ad ad

समाज


सौर्य एयरलाइन्स दुर्घटनाका क्याप्टेन शाक्य डिस्चार्ज

सौर्य एयरलाइन्स दुर्घटनाका क्याप्टेन शाक्य डिस्चार्ज

नेपालखबर
साउन १८, २०८१ शुक्रबार ११:३५, काठमाडौँ

गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते भएका पाइलट (क्याप्टेन) मनीषरन्त शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्।

बिहीबार राति ९ बजेतिर उनलाई डिस्चार्ज गरिएको काठमाडौँ मेडिकल कलेज (केएमसी) की निर्देशक प्रा.डा. मीना थापाले नेपालखबरलाई जानकारी दिइन्।

‘उहाँका स्वास्थ्यस्थिति सामान्य बनेको छ। अहिले अस्पतालमा राख्नुपर्ने कुनै कारण नभएपछि हिजो (बिहीबार) डिस्चार्ज गरेका हौँ,’ थापाले भनिन्। 

घरमै बसेर उनको उपचार निरन्तर भइराख्ने पनि उनले प्रष्ट पारिन्। अहिले पाइटल शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ। 

‘घरमा बसेर पनि उहाँको उपचार हुनेछ। थेरापी, आँखा लगायतको उपचार उहाँको भइरहनुपर्छ,’ उनले भनिन्, ‘अर्थोपेडिक्समा बढी समस्या छ अब घरबाटै फलो अप हुन्छ।’

सुरुमा पाइलट शाक्यको मेरुदण्डको अपरेसन गर्नुपर्ने बताइएको थियो। यद्यपि, अन्य विधि प्रयोग गरेर अपरेसनबिनै उपचार भएको अस्पतालले बताएको छ। 

‘एमआरआई गरेपछि अपरेसन नगरी उपचार भएको छ। मेरुदण्डको पनि उपचार आवश्यक परेन,’ डा. थापाले भनिन्। 

बिहीबार पाइलट शाक्यको अवस्थ बुझ्न नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अस्पताल पुगेका थिए। खड्कासँगै कांग्रेस सांसद समेत रहेका अस्पतालका प्रमुख डा. सुनील शर्मा पनि पुगेका थिए। 

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।

सोही दुर्घटनामा बाँच्न सफल भएका पाइलट शाक्यलाई २३ मिनेटपछि अस्पताल पुर्‍याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .