ad ad

समाज


मुना हत्याकाण्ड : अर्जुन कार्कीको मोबाइल अनुसन्धान गर्दै प्रहरी, बयान लिने तयारी

मुना हत्याकाण्ड : अर्जुन कार्कीको मोबाइल अनुसन्धान गर्दै प्रहरी, बयान लिने तयारी

सागर न्यौपाने
फागुन १६, २०७६ शुक्रबार १६:१९,

माघ २६ गते साँझ।

यमुना अधिकारीले छोरी मुना अधिकारी कार्कीलाई फोन गरिन्।

‘भोलि बिहान अल्का अस्पताल जानु छ, तिमी बिहान यतै खाना खानेगरी आउनू,’ आमाले भनिन्।

‘खाना म यतै खाएर आउँछु, अनि जाउँला अस्पताल,’ छोरी मुनाले जवाफ दिइन्, ‘तपाईंको रिपोर्ट पनि मैसँग छ।’

भोलिपल्ट बिहान यमुना छोरीलाई कुरेर बसिन्। ९ बज्यो, १० बज्यो र ११ बज्यो तर, छोरी आइपुगिनन्। एकैछिनपछि खबर फैलियो– सानेपामा अर्जुन कार्कीको घरमा हत्याकाण्ड भयो। रेडियो, टिभी र अनलाइनहरुले खबर दिए। केहीले तस्बिर पनि छापे।

आफ्नै छोरीको घरमा घटना घटेको र मुनालाई उपचार गर्न स्टार हस्पिटल लगिएको खबर सुन्नेबित्तिकै यमुनाले भदालाई फोन गरेर बोलाइन् र तत्कालै अस्पताल पुगिन्।

पौनेघण्टापछि डाक्टरहरुले मुनाको मृत्यु भएको सुनाए। यमुना चिच्याइन, ‘मेरो छोरीलाई मार्‍यो...’

कसले छोरी मार्‍यो, यमुनाले स्पष्ट भन्न सकिनन्। उनी मुर्छा परेर ढलिन्।

दश मिनेटपछि आफन्तहरुले उठाएर उनलाई घर लैजान खोजे, तर उनी मानिनन्। मुनाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगियो। त्यसपछि मात्रै यमुनालाई लिएर थापाथली फर्किए उनका आफन्त।

यो पनिः विजयले मुनाको हत्या गर्नुपर्ने कारण भेटिएन : फरेन्सिक रिपोर्ट

छोरीको हत्यापछि यमुनाको जिन्दगीको सहारा नै टुट्यो।

२० वर्षअघि सडक दुर्घटनामा परेर उनका श्रीमान् निमबहादुर अधिकारीको मृत्यु भएको थियो।

सुदुरपश्चिम कृषि निर्देशनालयमा इन्चार्जका रुपमा कार्यरत निमबहादुर जेठी छोरी कृपा सुत्केरी भएपछि उनलाई भेट्न काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेका थिए।

निमबहादुर र यमुनाका चार सन्तानमध्ये जेठी छोरी कृपा र माइली मुनाको विवाह भइसकेको थियो। नाबालक छोरा शिव र कान्छी छोरी शकुनको रेखदेखसँगै घर–व्यवहारको जिम्मेवारी यमुनाको काँधमा आइपर्‍यो।

दुःखजिलो गरेर यमुनाले छोरा शिव, कान्छी छोरी शकुनको पढाइ पूरा गरिदिइन्। उच्च शिक्षाका लागि शिव र शकुन दुवै अमेरिकातर्फ लागे।

त्यसपछि भने थापाथलीको घरमा यमुना एक्लै परिन्।

उनलाई बेलाबेला साथसहयोग गर्न माइली छोरी मुना आउँथिन्। मुनाको २०४८ जेठ १२ गते नेपाल सरकारका जागिरे अर्जुन कार्कीसँग मागी बिहे भएको थियो। उनको घर पनि नजिकै बानेश्वरमा थियो।

आमालाई भाइ–बहिनीको अभाव हुन मुनाले नै दिएकी थिइनन्। मुना हप्तामा एकपटक माइती पुगेर आमासँग बस्ने गरेको उनका आफन्त स्मरण गर्छन्।

केही वर्षअघि अर्जुन र मुनाको परिवार बानेश्वरबाट ललितपुरको सानेपा बसाइँ सर्‍यो। त्यसपछि मुनाले आमासँगको भेटघाटलाई झनै तीव्रता दिन थालिन्। उनी हरेक दिनजसो एकपटक माइती पुग्थिन्। आमाको रेखदेख गर्थिन्।

उमेरको कारण यमुनाको स्वास्थ्यमा पनि विभिन्न समस्या देखिन थालेको थियो। औषधिउपचारको सबै जिम्मा मुनाकै थियो। गएको पाँच वर्षदेखि उनले यसैगरी आमाको हेरचाह गरिरहेकी थिइन्। दशैँ, तिहारको बेला सबै चाँजोपाँजो मुनाले मिलाइदिन्थिन्।

मुना र उनका पति अर्जुनबीच खटपट भइरहन्थ्यो। त्यो थाहा पाउँदा यमुना निकै डराउँथिन्। झगडा गर्नुहुँदैन भनेर छोरीलाई सम्झाएर पठाउँथिन्।

munabijay2

निष्पक्ष छानबिन होस् भन्दै अमेरिका उडे आफन्त
सानेपास्थित आफ्नै घरमा माघ २७ गते मुनाको हत्या भएपछि ७० वर्षीया यमुना बेसहारा भइन्।

त्यसैले अमेरिकामा रहेका छोरा शिव आएर आमालाई उतै लिएर गए।

‘दिदीको हत्याबारे सत्य तथ्य बाहिर आए हुन्थ्यो,’ बुधबार अमेरिका उड्नुअघि मुनाका भाइ शिव अधिकारीले आफन्तसँग भने।

दिदी मुनाको हत्या भएको खबर सुनेपछि उनी माघ २९ गते अमेरिकाबाट नेपाल आएका थिए। १५ दिन बसेर उनी आमालाई लिएर अमेरिका फर्केका छन्।

अमेरिका जानुअघि गएको सोमबार उनले महानगरीय प्रहरी परिसर जावालाखेल पुगेर मुनाको घरमा घटेको घटनाको सीसीटीभी फुटेज हेरेका थिए।

कामदार विजय चौधरीले मुनाको हत्या गरी आफूले आत्महत्या गरेको प्रहरीले दाबी गर्दै आएको छ। तर, विजयले सो घटना घटाउनुको कारण भने प्रहरीले घटना भएको १९ दिन बितिसक्दा पनि दिन सकेको छैन।

विजयले मुनालाई भान्सामा काम गरिरहेको बेला पछाडिबाट डोरीले बाँधेर लडाइ एउटा धारिलो वस्तुले अनुहारमा हानेर मुर्छित बनाएर आफूपनि सोही घरमा झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर जावालाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले ले बताउँदै आएका छन्। 

यो पनिः मुना कार्की हत्या : छानबिनको सुई तेस्रो पक्षतिर

मुनाका भाइ शिवले प्रहरीका अघिल्तिर केही नभनेपनि घटनाको सम्पूर्ण तथ्य सार्वजनिक हुनुपर्ने बताएको उनीहरुका आफन्तले जनाए।

‘घटना किन घटाइयो, त्यसको कारण के थियो, भन्ने स्पष्ट नपारिएकोमा उनीहरु दुःखी छन्,’ अधिकारी परिवारका एक आफन्तले भने।

‘मुनाको अनुहार समेत क्षतविक्षत बनाई हत्या गरिएको छ। उनीसँग चर्को रिस नभएको व्यक्तिले त्यो घटना गराउनै सक्तैन, चौधरीले घटना घटाउनुपर्नेगरी मुनाले के गरेकी थिइन् होला?’ ती आफन्तले प्रश्न गरे, ‘त्यस्तो बर्बर घटना हुनुको रहस्य प्रहरीले अहिलेसम्म किन खोल्न सकेको छैन?’

उनका अनुसार मुनाको परिवारमा विजयलाई निकै माया गरिन्थ्यो। मुनाको छोरोले विजयलाई दाइ भन्थे। अर्जुन र मुनाबीच झगडा भएका बेला विजय अघि सरेर खाना पस्किने, सबैलाई खुवाउने र मध्यस्थता गर्ने गर्थे।

आफूहरु दुःखमा भएकाले अहिले धेरै विषयमा कुरा नगर्ने मनस्थिति बनाएको भन्दै मुनाको माइतीपक्षले घटनालाई धेरै रहस्यमा राख्न नहुने सुझाव दिएका छन्।

१९ दिनसम्म पनि रहस्य फेला पार्न असफल प्रहरी
प्रहरीको अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर जावलाखेलले संयुक्त रुपमा यो घटनाको अनुसन्धान गरिरहेका छन्। 

तर, घटनाको १९ दिन बितिसक्दा पनि त्यसको कारण फेला नपरेको प्रहरी बताउँछ।

‘आजसम्म प्राप्त सबै प्रमाणका आधारमा चौधरीले नै मुनाको हत्या गरेर आफूले आत्महत्या गरेको देखिएपनि त्यसको कारण अझै पत्ता लागेको छैन’, एसएसपी राईले नेपालखबरसँग भने, ‘हामी विभिन्न प्रमाण संकलन गरेर थप अध्ययन गरिरहेका छौं।’

प्रहरीले दुवैले प्रयोग गर्ने मोबाइलको डिजिटल फरेन्सिक परीक्षण गरेको छ। तर, दुइटैको मोबाइलमा आशंका जन्माउने खालका केहीपनि सामग्री नभेटेको एसएसपी राई बताउँछन्।

घटना घटेकै दिन प्रहरीले मुना र विजयले प्रयोग गर्ने मोबाइललाई नियन्त्रणमा लिएर परीक्षण गर्न पठाएको थियो। सो रिपोर्टलाई प्रहरीले फागुन ८ गते बुझेको थियो। मसिनो ढंगले डिजिटल रिपोर्टलाई अध्ययन गर्दा सो घटना घटाउनुपर्ने कुनै कारण फेला नपरेको प्रहरीको भनाइ छ।

‘दुईजनाकै मोबाइलमा रहेका कन्टेन्ट हेर्दा विजयले मुनालाई मार्नुपर्ने कारण देखिएन,’ एसएसपी राईले भने, ‘मेसेजहरुमा पनि त्यस्तो शंका जन्माउने केही पाएका छैनौं।’

मुनाको मोबाइलमा मुना र अर्जुन कार्की सँगै घुमेको फोटो, माइतीसँगको फोटो र छोरी र छोराको फोटो मात्र फेला परेको राईले जानकारी दिए।

उनले केही प्रमाणमाथि अझै अध्ययन गर्ने क्रम जारी रहेको बताए।

‘केही प्रमाण आउन बाँकी छन्, कल डिटेल मगाएका छौँ। मुनाको टाउको र अनुहारमा छियाछिया हुनेगरी आक्रोशले हानेको देखिन्छ, त्यसको कारण खोजी गर्दैछौं,’ उनले भने, ‘हामीले जेबाट कारण खुल्छ भन्ने सोचेका थियौं, त्यसबाट खुलेन। अब नयाँ आधारमा अनुसन्धानलाई अगाडि बढाउँदैछौं, अझै केही समय लाग्न सक्छ।’

घटना घटेको पर्सिपल्ट विजय चौधरीका बुबा जानकी चौधरीसँग बयान लिएको प्रहरीले अझैसम्म पनि मुनाका पति अर्जुनसँग भने बयान लिएको छैन। उनीसँग ‘समय मिलाएर’ बयान लिइने प्रहरीको भनाइ छ।

‘प्रहरीले आवश्यकताका आधारमा सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको हुन्छ, अर्जुन सरसँग पनि समय मिलाएर बयान लिने काम हुन्छ,’ एसएसपी राईले भने।

तर, अर्जुन कार्कीले प्रयोग गर्ने मोबाइल भने प्रहरीले अनुसन्धान गर्दैछ।

‘अर्जुन कार्कीले मोबाइलमै सीसीटीभी फुटेज हेर्न मिल्ने सफटवेयर जोड्नुभएको रहेछ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘घरको सबै गतिविधि हेर्न मिल्ने उक्त सफ्टवेयरलाई अर्जुन सरले घटनाको दिन हेर्नु भयो कि भएन, यसबारे बुझ्दैछौं।’

याे पनि:
छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु 
सीसीटीभी फुटेज हेरेपछि बोल्नै सकेनन् विजयका बाबु 
पूर्वसचिव कार्कीको विलाप : मुना तिमी किन चिच्याइनौ? 
मुनाको हत्या गर्नुअघि सीसीटीभीतिर फर्केर किन टोलाएका थिए विजय?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .