीमती स्वीकृति पौडेलसँगको विवादबारे मुख खोलेका छन्।
शुक्रबार भिडिओ सन्देश जारी गर्दै शीतलकृष्णले जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने बाध्यता आइलागेकाले आफूले मातापिता रोजेको बताएका छन्।
‘जीवनमा यस्तो मोड आयो– मातापिता र श्रीमतीमा एउटा रोज्नुपर्यो। संसारलाई मातापिताको सेवाको उपदेश दिने मैले मातापिताको सेवा रोजेँ, मबाट यही भूल भयो सायद’, शीतलकृष्णले भिडिओमा भनेका छन्, ‘मैले आफ्नो गृहस्थी चलाउन सकिनँ, त्यसका लागि म क्षमा चाहन्छु।’
श्रीमती र आफ्नो आचरण र विचार नमिलेको उल्लेख गर्दै श्रीमतीकै हितका लागि आफूले जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दिएको दाबी उनले गरेका छन्।
उनले भनेका छन्, ‘गएको साउन महिनामा लगभग ९ महिनापूर्व, मेरो र श्रीमतीज्यूको आचरण र विचार नमिलेपछि उहाँकै हितका लागि सम्मानित अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको थिएँ।’
अब आफू अदालतको फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले त्यसअघि यस विषयमा थप टिकाटिप्पणी आफूले पनि नगर्ने र अरूलाई नगर्न अनुरोध गरेका छन्।
‘सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि सम्मानित अदालतको अन्तिम अन्तिम फैसलाको, अन्तिम निर्णयको प्रतीक्षामा रहेकोले यसप्रति मेरो अन्य टिकाटिप्पणी केही पनि छैन’, शीतलकृष्णले भिडिओमा भनेका छन्, ‘यहाँहरूलाई पनि यस विषयमा सम्मानित अदालतको निर्णय नआउन्जेलसम्म म थप टिकाटिप्पणी, चर्चा, परिचर्चा नगरिदिनहुन हार्दिक निवेदन गर्दछु। साथै भक्त सज्जनहरूलाई प्रतीक्षा गर्न, धैर्य गर्न पनि निवेदन गर्न चाहन्छु।’
यस क्रममा उनले श्रीमती स्वकृति पौडेलले पत्रकार सम्मेलन गरेर लगाएका सबै आरोप निराधार र असत्य भएको दाबी पनि गरेका छन्।
यस्तो छ शीतलकृष्णको पूरा भनाइ
यतिबेला सामाजिक सञ्जालमा मप्रति उठाइएका विभिन्न प्रश्नहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। गएको साउन महिनामा लगभग ९ महिनापूर्व, मेरो र श्रीमतीज्यूको आचरण र विचार नमिलेपछि उहाँकै हितका लागि सम्मानित अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको थिएँ। जीवनमा यस्तो मोड आयो– मातापिता र श्रीमतीमा एउटा रोज्नुपर्यो। संसारलाई मातापिताको सेवाको उपदेश दिने मैले मातापिताको सेवा रोजेँ, मबाट यही भूल भयो सायद। मैले आफ्नो गृहस्थी चलाउन सकिनँ, त्यसका लागि म क्षमा चाहन्छु। अन्यथा अस्ति रिस र आवेगमा आएर पत्रकार सम्मेलन गरेर श्रीमतीज्यूले जुन जुन आरोप मप्रति लगाउनुभएको छ, ती सबै निराधार र सत्य नभएको म यहाँहरू सबैलाई जानकारी गराउँदै सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि सम्मानित अदालतको अन्तिम अन्तिम फैसलाको, अन्तिम निर्णयको प्रतीक्षामा रहेकोले यसप्रति मेरो अन्य टिकाटिप्पणी केही पनि छैन। यहाँहरूलाई पनि यस विषयमा सम्मानित अदालतको निर्णय नआउन्जेलसम्म म थप टिकाटिप्पणी, चर्चा, परिचर्चा नगरिदिनहुन हार्दिक निवेदन गर्दछु। साथै भक्त सज्जनहरूलाई प्रतीक्षा गर्न, धैर्य गर्न पनि निवेदन गर्न चाहन्छु।
सुन्नुहोस् शीतलकृष्णको भिडिओ सन्देश-
शीतलकृष्ण महाराजको बयान : मातापिता र श्रीमतीमा मातापिता रोजेँ, मबाट भूल भयो pic.twitter.com/0rFQNVM8za
— Nepalkhabar (@nepalkhabar) March 22, 2024
Shares
प्रतिक्रिया