ad ad

समाज


‘विजयकृष्ण मूर्ति महाराज’ ठगेर जेल परेको रेकर्ड प्रहरीबाटै गायब, कसरी पाए चारित्रिक प्रमाणपत्र?

विजय भण्डारीका बाउन्सरबाट कुटिँदा पनि प्रहरी निरीह, सामसुम पार्न खोज्दै सीडीओ
‘विजयकृष्ण मूर्ति महाराज’ ठगेर जेल परेको रेकर्ड प्रहरीबाटै गायब, कसरी पाए चारित्रिक प्रमाणपत्र?

उजिर कार्की
भदौ २, २०८१ आइतबार २२:३७, काठमाडौँ

पशुपतिमा एक महिना कोटीहोम सञ्चालन गरेका आफूलाई बाल योगेश्वर विजयकृष्ण मूर्ति महाराज बताउने विजय भण्डारी जेल परेको रेकर्ड नै प्रहरीले नराखेको पाइएको छ। 

एपी वान टेलिभिजनमा केही दिनअघि अन्तर्वार्ता दिँदै उनले आफू कुनै कसुरमा संलग्न नभएको भन्दै प्रहरी प्रधान कार्यालयबाटै चारित्रिक प्रमाणपत्र लिइसकेको दाबी गरेपछि प्रहरीले यस विषयमा अनुसन्धान गरेको थियो। 

तर, उनी ठगी आरोपमा २ वर्ष जेल परेर छुटेको र प्रहरीबाट चारित्रिक प्रमाण पत्र दिएको दुवै रेकर्ड फेला नपरेको प्रहरी उच्च स्रोतले नेपालखबरलाई जानकारी दियो। 

‘काठमाडौं उपत्यका प्रहरी कार्यालयले यस विषयमा छानबिन समिति नै बनाएर अनुसन्धान गर्ने तयारी गरेको हो। तर हामीसँग कुनै तथ्यांक नै फेला परेन। हाम्रैमा रेकर्ड नभेटिएपछि अब के भन्ने?’ प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले भने। 

विजयले आफूलाई प्रहरीले चारित्रिक प्रमाण पत्र दिएको टेलिभिजन अन्तर्वार्तामै बताएपछि प्रहरीले उनीसँग सोधपुछ गर्ने तयारी गरेको थियो।

‘अन्तार्वार्ता बाहिरिएलगत्तै सोधपुछ गर्नुपर्ने हो। कोटीहोम सञ्चालन भइरहेकाले समापनपछि मात्रै गर्ने भनेर कुरेका थियौँ, तर काठमाडौँ प्रहरी नेतृत्वको लापरबाहीले शुक्रबार बेलुका पशुपतिको कोटीहोममा उक्त घटना हुन पुग्यो,’ ती अधिकारीले भने। 

जिल्ला प्रहरी परिसरले विजयलाई यस विषयमा सोधपुछ गर्न पहिल्यैबाट समन्वय गरिरहेको थियो। सुरुमा उनले समय मिलाएर आफैँ उपस्थित हुने बताएको परिसरका एक अधिकारीले जानकारी दिए।

तर, कोटीहोम सम्पन्न भएपछि पनि उपस्थित नभएपछि प्रहरी उनलाई लिन पशुपति पुगेको थियो। सादा पोसाकका प्रहरी पुगेर उनलाई आफ्नो भ्यानमा लैजान खोजेका थिए। विजयले सुरुमा प्रहरीको भ्यानमा नजाने र आफ्नै गाडीमा जाने जवाफ दिएका थिए। उनले आफ्नै गाडीमा आउने भन्दा प्रहरी राजी भएर कुरिरहेको थियो। 

प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमान्डमा काठमाडौं परिसरको टोली र गौशाला वृत्तको टोली शुक्रबार पुगेको थियो। तर सुरुमा आफैँ आउने बताएका विजयले पछि आफूलाई पक्रन प्रहरी आएको भन्दै आफ्ना स्वयंसेवक र भक्तहरुलाई उक्साएका थिए। प्रहरी उनी भएठाउँमा जाने प्रयास गर्दैगर्दा उनले फेसबुक लाइभ गर्दै प्रतिकार गर्न निर्देशन दिएका थिए। 

उनको निर्देशनपछि कोटीहोममा खटिएका स्वयंसेवक र मानव सेवा फाउन्डेसनका कर्मचारी प्रहरीमाथि नै जाइलागेका थिए। प्रहरी र विजयका कर्मचारीबीच केहीबेर झडप भएको थियो। त्यसक्रममा केही प्रहरी र फाउन्डेसनका केही कर्मचारी घाइते समेत भएका थिए। 

‘विषय ठूलो थिएन, उहाँको अन्तर्वार्तापछि प्रहरी रिपोर्टकै बारेमा सोधपुछ गर्न बोलाएका थियौँ। तर जिल्ला प्रहरी परिसर काठमाडौँले समन्वय र उचित समयमा पक्राउ गर्न नसक्दा उक्त दिन यस्तो घटना हुन पुग्यो,’ प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले भने, ‘बाउन्सर राखेर भक्तका माझमा कार्यक्रम भइरहँदा उनीहरुका गुरुलाई उठाउन जान हुँदैनथ्यो। समय र स्थान फरक पार्न पथ्र्यो। उनी भागिजाने मान्छे पनि थिएनन्।’

तर अप्रिय घटना हुन सक्ने भएकाले बल प्रयोग गरेर ल्याउनभन्दा आफू पछि हटेको प्रहरीको भनाइ छ। 

धार्मिक कार्यक्रमका लागि अमेरिका पठाउने भन्दै ठगी गरेको कसुरमा दोषी ठहर भएका भण्डारीले बाउन्सर लगाएर कुटेपछि प्रहरी निरीह बनेर फर्कियो। तर त्यसको भोलिपल्ट कुटपिट गर्ने समूहलाई झिकाएर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गराए। 

प्रजिअ बस्नेत थप कारबाही अगाडि बढाउन भन्दा पनि समिति बनाएर उक्त घटना सामसुम पार्न उद्धत देखिएका छन्। घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ। 

समितिमा प्रहरी र विजय भण्डारीका कर्मचारी पनि छन्। काठमाडौँ परिसरका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरीका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, पत्रकार महासंघका सचिव गोविन्द चौलागाईं र विजय भण्डारीको मानव सेवा फाउण्डेसनका विष्णुकुमार थापा सदस्य छन्। 

प्रजिअ बस्नेतले राखेको छलफलका सहभागीले पशुपतिको घटनामा दुवै पक्षले दुःख व्यक्त गरेका छन्। 

विजय भण्डारीले प्रहरी पुगेपछि बंगलादेशको जस्तै घटना हुन सक्ने भन्दै धम्क्याएका थिए। प्रजिअ बस्नेतले राखेको छलफलमा पनि धार्मिक, सामाजिक सद्भाव बिथोलिन नदिन सबै पक्षबाट सहयोग गर्ने उल्लेख छ। 

यस्तै शुक्रबार बेलुका भएको घटनाको सत्यतथ्य पत्ता लगाएर १५ दिनभित्रमा प्रतिवेदन पेस गर्न र दोषीमाथि कारबाही गर्ने भनिएको छ। यस विषयमा काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारी भने केही थाहा नभएको बताएका छन्। 

एसपी अधिकारीले भने, ‘छानबिन समितिबारे सीडीओ कार्यालयतिरै बुझ्नु पर्ला, हामीकहाँ केही पनि आइपुगेको छैन। प्रहरीलाई राखिएको सूचना पनि मलाई जानकारीमा छैन। सीडीओ कार्यालयको मैले कसरी थाहा पाउने?’  

विजयको प्रहरी रिपोर्ट छानबिन गर्न अर्को समिति
यता काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनपछि काठमाडौँ जिल्ला प्रहरी परिसरले भण्डारीले लिएको प्रहरी रिपोर्टको अनुसन्धान गर्न समिति बनाएको छ। 

परिसरकै डीएसपी दिपेश बस्यालको कमान्डमा समिति बनाएर आन्तरिक छानबिन सुरु गरेको परिसरका एक अधिकारीले बताए। 

अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना समेत भोगेका व्यक्तिले कसरी चारित्रिक प्रमाण पत्र पाए भनेर अनुसन्धान हुने उनले बताए।

‘यसमा प्रहरीभित्रैबाट कसैको मिलिभगत हुन पनि सक्छ। भएको के हो यो पत्ता लगाउन समिति बनेको हो,’ उनले भने। 

प्रहरी प्रधान कार्यालयले भने काठमाडौँ परिसरका एसएसपी वसन्त रजौरे र एसपी नवराज अधिकारीको कमजोरीका कारण यस्तो घटना हुन पुगेको बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .