आज (सोमबार) राति पनि देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (आकाश सफा) रहने छ।
यस क्रममा राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
साथै राति ‘मधेस प्रदेशलगायत कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको’ पनि महाशाखाले जानकारी दिएको छ।
मौसम महाशाखाले आगामी २४ घण्टा (मंगलबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोसी र बागमती प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। मधेस प्रदेश र लुम्बिनि प्रदेशका केही स्थानमा साथै कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया