ad ad

समाज


गृहमन्त्री लामिछानेले पाँच महिना नपुग्दै हटाए कर्णाली प्रदेशका डीआईजी, चन्दलाई पठाइयो

गृहमन्त्री लामिछानेले पाँच महिना नपुग्दै हटाए कर्णाली प्रदेशका डीआईजी, चन्दलाई पठाइयो

डीआईजी अर्जुन चन्द ठकुरी र लालमणी आचार्य।


उजिर कार्की
जेठ १७, २०८१ बिहिबार १३:२१, काठमाडौँ

गृहमन्त्री भएदेखि नै प्रहरीमा हस्तक्षप गरेर विवादित निर्णय गर्दै आएका रवि लामिछानेले बुधबार तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा पनि विवादित नै गरेका छन्। 

गृहमन्त्रीस्तरीय निर्णयबाट बुधबार तीन जना डीआईजीको सरुवा गरिएको छ। जसमा कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी लालमणी आचार्यलाई ५ महिना नपुग्दै हटाइएको छ। 

२०८० पुस २४ गते १६ जना डीआईजीको एकसाथ सरुवा गरिएको थियो। त्यतिबेला सातवटै प्रदेशका प्रहरी प्रमुख फरिएका थिए।

त्यतिबेला काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीबाट कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका आचार्यलाई ५ महिना नपुग्दै हटाइएको हो। उनीसँगै जिम्मेवारी पाएका अरू ६ प्रदेशका प्रहरी प्रमुखलाई भने यथावत राखिएको छ। 

आचार्यसँगै सरुवा भएका १६ डीआईजी पनि यथावत् छन्। तर, आचार्यलाई कर्णाली प्रदेश प्रहरी प्रमुखबाट साइबर ब्यूरो भोटाहिटीमा सरुवा गर्दै काजमा प्रहरी शिक्षालय भरतपुर खटाइएको छ।  

असन्तुष्ट चन्दलाई कर्णाली प्रदेशको जिम्मा
कर्णाली प्रदेश प्रहरी प्रमुखमा भने डीआईजी अर्जुन चन्द ठकुरीले जिम्मा पाएका छन्। उनी प्रदेश प्रहरी प्रमुखमा जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट थिए। 

यसअघि विमानस्थलमा उनी सुरक्षा प्रमुख हुँदा अध्यागमन विभागका कर्मचारी र प्रहरीको विवाद भएको थियो। त्यसपछि बनेको छानविन समितिले प्रहरी नेतृत्वमाथि पनि प्रश्न उठाएको थियो। 

केही प्रहरीलाई कारबाही सिफारिस समेत गरिएको थियो। गत माघमा आफू मातहतका प्रहरीलाई कारबाही सिफारिस भएपछि उनी असन्तुष्ट बनेका थिए। 

त्यसलगत्तै राजीनामा समेत बुझाएका चन्दलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितका उच्च अधिकारीहरूले राजीनामा फिर्ता लिन सुझाव दिएका थिए। 

त्यतिबेलै उनलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिने पनि आश्वसन दिएका थिए। तत्कालका लागि भने चन्दलाई बिदामा बस्न भनिएको थियो। 

१० दिन बिदामा रहेकै बेला उनलाई विमानस्थलबाट प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो। माघ अन्तिममा प्रदेश समन्वय विभागमा सरुवा भएका चन्दले चार महिना नहुँदै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्। 

विमानस्थलमा फेरि डीआईजी 
डीआईजी अर्जुन चन्द ठकुरीलाई सरुवा गरिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले नै नेतृत्व गर्दै आएका थिए। एसएसपी कृष्णहरि शर्मा पोखरेललाई नै विमानस्थल सरुवा गरेर सुरक्षाको जिम्मा दिइएको थियो। 

तर पोखरेल गत साता डीआईजीमा बढुवा भएसँगै एसएसपी पनि रिक्त भएको थियो। 

पोखरेल बढुवा भएपछि रिक्त रहेको स्थानमा बुधबार नै गृहमन्त्रीले एसएसपी डम्बरबहादुर विकलाई सरुवा गर्ने निर्णय गरेका थिए। विक त्यसअघि नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीमा कार्यरत थिए। २० एसएसपी सरुवा गर्दा विमानस्थलको जिम्मेवारी पाएका विकले इन्चार्जको भने भूमिका नपाउने भएका छन्। 

डीआईजी रामदत्त जोशी

गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि डीआईजीलाई नै खटाउने निर्णय गरेका छन्। 

डीआईजी रामदत्त जोशीलाई कागजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा खटाइने भएको हो। जोशी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत थिए। ब्यूरोबाट प्रदेश समन्वय विभागमा सरुवा गरिए पनि जोशीलाई कागजमा विमानस्थल खटाइने भएको हो। 

गृहमन्त्री लामिछानेले सुरुदेखि नै प्रहरीमा अवधि नपुग्दै सरुवा गर्दै आएका छन्। सामान्यतः एक वर्षमा मात्रै सरुवा गरिने भए पनि लामिछानेले भने इन्चार्जको जिम्मेवारी पाएको डेढ महिनामा समेत प्रहरी अधिकारीहरूलाई सरुवा गरेका छन्।

लामिछानेले गरेका सरुवा–बढुवाका निर्णय प्रायः विवादित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .