राष्ट्रिय सहकारी बोर्डकी कर्मचारी कान्ति पाण्डेले समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार गर्नुका साथै सञ्चार सामग्रीसमेत खोसेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
महासंघ महोत्तरी शाखाका अनुसार साउन १५ गते राजधानी टुडे अनलाइनमा कार्यरत महोत्तरीका पत्रकार राजेश सिंहलाई समाचार संकलनका क्रममा उनले पाण्डेले दुर्व्यवहार गरेकी हुन्।
स्थानीयको अनुरोधमा गाई गौशालामा भएको बेथितिको बारेमा समाचार संकलनका लागि पत्रकार सिंह महोत्तरीको निगौल गाई गौशाला कार्यालय पुगेका थिए।
सोही क्रममा पत्रकार सिंहलाई कार्यालयको सभाकक्षभित्रै पाण्डेले भिडिओ किन खिचेको भन्दै मोबाइल खोसेर गालीगलौज गर्दै दुर्व्यवहार गर्नुका साथै घटनास्थलमा रहेका प्रहरीले समेत पत्रकार सिंहलाई हप्काएको शाखाले जनाएको छ।
‘नागरिकलाई सुसूचित गराउने कर्ममा जुटेका पत्रकारमाथि यस किसिमका व्यवहार हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हर्कत हो’ पत्रकार महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ प्रेसविरोधी घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग माग गर्दछ।’
Shares
प्रतिक्रिया