ad ad

समाज


सिमलताल दुर्घटनाको प्रतिवेदन मंगलबार बुझाउने तयारी

सिमलताल दुर्घटनाको प्रतिवेदन मंगलबार बुझाउने तयारी

नेपालखबर
साउन २१, २०८१ सोमबार २०:५७, काठमाडौँ

सिमलताल दुर्घटना अध्ययनका लागि गठित कार्यदलले मंगलबार (२२ साउनमा) प्रतिवेदन बुझाउने भएको छ।

मंगलबार दिउँसो गृहमन्त्रालयमा प्रस्तुतीकरण सहित गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउन लागिएको हो।

गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सन्ध्या सिग्देल, भौतिक पूर्वाधार मन्त्रालयबाट प्रकाश भण्डारी र यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सदस्य रहेका छन्।

गृहमन्त्री रमेश लेखकले असार ३१ गते पदभार ग्रहण गर्दै सिमलताल दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए।
कार्यदलले साउन २ गतेबाट आफ्नो काम थालेको थियो।

कार्यदलका संयोजक रिजालका अनुसार कार्यदलले घटनास्थलको भौगोलिक अवस्था अध्ययन गर्नुका साथै दुर्घटनामा बाँचेका यात्रु, घटनास्थलपारिका स्थानीय लगायतसँग कुराकानी गरेको छ।    

गएको असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा गाडी बगाएर त्रिशूलीमा पुर्‍याउँदा बसमा सवार ६२ जना यात्रु बेपत्ता भएका थिए।

दुर्घटनामा बगेको दुईवटा बसमा सवार यात्रुमध्ये हालसम्म २५ जनाको मात्रै शव भेटिएको छ भने ३७ जना यात्रु र दुईवटै बस बेपत्ता छन्।
कतिपय शव नारायणीले बगाएर भारतीय भूमिमा पुर्याएको अवस्थामा भेटिएका थिए।

साउन ५ गतेबाट भारतले उपकरणसहित १२ जनाको टोली खोज तथा उद्धारका लागि आएपनि एक हप्ताको प्रयासपछि निराश भएर फर्केको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले भने खोजीकार्य जारी राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .