ad ad

समाज


प्रहरीमा ३० वर्षे तत्काल नहट्ने, न्यायाधीश फुयालको अन्तरिम आदेश खारेज

बिदा भए डीआईजीसहित ८९ प्रहरी
प्रहरीमा ३० वर्षे तत्काल नहट्ने, न्यायाधीश फुयालको अन्तरिम आदेश खारेज

उजिर कार्की
भदौ १४, २०८१ शुक्रबार १७:४९, काठमाडौँ

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम रहने भएको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश शुक्रबार संयुक्त इजलासबाट खारेज भएसँगै ३० वर्षे नै कायम हुने भएको हो। 

सर्वोच्चका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले सरकारको भ्याकेट निवेदनमा माग भए अनुसार गत बिहीबार न्यायाधीश फुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज गरिदिएको हो। 

यो आदेश खारेजसँगै नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विष्णुकुमार केसीसहित ८९ जना एकसाथ अवकाश हुने भएका छन्।

उनीहरू आज नै बिदा हुनेछन्। शनिबार बिदा भएको र आइतबारदेखि ३० वर्षे सेवा हद लाग्ने भएकाले उनीहरूको सेवा अवधि सकिएको हो। 

प्रहरी ऐनमा तीन प्रावधानले अवकाश हुने व्यवस्था छ। ३० वर्षे सेवा अवधि, उमेर हद रकार्य अवधि मध्ये जुन पहिले आउँछ सोही व्यवस्था अनुसार अनिवार्य अवकाश दिने व्यवस्था छ। 

यी ८९ प्रहरी ३० वर्षे सेवा अवधि पूरा भएका कारण अवकाश हुने भएका हुन्। सर्वोच्चले १० वर्ष पहिले नै ऐनमै व्यवस्था गर्न र ३० वर्षे हटाउन आदेश दिएको थियो। तर सरकारले अहिले नयाँ ऐन ल्याउने अन्तिम तयारीमा रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए। 

शुक्रबार नै गृहमन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ऐनको मस्यौदा गृहमन्त्रालयबाट पारित भएर सहमतीका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए।

अर्थमन्त्रालयबाट सहमति प्राप्त भएपछि कानुन मन्त्रालयमा पठाइने छ। कानुन मन्त्रालयको रायपछि मन्त्रिपरिषदमा पेश हुनेछ। त्यहाँबाट संसदमा छलफलका लागि लगिनेछ। संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नयाँ ऐन लागु हुनेछ। 

उक्त ऐनमा समेत ३० वर्षे लगायतका अवकाशका प्रावधान हटाउन लागिएको छ। सरकारले ऐन ल्याउने तयारी गरिरहँदा न्यायाधीश फुँयालले गत बिहीबार ३० वर्षे हटाउन अन्तरिम आदेश जारी गरिदिएपछि प्रहरीले उक्त आदेश कार्यन्वयन गर्न सातवटै प्रदेश प्रहरी कार्यालय र केन्द्रीय विभागहरूमा परिपत्र गरिसकेको थियो।

तर निवर्तमान गृह सचिव एवम् हालका मुख्यसचिव एकनारायण अर्यालले सरकारको तर्फबाट उक्त आदेश खारेजको माग गर्दै भ्याकेट दर्ता गराएका थिए। बिहीबार नहकुल सुवेदी र विनोद शर्माको इजलासले दुवै पक्षलाई झिकाएर आजका लागि पेशी तोकेको थियो। 

प्रहरी प्रधान कार्यालयले रातारात म्याद तामेल गराउँदै निवेदक प्रहरीहरूलाई जानकारी गराएको थियो। उनीहरू सर्वोच्चको आदेश अनुसार आजै उपस्थित हुन म्याद नबुझ्न बिदा लिएर सम्पर्कबिहिन भएका थिए। मोवाइलसमेत बन्द गरेका केहीका घरमै राति नै प्रहरी पठाएर पत्र बुझाइएको थियो। 

इजलास बहिस्कारपछि एकतर्फी सुनुवाइबाट आदेश 
भ्याकेटमा सुनुवाइ भएको भोलिपल्टै दुईतर्फी पेशी तोकिएको भन्दै एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ निवेदककातर्फबाट भने इजलास बहिस्कार गरेका छन्। उनीहरूको तर्फबाट उपस्थित कानुन व्यवसायीले इजलास बहिस्कार गरेपछि एकतर्फी सुनुवाइ गर्दै आदेश गरिएको हो। 

बहस गर्न इजलास पुगेका कानुन व्यवसायीले सुनुवाइको प्रक्रिया र इजलासमाथि प्रश्न उठाउँदै बहिस्कार गरेका हुन्। 

उनीहरूको बहिस्कारपछि पनि न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले सुनुवाइ अगाडी बढाएको हो। भ्याकेट निवेदन दर्ता गराउने सरकारी पक्षको मात्रै बहस भएको थियो। 

यस्तै अर्का निवेदक डीआईजी विष्णुकुमार केसीको तर्फबाट बहस भयो। उनी पनि भदौ १६ गतेबाटै अवकाश हुने पत्र बुझिसकेका थिए।

केसी यो ब्याचसँगै प्रहरी सहायक निरीक्षकमा भर्ना भएका हुन्। तर उनले प्रहरी सहायक निरीक्षकमा भर्ना हुनु पहिले नै प्रहरी निरीक्षकको पनि जाँच दिएका थिए। निरीक्षकको नतिजा ढिलो आएपछि उनले प्रहरी सहायक निरीक्षकको पनि नियुक्ती लिएर काम गर्न थालेका थिए। तर पछि आएको निरक्षिकको परीक्षामा पनि उनी पास भए। 

आफूले पहिल्यै निरीक्षकको परीक्षा दिइसकेकाले आफ्नो सेवा अवधि प्रहरी निरीक्षकमा भर्ना भएपछि मात्रै गणना हुनु पर्ने उनको माग थियो। 
एसएसपी श्रेष्ठसहितका निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरि उप्रेती, टिकाराम भट्टराई र सुशिल पन्तले इजलासमाथि सुरुमै प्रश्न उठाएका थिए। 

बहसका लागि वकालतनामा बुझाइसके पनि सुरुमै आफ्नो कुरा राखेर उनीहरू बहस नगर्ने भन्दै बाहिरिएका थिए। 

इजलासमा निवेदकका वकिलले भनेका थिए, ‘न्यायाधीश विनोद शर्माले बिहीबार बेलुका साढे ५ बजे आदेश गरेर बिहान ७ बजेभित्र हाजिर गराउनु भन्ने। अनि अहिले उहाँकै बेन्चमा पेशी पर्ने। निवेदकहरूले भ्याकेटको निवेदन हेर्न अध्ययन गर्न पनि पाएका छैनन्।’

टिकाराम भट्टराईले भने संकटकालमाभन्दा गलत ढंगबाट म्याद तामेल गराइएको बताए।

‘संकटकालमा पनि यस्तो धरपकट ढंगबाट प्रहरी लगाएर म्याद तामेल भएको थिएन’,  वरिष्ठ अधिवक्ता भट्टराईले इजलासमा भने, ‘हाम्रो कुरा यही हो अब श्रीमानहरूको जो आदेश हामीले केही भन्नु पर्ने छैन, बहस गर्दैनौं।’

त्यसपछि निवेदकका सबै वकिल इजलासबाट बाहिरिएका थिए। निवेदकका २२/२३ जना वकिलहरूको वकालतनामा बुझाइएको थियो। निवेदक प्रहरीहरू पनि इजलासमा उपस्थित भएका थिए। तर त्यससपछि उनीहरू पनि इजलासबाट बाहिरिएका थिए। 

शारङ्गा सुवेदीले यस्तो कुरा उठिसकेपछि के गर्ने भनेर सल्लाहपछि निर्णय गर्ने संकेत गरेकी थिइन्। तर प्रश्न उठाइएका न्यायाधीश विनोद शर्माले भने केही पनि बोलेनन् र इजलासमा सुनुवाइ अगाडी बढाउने निर्णय लिए।      

उक्त इजलासमा सरकारले दायर गरेको भ्याकेटसँगै डीआईजी विष्णुकुमार केसीको रिट र एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरीले दायर गरेको रिट एकसाथ राखेर सुनुवाइ भएको हो। 

यी हुन् अवकाश हुने ८९ प्रहरी
गतसाताको अन्तरिम आदेश खारेज भएसँगै ८९ प्रहरीको जागिर अवधि सकिएको छ। ३० वर्ष पूरा गरेर बिदा हुनेमा २०५१ साल भदौमा एकसाथ प्रहरी सहायक निरीक्षकमा भर्ना भएर हाल डीआईजी रहेका विष्णुकुमार केसीदेखि प्रहरी निरक्षिकहरूसम्म छन्।

अवकाश हुनेमा ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छन्। एसएसपीहरू ट्राफिक प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, दिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मीले पनि अवकाश पाएका छन्। 

एसपीहरूमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ र नवीनकिशोर प्रधान पनि उनीहरूसँग अवकाश भएका छन्। 
३१ जना डीएसपी पनि अवकाश हुँदैछन्। 

डीएसपी श्रीराम भण्डारी, भरतकुमार शाह, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम छन्।

यस्तै नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का, उद्धवप्रसाद अधिकारी, रामबहादुर चन्द, सुजितकुमार ओझा, फणीन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत पनि अवकाश हुँदैछन्। 

इन्सपेक्टर ३५ जना अवकाश भएका छन्। अवकाश हुनेमा योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत, सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, हरिविष्णु ढकाल, रविभूषण प्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती, मोहन थापा, कलेन्द्रविक्रम शाही र मानप्रसाद श्रेष्ठ  छन्। 

यस्तै किसन चन्द ठकुरी, अवधकिशोर ओझा, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाईं, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदीश पौडेल, गोपाल चालिसे र कमल आचार्यले पनि अवकाश पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .