घर परिवारले ९ वर्षअघि ईश्वरीको धुमधामसँग विवाह गरिदिए। त्यो पनि उनले छानेकै केटा सोनम थापा मगरसँग। सोनम होटलमा काम गर्थे। ईश्वरी भक्तपुरकै एउटा उद्योगमा काम गर्थिन्।
सिन्धुपाल्चोककी ६० वर्षीया सावित्री भट्टराई एक महिनादेखि चाँगुनारायण, भक्तपुरस्थित छोरी ईश्वरीको घरमा बस्दै आएकी थिइन्। छोरी ज्वाइँलाई सघाउ होइन। उनी बस्नुको कारण अर्कै थियो।
ईश्वरीको घरजम नब्रिगियोस् भनेर।
केही समयअघि भक्तपुर आएकी आमाले उनलाई काममा जान समेत रोकिन्। आमाको जोडबलपछि उनी बाहिर जान समेत कम गर्न थालेकी थिइन्।
यी सबै घटनाक्रमका पछाडि एउटै ब्यक्ति थिए–मोहम्मद नौशाद।
छोरी ईश्वरीको नौसादसँगको अवैध सम्बन्धबारे जानकार सावित्री छोरी–ज्वाइँको घरमा बस्नुको प्रमुख कारण पनि सिराहा जिल्ला स्थायी ठेगाना भएका उनै नौशाद थिए।
२०७६ जेठ ९ मा नौशाद कामका लागि दुबई उडे। उनलाई विदेश पठाउने पैसा १ लाख रुपैयाँ सावित्रीले नै जुटाइदिएकी थिइन्। विदेश गएपछि छोरीको घरबार जोगिने विश्वास उनको थियो। तर परिणाम उनले सोचेजस्तो आएन। घटनाक्रमले अर्कै रुप लियो।
सावित्रीलाई एउटा कुराको सधैँ त्रास थियो। छोरीसँगका अन्तरंग तस्विरहरु ज्वाइँलाई पठाइदिए घरबार बिग्रिन्छ भन्ने लागिरहन्थ्यो। जुन कुराको डर थियो त्यही भयो।
दुबई पुगेको केही दिनमै नौशादले आफू र ईश्वरीबीच भएका अन्तरंग सम्बन्धका तस्बिर सोनमलाई पठाइदिए। नौशाद बाहिर भएकाले जे भयो भइगयो अब यस्तो गल्ती दोहोरिँदैन भनेर आमाले कुरा मिलाइन्। सोनमले पनि चित्त बुझाए।
२०७६ असार १० मा घटनाले फेरि अर्को ट्विस्ट ग¥यो। एक महिना नपुग्दै असार नौशाद काठमाडौं फर्किए। यो कुरा छोरीमार्फत् सावित्रीले थाहा पाइन्। विवाद झनै बढ्ने खतरा देखियो। स्थिति भयावह हुनसक्ने आँकलन गरेकी सावित्री सिन्धुपाल्चोकबाट भक्तपुर आएर यतै बस्न थालिन्।
सावित्री अरु धेरै आमाहरुजस्तै छोराछोरीका लागि सहयोगी थिइन्। उनीहरुको खुशीमा हाँस्थिन्, दुःखमा साथ दिन्थिन्। आफूभन्दा टाढा भए पनि उनीहरुले खाए, नखाएको सबै ख्याल राख्थिन्। आफ्नो बल, बुद्धि लगाएर राम्रो बाटोतर्फ लाग्न प्रेरित गर्थिन्।
केही दिन अघि मात्र अर्की छोरीले जग्गा किन्न भनेर सावित्रालाई २२ लाख रुपैयाँ राख्न दिएकी थिइन्। उनले जतन साथ छोरीको पैसा राखेकी थिइन्।
काठमाडौं फर्किएका नौशाद छोरीकै लागि आएको सावित्रीले अनुमान गरिसकेकी थिइन्। त्यही भएर उनले छोरीलाई सम्झाइरहेकी थिइन्। २०७६ असार १५ गते आइतबार बिहान ईश्वरी ३ वर्षे नातीलाई स्कुल पु¥याउन गएकी थिइन्। कोठामा सावित्री एक्लै थिइन्। त्यही बेला नौशाद टुप्लुक्क आइपुगे। उनले नौशादलाई सम्झाइन्। गाली पनि गरिन्। त्यसपछि उनी त्यहाँबाट निस्किए।
तर विषय त्यतिमै टुंगिएन। दिउँसो उनी त्यहीँ फर्किए। यो पटक उनको साथमा अन्य दुई जना सहयोगी पनि थिए, भोलाकुमार र रईस।
‘प्रत्यक्षदर्शीले घटनाका दिन नौशाद र अन्य दुई व्यक्ति घरमा पसेको देखेका थिए,’ महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘घटना विश्लेषणले छोरीको सहयोग र योजनामा हत्या भएको देखाउँछ।’
२२ लाख रुपैयाँ गायब
महानगरीय प्रहरी परिसर भक्तपुरको टोली घटनास्थलमा पुग्दा घाँटी रेटिएको अवस्थामा आइतबार अपरान्ह सावित्रीको शव फेला परेको थियो। सावित्री सुत्ने कोठाको दराजमा रहेको डेढ लाख रुपैयाँ सुरक्षित थियो। त्यहाँ राखिएको भनिएको २२ लाख रुपैयाँ थिएन।
भक्तपुर प्रहरी र अपराध महाशाखाको टोली घटनास्थल पुगेर तत्काल अनुसन्धान थाल्यो। सावित्रीको मोबाईलमा अन्तिम पटक नौशादसँग सम्पर्क भएको थियो। प्रहरीले त्यही नम्बर पच्छयाउँदै अनुसन्धान ग¥यो। महाशाखाको टोलीले आईतबार नै धादिङबाट नौशादलाई नियन्त्रणमा लियो।
‘नौशादको बयानले अन्य दुई जनाको संलग्नता खुलेको छ,’ एसएसपी थापाले नेपालखबरसँग भने, ‘अन्य दुईलाई सोमबार बिहान पक्राउ गरेका हौं।’
रामपुरी चक्कुले हत्या
महाशाखाकाअनुसार नौशादसहित भारतीय नागरिक अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद रईश घटनामा प्रत्यक्ष संलग्न हुन्। उनीहरुले भारतको मधुवनीबाट सात सय भारतीय रुपैयाँमा खरिद गरेको रामपुरी चक्कुले सावित्रीको घाटी रेटेर हत्या गरेका हुन्।
असार १० मा दुबईबाट काठमाडौं फर्किएका नौशाद दुई दिन काठमाडौं बसेर १२ असारमा सिरहा गएका थिए। त्यहाँ जानु अघि उनले पेस्तोल खरिदका लागि भोला कुमार र रईशसँग सम्पर्क गरेका थिए।
१० हजार भारतीय रुपैयाँमा पेस्तोल किनबेचको सहमति भएको थियो। हतियार लिन पुगेका नौशाद र रईश गोली नभेटेपछि मधुवनीबाट रामपुरी चक्कु किनेर फर्किएको प्रहरी बयानबाट खुलेको छ।
नौशाद, भोलाकुमार र रईश १४ असारमा काठमाडौं छिरेका थिए। त्यो दिन ईश्वरीले नै नौशादलाई उपलब्ध गराएको सिमबाट कुराकानी भएको थियो। प्रहरी अनुसन्धानले भारतबाट भाडाका पेशेवर व्यक्ति ल्याएर हत्या गराएको पनि खुलेको छ।
‘छोरीकै योजनाअनुसार हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ एसएसपी थापाले भने ‘१२ लाखमा हत्या र घाँटी रेटेको दुई लाख रुपैयाँ थप दिने सहमती भएको खुलेको छ।’
प्रहरीले नौशादलाई नियन्त्रणमा लिएपछि हेटौंडा पुगेका भोलाकुमार र रईशलाई पैसा लिएर आउँदै गरेको भन्न लगाएर रोकेका थिए। उनीहरु दुबै हेटौडा बसपार्कबाट पक्राउ परेका हुन्।
प्रतिक्रिया