ad ad

समाज


बाढीपहिरोबाट बढी प्रभावित काठमाडौँसहित यी ८ जिल्लामा खटिए कार्यदल संयोजक

बाढीपहिरोबाट बढी प्रभावित काठमाडौँसहित यी ८ जिल्लामा खटिए कार्यदल संयोजक

ललितपुर


नेपालखबर
असोज १६, २०८१ बुधबार १३:५८, काठमाडौँ

गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहतका लागि थप समन्वय र सहजीकरण गर्न गठित कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन्।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव बुधबार खटिएको जानकारी दिए। 

बाढीपहिरोबाट बढी प्रभावित जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा उनीहरूलाई खटाइएको हो। 

गृह मन्त्रालयका अनुसार काठमाडौँमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपालञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको हो। 

कार्यदललाई अति भारी वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतमा समन्वय र सहजीकरण गर्ने, बाढीपहिरोबाट भएका मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मतसम्भार गरी यातायात सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग  समन्वय गर्ने र विपद्पीडित नागरिकको सुरक्षित बसोबास तथा उनीहरूलाई राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश दिइएको छ। 

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि छन्। कार्यदललाई असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न भनिएको छ।

साथै कार्यदलले दैनिक रूपमा पनि जिल्लाको विपद्को वस्तुस्थितिबारे केन्द्रमा जानकारीसमेत गराउन पर्नेछ।

त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि १० जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ।

प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकामा खटाइएको जानकारी दिए।

‘हामीले १० जना अधिकृतलाई बाढीपहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ, अधिकारीले भने, “ उहाँहरूले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाबारे केन्द्रमा जानकारी गराउनेलगायतका काम गर्नुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .