यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
मौसमविद्का अनुसार साधारणतया बदली भनेको सम्बन्धित क्षेत्रको आकाश ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म बादलले ढाकेको र बाँकी भाग खाली रहेको अवस्था हो। यसैगरी आंशिक बदली भनेको सम्बन्धित स्थानको आकाश २६ प्रतिशतदेखि ५१ प्रतिशतसम्म बादलले ढाकेको र बाँकी भाग सफा रहेको अवस्था हो भने मुख्यतया सफा भनेको सम्बन्धित क्षेत्रको आकाशको २५ प्रतिशतजति मात्र भागमा बादल लागेको र बाँकी सफा रहेको अवस्था हो।
मौसम महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा दिउँसो कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा वर्षासहित हिमपात हुने सम्भावना पनि छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहनुको साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान हावाहुरीको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया