ad ad

समाज


साग सकिएको तीन महिना बित्दा पनि बालक गुमाएका परिवारले पाएनन् क्षतिपूर्ति

साग सकिएको तीन महिना बित्दा पनि बालक गुमाएका परिवारले पाएनन् क्षतिपूर्ति

शैलेन्द्र महतो
फागुन २२, २०७६ बिहिबार ८:३४,

जनकपुरमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) उद्घाटनपछि छाडिएको पटाका पड्कँदा छोरा गुमाएका पीडित परिवारले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्।

घटनाको तीन महिना बितिसक्दा पनि १० वर्षीय छोरा गुमाएका जनकपरधाम उपमहानगरपालिका १३ का शोभित राउतले क्षतिपूर्ति नपाएका हुन्।

गत मंसिर २० गते जनकपुर उपमहानगरपालिका १३ स्थित जिल्ला खेलकुद विकास समिति धनुषाको कवर्डहलमा आयोजन भएको साग खेल उदघाटनको क्रममा आयोजकले छाडेको पटाका खेलाउँदा विस्फोट भएर १० वर्षीय बालक आलोकको ज्यान गएको थियो।

घटनाकै बेला नेपाल खेलकुद परिषदले क्षतिपूर्तिबापत मृतक बालकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका एक सदस्यलाई जागिर दिने प्रतिवद्धता गरेको थियो। तर, घटनाको तीन महिना बित्दासमेत आफूहरुले पाउने भनेको १० लाख नभएको आलोकका बुबा शोभितले गुनासो गरे। खेलकुद परिषदले गएको फागुन १ गतेबाट शोभितलाई जिल्ला खेलकुद विकास समिति धुनषाको कवर्ड हलमा कार्यालय सहयोगीमा करार जागिर उपलब्ध गराएको छ।

‘क्षतिपूर्ति १० लाख रुपैयाँ दिने भनेको थियो। खेलकुद परिषद्ले तत्काल ५ लाख उपलब्ध गराउने र पछि सरकारले थप ५ लाख दिने भनिरहेको छ। तर एक सुक्को पाएका छैनौँ’, शोभितले भने, ‘खातामा रकम आउँछ आउँछ भन्छन्, तर कुनै अतोपतो छैन। सीडीओ साहब कहाँ पटक–पटक पुगेर गुनासो गरे। उहाँले पनि चाँडै आइपुग्छ मात्रै भन्नुहुन्छ।’

खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले मृतकका परिवारको क्षतिपूर्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच लाख रुपैयाँ पास गरिसकेको र केही दिनभित्रै आइपुग्ने बताए। उनले भने, ‘तत्काल बालकका बुबालाई करारमा कार्यालय सहयोगीको जागिर दिएको छ। खेलकुद परिषदले थप पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन उपाय गरिरहको छ। त्यो पनि चाँडै उपलब्ध गराउने हामीलाई जानकारी आएको छ।’

विदेश उड्ने तयारी हुँदै गर्दा छोराको मृत्यु, शोक र ऋणको तनावमा परिवार
ज्यालादारीमा पेन्टरको काम गर्दै आएका शोभित राउतको आर्थिक अवस्था कमजोर रहेको छ। शोभितले १२ वर्षीया छोरी अर्चना र १० वर्षीय छोरा आलोक लेखपढ गराउने सपना बुनेर विदेश जाने योजना बनाए । राम्रो कमाइ हुन्छ भनेर अजाद भिषामा कुबेत उड्न उनले ऋण काढेर एजेन्टलाई ५ लाख रुपैयाँ दिएका थिए।

कुबेत उड्ने तरखरमै रहेको बेला आलोकको सागको उद्घटनमा छाडेको फटाका खेलाउने क्रममा मृत्यु भयो। छोराको मृत्युपछि शोभित विक्षिप्त भए। विदेश उड्न १० दिन मात्रै बाँकी रहेका बेला छोरा गुमाए।

छिमेकीले, ‘अब कसको लागि कमाउन जान्छौं, एउटा छोरी छ, उसलाई घरमै बसेर हेरचाह गर, यतै कमाएर पढाऊ’ भन्न थाले। त्यसपछि आफूले छिमेकीको कुरालाई मध्यनजर गर्दै शोकमै भएको बेला विदेश जाने योजना त्यागेको गरेको उनको भनाइ छ।

छोरो गुमाएको शोकमा त छँदैछ, कुबेत उड्न ऋण लिएर दिएको ५ लाख रुपैयाँ एजेन्टले फिर्ता नगर्दा शोभित झनै पिरोलिएका छन्। कमसे कम क्षतिपुर्ति रकम तत्काल उपलब्ध भएको भए त्यसैबाट लिएको ऋण पुरेर केही तनाव टल्ने आशामा शोभित छन्।

‘विदेश उड्न एजेन्टलाई ऋण लिएर दिएको ५ लाख रुपैयाँ फिर्ता गरेको छैन। नत यता क्षतिपूर्तिको रकम पाउन सकेको छु। छोराको मृत्युपछि शोक र ऋणको तनावमा हाम्रो जिन्दगी बित्दैछ।अहिले त समाजले पनि सहयोग गर्न छोडिसकेको छ। कार्यालय सहयोगीको जागिर पनि भर्खरै पाए। कसरी घर कसरी चलाउनु, कहाँबाट ऋण र व्याज तिर्नु?’, चिन्ता व्यक्त गर्दै शोभितले भने।

स्थानीय रतनसागर पशुपति शिक्षा मन्दिर बोर्डिंग स्कुलमा कक्षा ३ मा अध्ययनरत्त बालक आलोकको मृत्यु भएपछि शोभितका परिवारमा अहिले उनकी श्रीमती निर्मला र छोरी अर्चनासहित तीनजना मात्र छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .