ad ad

समाज


उच्च अदालतले पनि मानेन कालीबहादुर खामलाई छाड्न

उच्च अदालतले पनि मानेन कालीबहादुर खामलाई छाड्न

नेपालखबर
असार ७, २०८१ शुक्रबार २२:३, काठमाडौँ

काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खामलाई छाड्न उच्च अदालतले पनि अस्वीकार गरेको छ।

उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले शुक्रबार जिल्ला अदालत, चितवनकै आदेश सदर गरिदिएको हो।

कर्तव्य ज्यान मुद्दामा गत चैत २३ गते जिल्ला अदालत चितवनले खामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि रिहाइको माग गर्दै उनले उच्च अदालतमा निवेदन दिएका थिए।

१५ वर्षअघिको घटनामा फरार रहँदै आएका खमलाई प्रहरीले गत चैत २० गते काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको थियो। खाम पक्राउ गरिएपछि जिल्ला अदालत, चितवनमा मुल्तबीमा रहेको मुद्दा ब्युँतिएको थियो।

काठमाडौँ, कोटेश्वरका व्यापारी श्रेष्ठलाई २०६५ वैशाखमा अपहरण गरेर चितवन लगी हत्या गरेको अभियोग खाममाथि छ। कोटेश्वरको सरस्वती मार्गस्थित तत्कालीन माओवादी जनमुक्ति सेनाको तेस्रो डिभिजन सम्पर्क कार्यालयका घरधनीसमेत रहेका श्रेष्ठलाई ‘सानो काम छ’ भन्दै कब्जामा लिएर चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा हत्या गरिएको थियो।

१७ लाख रुपैयाँ र कालीबहादुर खामकै अंगरक्षकको पेस्तोल चोरी गरेको भन्दै श्रेष्ठलाई ‘सोधपुछका लागि’ चितवन लगिएको भनिएको थियो। घरबाट लैजाने बेलामा पनि ‘खामले नै ल्याउनू भनेको छ’ भन्दै लगिएको श्रेष्ठकी पत्नी रमिलाले जाहेरीमा उल्लेख गरेकी थिइन्।

तर ‘चोरीबारे किन कुरा खोलेको?’ भन्दै श्रेष्ठमाथि कुटपिट भएको र उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको थियो।

२०६५ वैशाख २८ गते राति श्रेष्ठको मृत्युपछि भालुढुंगास्थित त्रिशूलीको झोलुंगे पुलबाट शव फालिएको थियो, जुन पछि चितवनस्थित नारायणी नदी किनारमा फेला परेको थियो।

खामसहितका आरोपीविरुद्ध रमिला श्रेष्ठले जिल्ला प्रहरी कार्यालय, चितवनमा अपहरण तथा हत्याको कसुरमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीपछि तेस्रो डिभिजनका ब्रिगेड कमान्डर गोविन्दबहादुर बटलासहित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको अभियोग लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा २०६८ जेठ १७ गते जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले बटालालाई तीन वर्ष कैद हुने फैसला सुनाएको थियो। तर खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरूको मुद्दा मुल्तबीमा राख्ने आदेश भएको थियो।

सोही मुद्दा खाम पक्राउ परेसँगै ब्युँतिएको हो।

यस्तो थियो घटना
२०६४ चैत १२ गते राति १२ बजे कालीबहादुर खामका अंगरक्षकलाई ३ जनाले नियन्त्रणमा लिए। उनीमाथि १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरेको आरोप थियो।

सोही वर्षको चैत १७ गते श्रेष्ठको घरको शौचालयको खाल्डोमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख रुपैयाँ र भर्‍याङमुनि पेस्तोल फेला परेको थियो। सोही घटनाको अनुसन्धानका लागि भन्दै श्रेष्ठलाई २०६५ वैशाख ७ गते सोधपुछ गरेर तेस्रो डिभिजनको टोली फर्किएको थियो।

वैशाख १५ गते पुनः काठमाडौँ आएर राति २ बजे रामहरि श्रेष्ठ, केशव अधिकारी र गंगाराम थापालाई शिविरमा लगेर सोधपुछ गरियो।सोधपुछका क्रममा रामहरिले हतियार र नगद चोरी गरेको स्वीकार गरेका थिए। अन्य दुई जनाले भने घटना अस्वीकार गरेका थिए।

उनीसँगै अनुसन्धानमा रहेका दुई जनाले घटनाको पोल खोलेको भन्दै श्रेष्ठलाई कुटपिट गरेको र उनी गम्भीर घाइते अवस्थामा फेला परेको तत्कालीन डिभिजनले रिपोर्ट गरेको थियो। उपचारका लागि काठमाडौँ ल्याउने क्रममा श्रेष्ठको भालुढुंगामा मृत्यु भएको र तन्नामा पोको पारेर शव त्रिशूली नदीमा फालिएको थियो।

श्रेष्ठको घरमा घटनाको दुई वर्ष पहिलेदेखि विविध भनिने कालीबहादुर खाम मगर दोस्रो तलामा बस्दै आएका थिए। श्रेष्ठलाई घरबाट लैजाने बेलामा पनि खामले नै ल्याउन भनेको भन्दै घरबाट लगिएको थियो। तर रमिलाले बुझ्दा चितवनमा सोधखोज चलिरहेको र सकिएपछि फिर्ता गरिदिने जवाफ कालीबहादुर खामले नै दिएका थिए।

२०६५ जेठ २ गते रमिलालाई मानिस लिन आउनू भनी बोलाइएको थियो। रमिलासहित शक्तिखोरमा जाँदा कालीबहादुर खामले कुटपिटबाट रामहरि श्रेष्ठको मृत्यु भइसकेको बताएका थिए।

लासबारे सोधीखोजी गर्दा नदीमा फालिदिएको जवाफ पाएको रमिलाले बताएकी थिइन्। उनले कालीबहादुर खामसहितले हत्या गरेको भन्दै जेठ ८ गते जाहेरी दिएकी थिइन्। त्यसको चार दिनपछि २०६५ जेठ १२ गते बिहान नारायणी नदीको पुलबाट किनारमा शव भेटिएको थियो।

स्थानीयले शव देखेपछि जुगेडीस्थित प्रहरी कार्यालयमा खबर गरेका थिए। पछि प्रहरी पुगेर हेर्दा रामहरिको शव भएको पुष्टि भएको थियो। उनको शरीरका विभिन्न भाग काटिएको र नीलडाम रहेको अवस्थामा थियो।

यस घटनामा बटलालाई जिल्ला अदालतले तीन वर्ष कैदको सजाय सुनाएको थियो। प्रहरीले भने जन्मकैदको सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। सवारी चालक अर्जुन कार्कीलाई २० रुपैयाँ जरिवाना गरिएको थियो। उच्च अदालत हेटौँडाका तत्कालीन न्यायाधीश तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा (हाल सर्वोच्चका न्यायाधीश) को संयुक्त इजलासले २०७० माघ ५ गते जिल्लाकै फैसला सदर गरेको थियो।

जिल्ला र उच्चबाट एउटै फैसला भएपछि दोहोर्‍याएर हेरिपाऊँ भन्दै सर्वोच्च अदालतमा दुवै पक्षबाट निवेदन परेको थियो। श्रेष्ठलाई घरबाट लैजाने बटालालाई कम सजाय गरेको र सवारी चालक कार्कीलाई पनि कम सजाय गरेको भन्दै सरकारी पक्ष सर्वोच्चमा गएको थियो। सर्वोच्च अदालतले २०७४ माघ ९ गते मुद्दा दोहोर्‍याई हेर्न अनुमति दिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले २०७६ फागुन १८ गते बटलालाई सफाइ दिने फैसला गरेको छ। सवारी चालक अर्जुन कार्कीको हकमा जिल्ला र उच्चकै फैसला सदर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .