ad ad

समाज


भारतीय विज्ञ टोलीले १३ किलोमिटरसम्म भेटेन त्रिशूलीमा बेपत्ता बस र यात्रु

‘सोनार क्यामरा’सहित खोजी जारी
भारतीय विज्ञ टोलीले १३ किलोमिटरसम्म भेटेन त्रिशूलीमा बेपत्ता बस र यात्रु

नेपालखबर
साउन ७, २०८१ सोमबार १६:१५, काठमाडौँ

गएको असार २८ गते नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएकोमा भारतीय विज्ञ टोलीले खोज्दासमेत फेला पार्न सकेको छैन।

दुर्घटनाको एक हप्तापछि गत शनिबार आएको भारतीय टोलीले नेपाली सुरक्षाकर्मीसँग मिलेर हिजो (साउन ६ गते) देखि ‘सोनार क्यामरा’सहित खोजीकार्य सुरु गरेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो (आइतबार) सिमलतालदेखि घुमाउनेसम्म करिब ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको जनाएको छ।

आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ।

असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा र काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए।

एन्जल डिलक्समा २७ जना र गणपतिमा ४१ यात्रु रहेकोमा गणपति बसका तीनजना यात्रु त्रिशूलीमा पौडिएर बाँच्न सफल भएका थिए।

खोजी कार्यमा थप सहयोग गर्न छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल सडजास्टर रेस्पोन्स फोर्स) बाट १२ जनाको एक प्राविधिक टोली नेपाल आएको छ।

शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति चितवन र भारतीय प्राविधिक टोलीको संयुक्त वैठक बसी आइतबार बिहानबाट खोजी कार्य सुरु भएको थियो।

उक्त घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ। भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन्। हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ।
सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने २ वटा महिलाको छ। त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने ५ वटा भारतीय नागरिकका रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .