ad ad

समाज


विजयले मुनाको हत्या गर्नुपर्ने कारण भेटिएन : फरेन्सिक रिपोर्ट

विजयले मुनाको हत्या गर्नुपर्ने कारण भेटिएन : फरेन्सिक रिपोर्ट

सागर न्यौपाने
फागुन ९, २०७६ शुक्रबार १५:६,

ललितपुर सनेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ।

सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको हत्यापछि आत्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बतायो।

मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको थियो।

त्यसको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रिपोर्ट प्रहरीले बुझेको छ।

तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ।

‘विजयले प्रयोग गरेको मोबाइलमा हिंसाको उद्देश्य देखाउने र घटनाप्रति लक्षित कुनै संकेत फेला परेन,’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले नेपालखबरलाई बताए, ‘मैले हिजो फरेन्सिक ल्याबको परीक्षण रिपोर्ट पाएको छु। रिपोर्ट सरसर्ती अध्ययन गर्दा विजयले हिंसा गर्नुपर्ने किसिमका गतिविधि त्यसमा फेला परेको छैन।’

उनले विजयको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेको बताए। रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गरिने एसएसपी राईको भनाइ छ।

यो पनिः मुना कार्की हत्या : छानबिनको सुई तेस्रो पक्षतिर

माघ २७ गते बिहान नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले सानेपास्थित आफ्नो घरभित्रै पत्नी मुना र कामदार विजयलाई अचेत अवस्थामा फेला पारेका थिए। भान्सामा रगताम्मे अवस्थामा अचेत भेटिएकी मुनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। मृत भेटिएका विजयको शवमाथि भने चुँडिएको डोरी फेला परेको थियो।

प्रहरीले सिसीटिभी फुटेजमा कामदार विजयले मुनाको हत्या गरेको प्रष्टै देखिएको बताउँदै आएको छ।

फरेन्सिक अध्ययनबाट मोबाइलमा डिलिट गरिएका सामग्री पनि ‘रिकभर’ हुने भएकोले प्रहरीले यसलाई घटनाको रहस्य पत्ता लगाउने प्रमुख अस्त्र मानेको थियो। तर, यसबाट पनि विजयको मनसायबारे स्पष्ट जानकारी फेला नपारेपछि प्रहरी अझै अनुसन्धान तन्काउन बाध्य भएको छ।

कार्की परिवारको छिमेकीसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ।

सबैसँग कुरा गर्दा विजयले त्यस्तो घटना घटाउनै नसक्ने जवाफ पाएपछि प्रहरी सीसीटिभी फुटेजमा देखिएको प्रमाणसहित थप अनुसन्धानमा जुटेको हो।

के–के भेटियो विजयको मोबाइलमा?
विजयले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेका छन्। पारिवारिक, अर्जुन कार्कीको छोरासँग रमाएको, कुकुरसँग खेलेको, विभिन्न ठाउँ घुमेको र गाउँ जाँदाखेरी खिचेका फोटाहरु बढी मात्रामा रहेको परिसरका प्रमुख राईले बताए।

‘अश्लील खालका, गम्भीर प्रकृतिका र हिंसा गर्न सघाउ पुर्‍याउने खालका केही पनि सामग्री मोबाइलमा देखिँदैन,’ राईले भने।

उनले मोबाइलबाट डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शंकास्पद विषय फेला नपरेको बताए।

मोबाइलमा रहेका अन्य सामग्रीको अध्ययन भइरहेको उनको भनाइ छ।

प्रहरीले अनुसन्धानको दायरा बढायो
घटना भएको १२ दिन भइसक्दा पनि प्रहरीले उक्त घटना घटाइनुको खास रहस्य अझै पत्ता लगाउन सकेको छैन। दैनिकजसो घटनाबारे जानकारी लिइरहेको प्रहरीले खास कारण नै पत्ता लगाउन नसकेपछि पछिल्लो दिन अनुसन्धानको दायरा बढाउँदै गएको छ।

अनुसन्धानको दायरा बढाउने क्रममै विजयको साथीसँग बयान लिने तयारी भइरहेको एक प्रहरी अधिकृतले जनाए।

विजयले ड्राइभिङ सिकेका ड्राइभरसँग पनि सोधपुछ गरिने ती अधिकृतले बताए।

अर्जुन कार्कीसँगपनि बयान लिइने
श्रीमतीको हत्यापछि किरियामा बसेका अर्जुनसँग प्रहरीले बयान लिँदैछ। घटनालगत्तै किरियामा बसेका कारण उनीसँग सोधपुछ गर्न नपाएको प्रहरीले अर्जुनकै आनीबानी, श्रीमती मुनासँगको सम्बन्ध, घरपरिवारमा उनको व्यवहारबाट घटनाको कारण पत्ता लगाउने प्रयास गर्नेछ।

सधैँ ड्राइभर साथै लिएर जाने अर्जुन घटना भएको माघ २७ को दिन भने आफैँ गाडी हाँकेर पशुपति गएको उनले बताएका थिए।

फेसबुकले विवरण उपलब्ध गराएन
मुना र विजय दुवैले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने गरेको देखिएपछि प्रहरीले सिंगापुरस्थित फेसबुकको एशिया क्षेत्रीय कार्यालयसँग उनीहरुको गतिविधि थाहा हुने सामग्री माग गरेपनि अहिलेसम्म कुनै विवरण उपलब्ध नगराएको एसएसपी राईले बताए।

‘हामीले फेसबुकको सिंगापुरस्थित कार्यालयलाई लेटर पठाएका थियौं तर अहिलेसम्म कुनै विवरण दिएको छैन,’ उनले थपे, ‘व्यक्तिगत गोपनीयतामा उनीहरु सचेत छन्, सजिलै पाउन गाह्रो छ।’

घटनालाई रहस्यमा धेरै समय राख्न नदिन अनुसन्धानको धेरैवटा उपाय अबलम्बन गरिएको एसएसपी राईको दाबी छ। उनले फेशबुकको सिंगापुर कार्यालयले विवरण उपलब्ध नगराए अमेरिकास्थित उसको मुख्यालयबाट लिन प्रयास गरिने बताए।

याे पनि:
छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु 
सीसीटीभी फुटेज हेरेपछि बोल्नै सकेनन् विजयका बाबु 
पूर्वसचिव कार्कीको विलाप : मुना तिमी किन चिच्याइनौ? 
मुनाको हत्या गर्नुअघि सीसीटीभीतिर फर्केर किन टोलाएका थिए विजय?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .