स्टुडेन्ट भिसामा रसिया पठाइदिन्छु भनेर एक युवकसँग झण्डै ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटबाट अर्का एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको युमनामाई गाउँपालिका २ निवासी २३ वर्षीय राहुल कुमार प्रजापती रहेका जिल्ला प्रहरी कार्यालय रौटहटले जनाएको छ। उनलाई यही जेठ २२ गते प्रहरीले पक्राउ गरेको हो।
उनले यमुनमाइ २ का २० वर्षीय जितेन्द्र कुमार यादवलाई रसिया पठाइदिन्छु भन्दै १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
नेपालस्थित रसियन दुताबासबाट जारी भएको भन्दै उनले नक्कली कागजातहरु देखाएर यादवलाई विश्वासमा पारेर रकम असुलेका थिए।
रकम असुलेपछि उनले गृह जिल्ला छाडेर अन्य ठाउँमा गई लुकिछिपी बस्दै आएका प्रहरीले जनाएको छ।
पीडित युवकको जाहेरीको आधारमा प्रहरीले खोजतलास गरेर उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रजापतिलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया