ad ad

समाज


भण्डारी दम्पती हत्या प्रकरणः दुधे बालिका अझै बेहाेस, टाउकोमा गम्भीर चोट

भण्डारी दम्पती हत्या प्रकरणः दुधे बालिका अझै बेहाेस, टाउकोमा गम्भीर चोट

गोकुल जोशी
फागुन १८, २०७६ आइतबार १६:१५,

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि १९ किलोमिटरको दुरीमा झलारी बजार पर्दछ। बजार भन्दा केही दुरीमा पूर्व–पश्चिम महेन्द्र राजमार्गको छेवैमा टायलले छाएका दुईवटा कच्ची घर छन्। त्यही वरपर फूल तथा बोटविरुवा र सानो टिनको गेट छ। गेटमा लेखिएको छ, ‘वेलकम–शुभ लाभ’।

यो दृश्य कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित जयलाल भण्डारीको घरको हो, जहाँ गेटमा उल्लेख गरिएको ‘शुभ’ ले पनि भण्डारी परिवारलाई ‘लाभ’ गरेन। त्यो घरमा बुधवार राती दर्दनाक घटना भयो, जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी भण्डारी मृत अवस्थामा भेटिए। उनीहरुकी ६ महिने छोरी घाइते अवस्थामा भेटिइन्। बावुआमाको मृत्युपछि घाइते बालिका टुहुरी भइन्।

भण्डारी दम्पती ६ महिने दुधे छोरीसहित बस्थे। अहिले भने घरमा ताला लागेको छ। घर सुनसान छ।

मृतक जयलालको धनादेवीसँगको दोस्रो बिहे थियो। तीन वर्ष अगाडि क्यान्सरका कारण जेठी श्रीमतीको मृत्युपछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुर बस्ने धनासँग उनले दोस्रो विवाह गरेका थिए। जेठी श्रीमतीबाट दुई छोरा र एक छोरी छन् भने कान्छी श्रीमतीबाट एक बालिका।

६ महिने दुधे बालिकाका लागि धनादेवीको माइत (अमरपुर) बाट हरेक दिन दुध ल्याउने गरिएको थियो। बिहीवार दुध ल्याउनका लागि कोही नआए पछि फागुन १५ गते धनाकी फुपुकी छोरी दुध पु-याउन घर पुगिन्। उनी घर पुग्दा घर सुनसान थियो। दुई घरमध्ये एउटाको चुकुल लागेको थियो, अर्कोको लागेको थिएन, ढोका केही बन्द गरे जस्तो गरिएको थियो।

‘घर सुनसान देखे पछि दुध लिएर फर्किन लागेकी थिएँ, त्यही बेला बच्चा रोएको आवाज सुनेँ।’ मृतक धनाकी भतिजी पार्वती रावलले बिहीबारको दिन सम्झँदै भनिन्, ‘त्यस पछि अगाडि हेर्दा रगत देखेँ, ढोका खोले, त्यहाँ भिनाजु सुत्नु भएको थियो, फुच्ची एकातर्फ रोइरहेकी थिइ, अर्को कोठामा हेरेँ त्यहाँ पनि रगत नै रगत थियो।’

त्यस पछि प्रहरीको १०० नम्बरमा फोन गरेर विभत्स घटनाको खबर गरेकाे र प्रहरी त्यहाँ पुगेको  पार्वतीले बताइन्। बुवा आमाको मृत शव रहेको घरभित्र शिशु मात्र जीवित थिइन्। 

बच्चाको अवस्था कस्तो ?
आमाबाबुको रहस्यमय मृत्युपछि बेहोस भएकी ६ महिने बालिकाको कैलाली धनगढीस्थित माया मेट्रो अस्पतालकाे आईसीयूमा उपचार भइरहेकाे छ। ६ महिने बालिका ममताको स्वास्थ्यमा केही सुधार आएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन्।

‘स्वास्थ्यमा केही सुधार आएको छ, पहिले भन्दा कम्पनहरु नियन्त्रण भएका छन्। पहिला कम्पन लगातार भइरहेको थियो।’ उपचारमा संलग्न बालरोग बिशेषज्ञ डा. मोहन साउँदले भने, ‘श्वासप्रश्वास प्रक्रिया ठिकै छ, अहिले नै ठिक भएको भन्न सक्दैनौँ, आवश्यक औषधि चलाइरहेका छौँ ।’

डा. साउँदका अनुसार शिशु अहिले बेहोस छिन्। उनको स्वास्थ्य अवस्था गम्भीर छ। सिटिस्क्यान रिपोर्टले बालिकाको टाउकोको भित्री भागमा गम्भीर चोट देखाएको छ।

‘टाउकोको भित्री भागमा ठूलो चोट देखिएको छ, आमा–बुवाको हत्यापछि शिशुलाई कसैले फालेको वा आफैँ खसेको हुनसक्छ’, डा. साउँदले भने, ‘छातीमा निमोनिया छ।’ उनले टाउकोमा लागेको चोटले मस्तिष्कमा असर गरेको देखिएको जानकारी दिए। ‘टाउकोको चोटले पुरै दिमाग सुजन भएको छ, त्यसले गर्दा शिशुलाई निमोनिया पनि भएको छ’, उनले भने।

आफूहरुले बालिकाको स्वास्थ्यमा सुधार ल्याउन प्रयत्न गरिरहेको बताउँदै उनले अहिले औषधिहरु चलाइरहेको जानकारी दिए।
ती बालिकालाई उपचारका लागि शुक्रबार बेलुका धनगढी लगिएको थियो। 

याे पनि: 
भण्डारी दम्पती हत्या प्रकरणः सीआईबीले पनि थाल्यो अनुसन्धान 
भण्डारी दम्पती मृत्यु प्रकरण : ‘आमा-बाबुको हत्यापछि शिशु फालेको हुनसक्छ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .