ad ad

समाज


सौर्य एयरलाइन्स दुर्घटनाको नालीबेली : विमानस्थलदेखि अस्पतालसम्म जे भयो

सौर्य एयरलाइन्स दुर्घटनाको नालीबेली : विमानस्थलदेखि अस्पतालसम्म जे भयो

नेपालखबर
साउन ९, २०८१ बुधबार २०:३७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको विमानमा दुर्घटना भयो।

एएन एएमपी सीआरजे-२०० जहाज ०२ रनवेमा उडेलगत्तै दायाँतिर ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।

विमान रनवेको घाँसे मैदानबाट घसारिँदै अगाडि गएर केहीबेर आकाशतिर उडेको थियो। त्यस क्रममा ट्याक्सी वे हुँदै घाँसे मैदानपर्तिरको खाडलमा झरेको र विमानका पुर्जाहरू घाँसे मैदानमा समेत छरिएको प्रत्यक्षदर्शीले देखेका थिए।

प्राधिकरणले घटनापछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बुधबार सौर्य एयरलाईन्सको सीआरजे-७ (९एन-एएमई) जहाज काठमाडौँबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो।’

जहाजमा २ चालक दलका सदस्यसहित १९ जना थिए। विमानको यात्रु क्षमता भने ५० जनाको थियो।

विमानस्थल र त्यस वरपर रहेकाहरूले जहाज खसेको देखेपछि एकाएक होहल्ला भएको थियो। जहाज खसेलगत्तै आगो र धुवाँको मुस्लो देखिएको थियो।

त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार, विमान दुर्घटना भएर आगो लागेको देख्नेबित्तिकै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी एकसाथ परिचालन गरिएको थियो।

आगो नियन्त्रणमा आउन करिब २५ मिनेट लागेको थियो।

क्याप्टेन मात्र बाँचे, १८ जनाको गयो ज्यान
जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरू, एम्बुलेन्स तत्काल पुगेका थिए। घटनाको ५ मिनेटभित्र उद्धार टोली त्यहाँ पुगेको विमानस्थल व्यवस्थापनले जनाएको छ।

विमानमा सवार यात्रुको शव यत्रतत्र छरिएको अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए।

प्रहरीका अनुसार, उद्धार हुँदा चालक मनीषरत्न शाक्यका साथै अरू ३ जना पनि जीवित थिए। तर, चालक मनीष मात्र बाँच्न सफल भए। अरू ३ जनालाई त्रिवि शिक्षण अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृतक घोषणा गरेका थिए। बाँकी १५ जनाको घटनास्थलमै ज्यान गइसकेको थियो।

शवहरूको शिक्षण अस्पतालमै पोस्टमार्टम गरिँदै छ।

शव अस्पताल पुर्‍याएपछि आफन्तहरू त्यहीँ पुगेका थिए। त्यहाँको दृश्य हेरीनसक्नु थियो।

अस्पताल परिसरमा उनीहरू भावविह्वल हुँदै आफन्तको शव कुरिरहेका थिए। अस्पताल प्रशासनले जनाए अनुसार आजैबाट पोस्टमार्टम भए पनि शव हस्तान्तरण हुन ३ दिनसम्म लाग्न सक्नेछ। 

मृतकका आफन्तलाई सहानुभूति दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि शिक्षण अस्पताल पुगेका थिए। 

सौर्यकै जनशक्ति क्षति
विमानमा सवार १७ जना सौर्य एयरलाइन्सकै कर्मचारी र २ जना कर्मचारीका आफन्त रहेको पाइएको छ।

क्याप्टेन मनीषरत्न शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

कोपाइलट सुशान्त कटुवाल, एयरलाइन्सकै कर्मचारी अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र आरिफ रेडाको ज्यान गएको छ।

दुर्घटनामा ज्यान गुमाएका आरिफ रेडा यमनका नागरिक हुन्। उनी सौर्य एयरलाइन्सकै कर्मचारी थिए।

मृतकमध्ये ४ जना सौर्य एयरलाइन्सका व्यवस्थापक तहका कर्मचारी हुन्। 

सौर्य एयरलाइन्सका अनुसार सुरक्षा प्रमुख सागरकुमार आचार्य, कन्टिन्युङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विनकुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल र क्वालिटी एस्विरेन्स प्रमुख दिलिप बर्मा रहेका छन्।

एकै परिवारका ३ जना
एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको दुर्घटनामा ज्यान गएको छ।

आफू पोखरा जाने भएपछि शर्माले श्रीमती र छोरालाई पनि सँगै लगेका थिए।

पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी प्रिजा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी कर्मचारी हुन्। उनी ऊर्जा सचिवको सचिवालयमा कम्युटर अपरेटरको रूपमा कार्यरत थिइन्।

डेढ दशकका अनुभवी क्याप्टेन शाक्य
क्याप्टेन शाक्यले सन् २००९ मा गुण एयरलाइन्समा काम सुरु गरेका थिए। उनी २०१२ देखि स्रिमिक एयरलाइन्समा करिब ३ वर्ष ट्रेनिङ म्यानेजरको रूपमा रहे।

२०१४ मा सिम्रिकमै रहेर उडान पनि गरे। पछिल्लो ९ वर्ष ८ महिनादेखि सौर्यमा चिफ अफ अपरेसन्स रहेका छन्। शाक्यले उत्तराखण्ड, भारतको मसुरी मोडर्न र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका थिए।

उनको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक रहे पनि आगोले नछोएका कारण जीवितै उद्धार सम्भव भएको सुरक्षाकर्मीको भनाइ छ। शाक्यलाई तत्काल सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

मर्मतका लागि पोखरा जाँदै थियो
जहाज प्राविधिक परीक्षणका लागि पोखरा जाँदै थियो। पोखरा विमानस्थलका प्रवक्ता जशोदा सुवेदीका अनुसार पोखरामा प्राविधिक परीक्षणका लागि सुविधा सम्पन्न ‘ह्यांगर’ छ।

‘जहाजमा कुनै खराबी आएर नभई निश्चित घण्टा उडेपछि नियमित तालिकाअनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो’, सुवेदीले भनिन्, ‘पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकरू जहाजमा सवार रहेको जानकारी आएको छ।’

बम्बार्डियरको पहिलो ठूलो दुर्घटना
क्यानेडियन कम्पनी बम्बार्डियरको सीआरजे २०० जहाज नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा परेको छ।

एभिएसन सेफ्टी नेटवर्कको रेकर्डअनुसार सन् २०१८ र २०१९ मा सीआरजे २०० सामान्य दुर्घटनामा परे पनि मानवीय क्षति नै हुने गरी भएको बुधबार नै पहिलोपटक हो।

क्यानेडियन कम्पनी बम्बार्डियरले सन् २००३ मा दुर्घटनाग्रस्त ९एन एएमई जहाज उत्पादन गरेको थियो। यसमा २ वटा जेट इन्जिन छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वैशाख १४ गते १ वर्षको लागि जहाज उडानको अनुमति दिएको थियो। उक्त दिनसम्म जहाजले २८ हजार ७८५ घण्टा ५७ मिनेट उडान भरिसकेको थियो।

नेपालमा बम्बार्डियरको जहाजबाट अहिले सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले उडान गर्दै आएका छन्।

सन् २०१८ सेप्टेम्बर १७ मा काठमाडौँबाट विराटनगर उडानको क्रममा यो जहाज चरासँग ठोक्किएको थियो। चालक दलसहित ५२ सवार जहाजमा त्यतिबेला सबै सकुशल थिए। जहाज विराटनगर पुगेपछि मात्रै चरा ठोक्किएको जानकारी पाइएको थियो।

सन् २०१९ नोभेम्बर ८ मा बम्बार्डियरकै श्री एयरलाइन्सको जहाज पार्किङको समयमा यती एयरलाइन्सको पंखामा ठोक्किएको थियो। त्यतिबेला पनि कुनै मानवीय क्षति भएन।

जहाज उत्पादक कम्पनीले सीआरजे २०० को पहिलो उडान सन् १९९५ मा सुरु गरेको थियो। विश्वभर हालसम्म कम्पनीका यस सिरिजका ७९ वटा जहाज दुर्घटनामा परेका छन्।

अवरूद्ध भयो विमानस्थल
त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान करिब २ घण्टा प्रभावित भएको थियो।

दुर्घटनाको केही समयमै बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान बंगलादेशको जहाज अवतरण नगरी ढाका फर्किएको थियो।

त्यसैगरी क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको एमएच१७० कलसाइनको जहाज पनि डाइभर्ट भएको थियो।

ब्याङ्ककबाट आएको थाई एयरवेजको जहाज लामो समय होल्डिङमा राखिएको थियो।

प्रधानमन्त्री र मन्त्रीहरू दुर्घटनास्थलमा
घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे लगायत उच्च अधिकारीले दुर्घटनास्थल पुगेर उद्धारबारे निरीक्षण गरेका थिए।

प्रधानमन्त्री ओलीले नागरिक उड्डययन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट घटना र उद्धार प्रयासबारे ब्रिफिङ लिएका थिए। सो क्रममा उनले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताएका थिए।

घटनाबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई उनले निर्देश पनि गरे।

‘घटना  कसरी भयो? मानवीय वा प्राविधिक कमजोरी के भयो? तुरुन्तै बुझौँ,’ ओलीले भनेका थिए।

उनले निधन भएकाहरूमा श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेन शाक्यको स्वास्थ्यलाभको कामना पनि गरे।

आयोग गठन
आज आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। 

आयोगको सदस्यमा क्याप्टेन दीपुराज ज्वारचन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन्। यस्तै एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोललाई आयोगको सदस्य सचिव तोकिएको छ। 

आयोगलाई जाँचबुझ गर्न ४५ दिनको म्याद दिइएको छ।

आगामी दिनमा दुर्घटना हुन नदिन जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राविधिकले नियमित अनुगमन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

शोक र समवेदना
मन्त्रिपरिषद्कै बैठकले बिहीबार (साउन १० गते) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना र घाइते पाइलट मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

बिहान विमानस्थलमा जहाज दुर्घटना हुँदा सिंहदरबारमा राज्य व्यवस्था समितिको बैठक बसिरहेको थियो। समितिमा गृहमन्त्रीदेखि सुरक्षा निकायका अधिकारीहरू पनि निम्त्याइएको थियो।

दुर्घटनाको खबर पुगेपछि संसदीय समितिले शोक प्रस्ताव पारित गर्दै परिवारमा समवेदना व्यक्त गरेको थियो।

राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता, विभिन्न राजनीतिक दल तथा संघसंस्थाहरूले पनि शोक वक्तव्य जारी गरेका थिए।

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .