प्रहरी महानिरीक्षक वसन्त कुँवरले नेपाली कांग्रेसका सांसद एवम् अर्बपति विनोद चौधरीको बयान र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ प्रकरणबारे संसदीय समितिमा जवाफ दिएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले दुवैविरुद्ध गम्भीर प्रकृतिको मुद्दा रहेको पनि उल्लेख गरे।
उनले विनोद चौधरी कांग्रेसका सांसदसमेत भएकाले उनी अनुसन्धानमा तानिँदा संसदे सचिवालयलाई जानकारी दिइएको बताएका छन्।
‘माननीय विनोद चौधरी अहिले सांसद हो। उहाँविरुद्ध जालसाजी किर्ते र ठगीको मुद्दा थियो। त्यहीअनुसार हामीले बयान लिएका थियौँ’, उनले भने, ‘उहाँको पासपोर्ट सिजको कुरा थिएन। बयानमा उपस्थित गराउने भएपछि प्रतिनिधि सभालाई जानकारी गराएकै हो।’
उनले सरकारी वकिलकै कार्यालयमा बयान गराउँदा एक दिनमा मात्र हुने भएकाले पक्राउ पुर्जी जारी नभएको बताए।
‘पक्राउ गर्दा पनि जानकारी गराउने मात्रै हो’, उनले भने, ‘उहाँ सांसदसमेत भएकाले हामीले जानकारी गराएका हौँ।’
आईजीपी कुँवरले माओवादी उपाध्यक्ष महराको हकमा उनी भाग्ने आशंका भएपछि पक्राउ गरिएको बताएका छन्।
‘कृष्णबहादुर महराको केसमा हामीलाई सहयोग नगर्ने हो कि भन्ने आभास भएका कारण पक्राउ गरेर ल्याएका हौँ’, उनले भने, ‘मैले अरु शब्द भनिनँ। पीएअसओ र गाडी छाडेर हिँडेको थाहा भएपछि उहाँलाई पक्राउ गरेर ल्याएका हौँ।’
उनले कसैको दबाब र प्रभावले नछाडिएको बताए। ‘उहाँलाई कुनै दबाब प्रभाबका आधारमा छाडिएको होइन’, उनले भने, ‘सम्मानित अदालतको आदेशका आधारमा उहाँको स्वास्थ्य अवस्था हेरेर हाजिरी जमानीमा छाडिएको हो।’
Shares
प्रतिक्रिया