कोरोना भाइरस (कोभिड –१९) को आशंकामा अस्पताल भर्ना भएका एक नेपाली अस्पतालको झ्यालबाट भागेका छन्।
कोरियाबाट आएका सुनसरी घर भएका एक युवा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए।
उनी बुधबार राति ८ बजे नै झ्यालबाट हाम फालेर भागेको अस्पताल स्रोतले जनाएको छ।
उनी अहिलेसम्म नफर्केका कारण प्रहरी नै लगाएर उनको खोजी भइरहेको अस्पतालले जनाएको छ।
महानगरीय प्रहरी कार्यालयका एसएसपी किरण बज्राचार्यले अस्पतालबाट भागेका ती युवाको खोजी भइरहेको बताए।
संक्रमणको आशंकामा अस्पतालमा अहिले कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली, भारतबाट आएका एक जना फ्रेन्च नागरिक भर्ना भएका छन्। बिहीबार उनीहरुको कोरोनाको परीक्षण गराइने भएको छ।
अस्पतालमा ४ जना शंकास्पद बिरामी भर्ना भएको अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले जानकारी दिए।
प्रतिक्रिया