ad ad

समाज


विमान दुर्घटनाका १३ शव अस्पतालमै, क्षतिपूर्ति यकिन गर्न आफन्तको माग, सरकारले बेवास्ता गरेको गुनासो

विमान दुर्घटनाका १३ शव अस्पतालमै, क्षतिपूर्ति यकिन गर्न आफन्तको माग, सरकारले बेवास्ता गरेको गुनासो

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग। तस्बिर : सरोज बैँजु


नेपालखबर
साउन ११, २०८१ शुक्रबार २१:५, काठमाडौँ

सौर्य एयरलाइन्सको बुधबार भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये ५ जनाको मात्र शव आफन्तले बुझेका छन्। अन्यका आफन्तले शव बुझ्न सकिरहेका छैनन्। एयरलाइन्स र सरकारी पक्षबाट बेवास्ता गरिएको उनीहरूको गुनासो छ। 

शुक्रबार बिहान शवहरूको पोस्टमार्टम सकिएपछि आफन्तलाई शव बुझ्न आग्रह गरिएको थियो। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग परिसरमा शव बुझ्ने सूचनाका लागि आफन्तहरू कुरिरहेका पनि थिए।

त्यस क्रममा को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, उद्धप पुरी, अश्मिन निरौला र श्याम विन्दुकरको शव आफन्तले बुझेका छन्।अन्य शवहरू आफन्तको समन्वयमा बुझाइने प्रहरी अधिकारीले बताएका छन्।

दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाका शव अस्पतालमै छन्। शव परीक्षण र पहिचानको काम सकिएपछि प्रहरीले तीन–तीन जनाका दरले आफन्त गएर शव बुझ्न सक्ने जनाउ दिएका थिए। तर, आफन्तहरू हच्किए। किनभने, न त्यहाँ एयरलाइन्सका प्रतिनिधि थिए न त नियामक निकाय नागरिक उड्डयन प्राधिकरण वा पर्यटन मन्त्रालयका अधिकारी नै त्यहाँ थिए।

आफन्तहरूले एयरलाइन्स र सरकारी प्रतिनिधि भएर शव जिम्मा लगाउँछन् होला भन्ने अपेक्षा गरेका थिए। साथै बिमा, क्षतिपूर्ति, क्रियाखर्च र शव ढुवानीको व्यवस्थाबारे स्पष्ट पारिदिए हुन्थ्यो भन्ने उनीहरूको भनाइ थियो। तर, यसबारे केही नभनी एकाएक शव लैजाऊ भनेपछि पीडामाथि थप पीडा थपिएको गुनासो उनीहरूले गरिरहेका थिए।

त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागका अनुसार १४ वटा शवलाई आफन्तले दिएको हुलिया र क्लिनिकल तथ्यको आधारमा पहिचान गरिएको थियो। त्यस्तै चारवटा शव अत्यधिक जलेका कारण डेन्टल एक्जामिनेसनमार्फत पहिचान गर्न सम्भव भएको थियो। यो सबै प्रक्रिया सक्न करिब ४ बजेको थियो।

तर, आफूहरूमाथि परेको पीडामा सरकार र विमान कम्पनीले बेवास्ता गरेको भन्दै उनीहरूले शव नबुझ्ने अडान राखे। क्षतिपूर्ति दिलाउन सरकारले पहल गर्नुपर्नेमा त्यो पनि नगरिएको उनीहरूको भनाइ थियो।

अस्पताल परिसरमा भेला भएका आफन्तहरू निकै आक्रोशित भएपछि प्रहरीले शान्त पार्ने प्रयास गरेको थियो। पीडित आफन्तहरू सरकारले वार्तामा बोलाउनुपर्ने र आफ्ना माग सुनेर सम्बोधन गर्नुपर्ने भन्दै थिए।

सकेसम्म सहयोग दिलाउँछौँ : एयरलाइन्स
सौर्य एयरलाइन्स प्रालिका तर्फबाट अध्यक्ष दीपककुमार पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने उल्लेख गरेका छ। तर, केकस्तो सहयोग भन्ने स्पष्ट पारिएको छैन।

विज्ञप्तिमा भनिएको छ, ‘सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक गर्नुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैँ जीवन्त एवं चिर स्मरणीय इतिहासको रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं।’

बुधबार बिहान काठमाडौँबाट पोखराका लागि बिहान ११:११ मा उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो।

विवाद नहुनुपर्ने हो : पूर्वमहानिर्देशक
नागरिक उड्डयन प्राधिकरणका एकजना पूर्वमहानिर्देशक जहाज, यात्रु र तेस्रो पक्षको बिमा गरिएको हुने भएकाले क्षतिपूर्तिको विषय खासै विवाद हुनु नपर्ने बताउँछन्।

व्यावसायिक उडान नभए पनि प्रयोजन खुलाएर गरिएको उडानका यात्रुका परिवारले बिमावापतको रकम पाउनुपर्ने उनको भनाइ छ। एकजना कर्मचारीले श्रीमती र बच्चा पनि साथै लगेको हुनाले त्यसमा विवाद हुन सक्ने भए पनि अन्यले बिमा नपाउने भन्ने नहुने उनको भनाइ छ।

एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि प्राविधिक कर्मचारीसहितको टोली पोखरा जाँदै थियो। त्यसमा रहेका एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको पनि दुर्घटनामा ज्यान गएको छ।

दुर्घटनाबारे छानबिन गर्न गठित आयोगले पनि यससम्बन्धी कागजात मगाएको छ। सरकारले बुधबार नै नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सुमनको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो।

वार्डमा सारिए चालक
चालक मनीषरत्न शाक्यको भने जीवित उद्धार सम्भव भएको थियो। उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनामा घाइते भएका पाइलट मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट सारिएको हो।

शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनले बताइन्। ‘उहाँ (मनीषरत्न शाक्य) को स्वास्थ्यवस्था सुधार भएको छ। अहिले आईसीयूबाट नर्मल वार्डमा सारिएको छ,’ उनले शुक्रबार दिउँसो नेपालखबरसँग भनिन्।

चिकित्सकहरूले उनको मेरुदण्डमा समस्या रहेको भन्दै अपरेसन गर्नुपर्ने बताएका थिए। यद्यपि, अहिलेसम्म उनको मेरुदण्डको अपरेसन भएको छैन। ‘अपरेसन गर्ने कि नगर्ने भन्नेबारे हड्डीको विशेषज्ञसँग कुरा हुँदैछ,’ डा. थापाले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .