विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका वाणिज्यदूतहरूले शुक्रबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्व शान्तिको आह्वान गरेका छन्।
परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्य दूतहरूको संस्था अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) ले संयुक्तरूपमा आयोजना गरेको लुम्बिनी कन्क्लेभमा उनीहरूले शान्तिबिना समृद्धि सम्भव नहुने भन्दै सबै देशलाई शान्तिका लागि आग्रह गरेका हुन्।
विभिन्न देशबाट नेपाल आएका राजदूतहरूले लुम्बिनी परिसरमा विश्व शान्तिका लागि प्रार्थनासमेत गरेका थिए।
कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विकासलाई अगाडि बढाउन शान्ति आवश्यक रहेको र लुम्बिनीले विश्वमा शान्तिको सन्देश दिने बताए। सम्मेलनको सन्देश पढ्दै विश्वमा शान्ति स्थापना र द्वन्द्व समाधानमा भएका प्रयासलाई दुगुना पार्नुपर्ने उनको भनाइ थियो।
उनले वर्तमान समयमा बुद्धका सन्देशको महत्त्व झन् बढेको बताउँदै उनले भने, ‘भगवान बुद्धको उपदेश बुद्ध धर्म मान्नेहरूका लागि मात्र होइन, सबै धर्म मान्नेका लागि उत्तिकै उपयोगी छ।’
‘नेपालमा व्यापार व्यवसाय गर्ने धेरै क्षेत्रहरू छन्। यस्तो गर्न कुनै कानुन वा नीतिले अवरोध गरेको छ भने त्यसलाई पुनरवलोकन गर्न नेपाल सरकार तयार छ। लगानीलाई प्रोत्साहन गर्न र आर्थिक विकासलाई गति दिन सरकारले लगानीकर्ताको सल्लाहसुझावलाई गम्भीर रूपमा लिइरहेको छ,’
उनले सरकार परिवर्तन हुनु भनेको नीति परिवर्तन हुनु नभएको पनि स्पष्ट पारे।
‘म सबै राजदूत र कूटनीतिज्ञहरूलाई आआफ्नो देशमा नेपाल लगानीको राम्रो गन्तव्य भएको सन्देश फैलाउन आग्रह गर्दछु,’ श्रेष्ठले भने।
लुम्बिनी कन्क्लेभमा चर्चित कलाकार उजय बज्राचार्यको कला प्रदर्शनी र अन्य आर्थिक विषयवस्तुमा विचार गोष्ठी पनि भएको थियो।
सम्मेलनको दोस्रो दिनको पहिलो सत्रमा लगानी बोर्डका उपसचिव रमेश अधिकारीले नेपालमा रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा प्रकाश पारेका थिए।
साथै, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले पर्यटनको सम्भावना र लुम्बिनीको पर्यटकीय महत्त्वको बारेमा प्रस्तुति दिएका थिए।
एचसीसीएनका डिन विष्णुकुमार अग्रवालले कन्क्लेभले समृद्धिका लागि शान्तिको आवश्यकतामा सम्मेलनले जोड दिएको बताए।
‘विश्वका कैयन राष्ट्रका राजदूतको यो उपस्थितिले बुद्ध जन्मभूमिलाई सम्मान मात्र गरेको छैन, अझ बढी शान्तिपूर्ण र समृद्ध विश्व बनाउनका लागि जग पनि बसालेको छ’, डिन अग्रवालले भने।
उनले एचसीसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रूपमा काम गर्नुका साथै प्रविधि स्थानान्तरण र व्यापार व्यवसाय विस्तार गर्न भूमिका निर्वाह गर्दै आएको जानकारी पनि दिए।
सम्मेलनको समापन सत्रमा पर्यटन, सस्कृति तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भैरहेको खुलाए। उनले लुम्बिनीको बौद्ध परम्परा र संस्कृति जगेर्ना सरकार कटिबद्ध रहेको बताउँदै गुरुयोजनामार्फत लुम्बिनी विकासको अभियानलाई अगाडि बढाइएको जानकारी पनि दिए।
Shares
प्रतिक्रिया