ad ad

समाज


अभिभावक बनेर घर चलाउँछन् साढे ३१ हजार बालबालिका, किशोरी आमाको संख्या १५ हजार

१० वर्षमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घट्यो
अभिभावक बनेर घर चलाउँछन् साढे ३१ हजार बालबालिका, किशोरी आमाको संख्या १५ हजार

नेपालखबर
साउन २५, २०८१ शुक्रबार २१:४१, काठमाडौँ

नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भूमिकाको रूपमा रहेको पाइएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको बालबालिकासम्बन्धी तथ्यांकीय प्रतिवेदनले यो तथ्य सतहमा ल्याएको हो।

१० वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूसँग गरिएको कुराकानीम यो तथ्यांक निकालिएको कार्यालयका जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

नेपालमा ६६ लाख ६० हजार ८४१ परिवार रहेका छन्। ती परिवारमध्ये ३१ हजार ५१२ परिवारमा परिवारको मूली बालबालिका रहेको भेटिएको हो।

त्यसमा पनि बालिकाहरू बढी परिवारमूलीको भूमिकामा रहेको लामिछानेले बताए। प्रतिवेदनमा सहरी र अर्धसहरी क्षेत्रमा बालिकाहरूको संख्या परिवारमूलीको रूपमा बढी रहेको पनि औंल्याइएको छ। निर्देशक लामिछानेले भने, ‘नेपालमा करिब ७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिकाको उपस्थिति रहेछ। कम्तीमा एक जना बालबालिका भएको परिवार ७१.३ प्रतिशत रहेछ। करिब २९ प्रतिशत परिवारमा बालबालिका रहेनछन्।’  

नेपालमा बालबालिकाको संख्या घट्दै गएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार पछिल्लो १० वर्षको अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घट्न गएको छ। नेपालका हाल ९८ लाख ६९ हजार ५८३ अर्थात कुल जनसंख्याको ३३.८ प्रतिशत बालबालिका रहेका छन्। 
 

१७ वर्षसम्मको जनसंख्या ९८ लाख
नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये बालबालिका (१८ वर्षभन्दा कम उमेरका अर्थात ० देखि १७ वर्षसम्मका) को ९८ लाख ६९ हजार ५८३ (३३.८ प्रतिशत) रहेका छन्। जसमध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेको छ। कुल पुरुषमध्ये बालक ३६ प्रतिशत र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेका छन्। 

बालबालिकाको लैङ्गिक अनुपात १०७.६ जना अर्थात प्रतिएक सय जना महिलामा १०७.६ जना पुरुष रहेको छ। जबकी समग्र जनसङ्ख्यामा महिलाको  जनसङ्ख्या पुरुषकोभन्दा करिव ६.५ लाखले बढी छ भने समग्र बालबालिकाको  जनसङ्ख्यामा बालकको  जनसङ्ख्या बालिकाको भन्दा करिव ३.६ लाखले बढी रहेको छ। त्यसैगरी समग्र लैङ्गिक अनुपात ९५.६ मा बालबालिको लैङ्गिक अनुपात निकै बढी देखिएको छ। 

सबैभन्दा धेरै १० देखि १४ वर्षसम्मका बालबालिका
नेपालमा सबैभन्दा धेरै (२९.५%) १० देखि १४ वर्षसम्मका बालबालिका रहेका देखिन्छन्। दोस्रो, तेस्रो र चौथोमा रहेका छन् क्रमशः ५ देखि ९ वर्ष, ४ वर्षभन्दा कम र १५ देखि १७ वर्षसम्का बालबालिका छन्। 

बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर – १.१ प्रतिशत
विसं २०५८ बाट २०६८ मा बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहेको थियो। २०६८ बाट २०७८ मा पुग्दा यो ऋणात्मक रह्यो। अहिले यो –१.१ प्रतिशत हुन पुगेको छ।

यस दश वर्षको अवधिमा समग्र जनसङ्ख्या १०.१ प्रतिशतले थप हुँदा बालबालिकाको जनसङ्ख्या १०.९ प्रतिशतले घट्न गएको देखिएको छ। जसमध्ये बालकको तुलनामा बालिकाको जनसङ्ख्या करिब ४ प्रतिशत बिन्दु बढीले घटेको छ। 

बागमती र गण्डकी प्रदेशका परिवारमा बालबालिका बसोवासमा कमी
नेपालका कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन्। सबैभन्दा बढी तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिकाको बसोवास रहेको छ भने सबैभन्दा कम पहाडका परिवारमा कम बालबालिका बसोवास रहेको देखिएको छ। अर्धशहरी (७६.४ प्रतिशत) र ग्रामिण (७०.५ प्रतिशत) क्षेत्रको तुलनामा शहरी (६५.० प्रतिशत) क्षेत्रका कम परिवारमा बालबालिका बसोवास रहेको छ। बालबालिकाको बसोवास वागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम छ। 

नेपालका एकल परिवारमा ५४.१ प्रतिशत र ४५.९ प्रतिशत संयुक्त परिवारमा कम्तीमा एक जना बालबालिको बसोवास रहेको छ। मधेस र सुदूरपश्चिम प्रदेशमा करिव बराबर पारिवारिक संरचना (एकल र सयुक्त) मा बालबालिकाको बसोवास रहेको छ भने अन्य प्रदेशमा संयुक्त परिवारमा भन्दा एकल परिवारमा बालबालिकाको बसोवास रहेको छ। यसले परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको देखिएको तथ्यांकमा देखाइएको छ। 

१० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह
देशका १० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह भएको छ। विवाहित बालबालिका सर्वाधिक (२.६%) कर्णालीमा र सबैभन्दा न्यून (१.१%) वागमतीमा रहेको देखिन्छ। नेपालमा बाल विवाह विद्यमानतादर १४.१ प्रतिशत छ। पुरुषतर्फ यो मान ५.० प्रतिशत भने महिलातर्फ २१.९ प्रतिशत रहेको छ।

यो सूचक कुल २० देखि २४ वर्षका महिलामा २० देखि २४ वर्षका विवाहित महिलाले १८ वर्ष नपुग्दै विवाह गरेको अधारमा गणना गरिन्छ।

प्रदेशस्तरमा बाल विवाह हुने पुरुषको सर्वाधिक (९.५%) विद्यमानतादर कर्णाली प्रदेशमै रहेको छ भने दोस्रो (५.७%) मधेस प्रदेश र तेस्रो (५.५%) लुम्बिनी र सुदूरपश्चिम प्रदेश रहेका छन्। यी तथ्याङ्गले नेपालमा पुरुषको तुलनामा महिलाको बाल विवाहको विद्यमानता दर दोब्बरभन्दा बढी रहेको स्पष्ट देखिन्छ।

हिमाल, पहाड र तराईको विश्लेषण गर्दा गणनाको समयमा २० देखि २४ वर्ष उमेर भएका पुरुष र महिलामध्ये १८ वर्ष उमेर पूरा नभई हुने बाल विवाह सर्वाधिक (१५.४%) तराईमा छ भने हिमालमा १४.९ प्रतिशत र पहाडमा १२.२ प्रतिशत मात्र छ। यसबाट बाल विवाहको समस्या तराई र पहाडमा भन्दा हिमालमा न्यून रहेको देखिन्छ। 

परिवारको सम्पन्नताको पञ्चम वर्गीकरणअनुसार गणनाको समयमा २० देखि २४ वर्षका युवा र युवतीको जनसङ्ख्यालाई हेर्ने हो भने बाल विवाह अति न्युन वर्गभित्र सर्वाधिक (२०.८%) रहेको देखिन्छ। न्यून वर्गभित्रका बालबालिकामा बाल विवाहको विद्यमानता (१७.८ %) रहेको छ। अति उच्च वर्गमा यो सबैभन्दा न्यून (४.९ %) छ भने उच्च वर्गमा यो ११.७ प्रतिशत मात्र छ (तालिका २७)। यसरी परिवार सम्पन्न हुँदै जाँदा बाल विवाहजस्तो सामाजिक समस्या पनि केही हदसम्म घट्दै गएको देखिन्छ। 

बालबालिका र साक्षरता दर
५ वर्ष र सोभन्दा माथिल्लो कुल जनसङ्ख्यामध्ये ९४.१ प्रतिशत साक्षर रहेको देखिएको छ। 
साक्षर बालबालिकामध्ये ४६.१ प्रतिशतले प्राथमिक तह पूरा गरेको देखिन्छ। एस.ई.ई. वा सोसरह र सोभन्दा माथिको तह उत्तीर्ण गर्नेको अंश ६ प्रतिशत रहेको छ। 

नेपालमा अझै पनि ५.४ प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएका छन भने विचैमा पढ्न छाडेका ५.३ प्रतिशत देखिन्छ। विद्यालय नजाने बालबालिका हिमाल र पहाडको तुलनामा तराईमा सर्वाधिक (८.०%) रहेको छ। पहाडमा यो केवल १.९ प्रतिशत रहेको छ। प्रादेशिक तहमा हेर्दा १४.० प्रतिशतसहित मधेस सबैभन्दा उच्च अवस्थामा छ भने गण्डकी १.१ प्रतिशतसहित न्यूनतम अवस्थामा छ।

किशोरी आमाको सङ्ख्या
बालबालिकाको उमेर समूहभित्र पर्ने किशोरी आमा (१३ देखि १७ वर्षसम्म) १५ हजार १२५ जना रहेका छन्। किशोरी आमामध्ये सर्वाधिक (४८.४%) तराईमा छन् भने हिमालमा ७.६६ प्रतिशत रहेका छन्। शहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा किशोरी आमा बढी छन्।

बालबालिकाको मृत्युको अवस्था
मृत्यु भएका कुल १५ हजार ८६८ बालबालिकामध्ये सर्वाधिक (६३.९%) अंश ४ वर्षभन्दा कम उमेरका बालबालिकाको रहेको छ। दोस्रो (१३.३%), तेस्रो (१२.६%) र अन्तिममा (१०.३%) क्रमशः १०(१४, ५(९ र १५(१७ उमेर समूहका बालबालिका रहेका छन्।

घरको स्वामित्व र बालबालिकाको उपस्थिति
बालबालिका भएका परिवारमध्ये ८७.४ प्रतिशतको आफ्नै स्वामित्वको घर, ११.५ प्रतिशतको भाडाको घर, ०.४ प्रतिशत संस्थागत घर र ०.७ प्रतिशत अन्य प्रकारको आवासीय एकाइमा बसोवास गर्दछन्।

बालबालिका र घरेलु कामदार
१८ वर्षभन्दा मुनिका घरेलु कामदारको हैसियतमा परिवारभित्र रहेका बालबालिका नेपालमा ०.०३ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .