सर्वोच्च अदालतमा सिधाकुरा डट कम अनलाइन र युट्युब च्यानलको टिमसँग बयानको क्रम आज (शुक्रबार) पनि जारी रहने भएको छ।
अदालतको अवहेलना मुद्दामा सिधाकुराको टिमसँग सर्वोच्चले बिहीबारदेखि बयान लिइरहेको हो।
बिहीबार न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा बयान दिन सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना सर्वाेच्च पुगेका थिए।
तर बिहीबार कँडेलको मात्र बयान सकिएकाले ढुंगानाको बयान आज हुने सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।
कँडेलले बयानका क्रममा विवादित अडिओको स्रोत ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनाले उपलब्ध गराएको बयान दिएपछि सर्वोच्चले तिमिल्सिनालाई समेत झिकाएको छ।
उनलाई प्रहरीको सहयोगमा वैशाख २३ गते इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेशमा उल्लेख छ।
सबै जनाको बयान सकिएपछि इजलासमा बहस हुने र मुद्दाले कुन रूप लिन्छ, त्यसपछि मात्र थाहा हुने प्रवक्ता उप्रेतीको भनाइ छ।
‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमसँग बयान लिइरहेको हो।
यसअघि सर्वोच्चले सिधाकुराका विवादित सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो। सिधाकुराले भने त्यसअघि नै युट्युबबाट सामग्री हटाइसकेको थियो।
पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संस्थाहरूले भने सर्वोच्चको उक्त आदेश संविधानविपरीत भएको भन्दै विरोध गरेका छन्।
Shares
प्रतिक्रिया