भक्तपुरको सूर्यविनायकमा बोलेरोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका-९, मिलनचोकमा साँगाबाट जगातीतर्फ आँउदै गरेको ना ५ ख २३६१ नम्बरको बोलेरोले मंगलबार बेलुका ठक्कर दिँदा ३८ वर्षका युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ।
परिसरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका-२ घर भई हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका-९, नलिन्चोक बस्ने ३८ वर्षका कमल बयलकोटी छन्।
तीव्र गतिको बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई सुरुमा भक्तपुरमै रहेको डा. इवामुरा अस्पताल लगिएको थियो।
त्यहाँबाट थप उपचारको लागि राति नै ललितपुरको सुमेरु अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ। उपचारका क्रममा गएराति नै उनको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए।
बयलकोटीलाई ठक्कर दिने बोलेरो गाडी र त्यसका चालक सर्लाहीको लालबन्दी नगरपालिका-१६ घर भएका २३ वर्षीय सागर माझीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।
Shares
प्रतिक्रिया