सशस्त्र प्रहरी बल नेपालका १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू (डीएसपी) को सरुवा गरिएको छ।
निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्डको जिम्मेवारीमा रहेका एसपीहरूलाई सरुवा गरिएको हो। अवकाश हुन लागेका एसपीहरूलाई इन्चार्जबाट अलग गरिएको हो।
यस्तै डीएसपीहरूलाई २०८० असोज १ गते प्रकाशित कमाण्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
२ वर्ष अवधि पूरा भएका र कमान्डको जिम्मेवारीमा रहेका डीएसपीहरूलाई एकसाथ सरुवा गरिएको हो। सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन्।
पूर्वानुमान सूची अनुसार कमान्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई समेटी आगामी कमान्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करिब १० महिना अघिदेखि नै ज्येष्ठताक्रमअनुसार कमान्ड पूर्वानुमान सूची प्रकाशित गरी सोहीअनुसार कमान्डमा पठाउँदै आएको छ ।
Shares
प्रतिक्रिया