ad ad

समाज


कोरोना संक्रमण भएका देशमा श्रमिक रोक्न डरायो सरकार, २२ दिनमै गए ४० हजार

कोरोना संक्रमण भएका देशमा श्रमिक रोक्न डरायो सरकार, २२ दिनमै गए ४० हजार

उजिर कार्की
फागुन २७, २०७६ मंगलबार १४:१४,

कोरोना संक्रमणलाई रोक्ने प्रयासमा विभिन्न मुलुकले संक्रमित देशमा आफ्ना नागरिकलाई जान रोक लगाइरहेका छन्। प्रभावित मुलुकका नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न पनि दिएका छैनन्।

तर, नेपालले भने कोराना संक्रमण फैलिएका मुलुकमा धमाधम श्रमिक पठाइरहेको छ। फागुन महिनामा मात्रै ४० हजार नेपाली खाडीलगायत मुलुकमा गएका छन्।

सोमबार कतारले नेपाली श्रमिकमाथि अस्थायी प्रतिबन्ध लगायो। यससँगै कतारका लागि श्रम स्वीकृति बन्द गर्न नेपाल बाध्य भयो। आफ्नो मुलुकमा १८ जना संक्रमित भएपछि कतारले जोखिमपूर्ण मानिएका १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको हो।

कतारले रोक लगाएका अन्य देशमा कोरोना संक्रमण भएपनि नेपालमा भने छैनन्। तर कतार पुग्ने नेपालीको संख्या फागुनमा मात्रै ८ हजार नाघिसकेको छ।

२ हजार ७ सय ५९ जना म्यानपावर मार्फत, २ सय ६५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर र ४ हजार ६ सय ५४ जना बिदामा आएका श्रमिक फागुनमा कतार पुगेका हुन्।

कतारस्थित नेपाली दूतावास भने त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे मौन छ। नेपालीहरुलाई सचेत रहन आग्रह गर्दै विज्ञप्ति जारी गरेको दूतावासले नेपालीहरुबारे केही बताएको छैन।

१ सय १७ जना कोरोना संक्रमित रहेको मलेसियामा सबैभन्दा ठूलो संख्यामा नेपाली पुगेका छन्।

फागुन महिनामा ६ हजार ५ सय ५२ जना नेपाली रोजगारीका लागि मलेसिया उडेका छन्। बिदामा आएर फर्किनेको संख्या र व्यक्तिगत रुपमा जानेको संख्या गरी ८ हजार ७ सय २५ जना नेपाली फागुनमा त्यहाँ पुगेका छन्।

त्यस्तै, दुई नेपालीसहित ७४ जनामा संक्रमण देखिएको यूएईमा ५ हजार ४ सय २० जना नयाँ श्रमिक पुगेका छन्। साउदीमा पनि ४ हजार ७ सय ८३ जना पुगेका छन्।

फागुन महिनामा २२ गतेसम्म म्यानपावर कम्पनीले १९ देशमा २१ हजार ७ सय ३१ जना श्रमिक पठाएका छन्। विदामा फर्किएका र व्यक्तिगत तवरले जानेको संख्यासहित यो महिना ४० हजार ९ सय ९६ जना विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १७ हजार ३ सय १३ छ। कोरोना भाइरसको संक्रमणसँगै देशबाहिर सकेसम्म नजान आग्रह गरेको सरकारले ठोस निर्णय भने गरेको छैन।

त्यसअघि माघ महिनामा म्यानपावर कम्पनी मार्फत ८२ देशमा २५ हजार १ सय ७१ जना श्रमिक पुगेका थिए।

हाल विश्वभर झण्डै एक लाख १६ हजार ५९ मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। ज्यान गुमाउनेको संख्या ४ हजार ८९ पुगेको छ।

श्रममन्त्री भन्छन्ः हामीले श्रमिक रोके गन्तव्य मुलुक रिसाउँछ
कोरोना संक्रमण फैलिएका देशमा आफ्नो नागरिकलाई रोक्न पनि सरकार डराएको छ। बरु तिनै मुलुकले नेपालीलाई प्रतिबन्ध लगाउने प्रतीक्षामा बसेको छ श्रम मन्त्रालय।

सर्वोच्च अदालतले अघिल्लो साताअघि कोरोना संक्रमण फैलिन नदिन आवश्यक अन्तर्राष्ट्रिय उठान समेत रोक्न आदेश दिएको थियो।

त्यसको भोलिपल्टै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले प्रभावित देशमा श्रम स्वीकृति बन्द गरिने घोषणा गरे।

तर, वैदेशिक रोजगार व्यवसायीले उनलाई चर्को दबाब दिएपछि सोही दिन साँझ मन्त्रीले बोली फेरे। उनले तत्कालका लागि श्रम स्वीकृति बन्द नगरिने बताए। आवश्यक परे जुनसुकै बेला निर्णय गरिने बताएका मन्त्री यादवले गन्तव्य मुलुकमा प्रकोप फैलिँदै जाँदा यतिबेलासम्म श्रमिक रोक्न आवश्यक देखेका छैनन्।

कोरोना भाइरसका कारण कतारभन्दा यूएई बढी प्रभावित भएको छ। त्यहाँका लागि पनि मन्त्रालयले निर्णय लिन सकेको छैन।

कुनै पनि मुलुकमा श्रमिक रोक्ने तयारी नभएको उनले बताए।

‘हामीले रोके गन्तव्य मुलुक रिसाउँछन्। कतारमा त उतैबाट बन्द गरेकाले श्रम स्वीकृति दिनुको अर्थ भएन। त्यसैले रोकेका हौँ,’ मन्त्री यादवले नेपालखबरसँग भने, ‘अन्य देशबारे त्यस्तो कुनै निर्णय गर्ने तयारी छैन।’

तर, श्रम अधिकारका क्षेत्रमा क्रियाशील संस्था इकोएडम रिसर्च कन्सल्टिङका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि तत्काल कदम चाल्नुपर्ने बताउँछन्।

‘अति प्रभावित देशमा सरकारले तत्काल श्रमिक रोक्नुपर्छ। ती देशको निर्णय पर्खेर बस्नु हुँदैन,’ उनले भने।

 वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले भने नेपालले एकतर्फी रुपमा श्रमिक रोक्दा गन्तव्य देशमा गलत सन्देश जाने दाबी गरे।

म्यानपावर व्यवसायीको दबाबमा मन्त्री
फागुन २० गते बिहान श्रममन्त्री यादवले श्रम स्वीकृति बन्द गरिने घोषणा गरेका थिए। तर, कार्यालय खुल्ने समयसम्म उनीमाथि म्यानपावर व्यवसायीको ठूलो दबाब आइसकेको थियो। कतिसम्म भने मन्त्रालयमा पुग्दा उनको बोली फेरिइसकेको थियो।

उनी मन्त्रालय पुग्नेबित्तिकै वैदेशिक रोजगार व्यवसायीको टोली मन्त्रीलाई भेट्न आइपुगेको थियो। उनीहरुले मन्त्री यादवलाई श्रम स्वीकृति रोकिए संसारभर नेपालको छवि बिग्रिने, गन्तव्य मुलुकमा नराम्रो सन्देश जाने भन्दै मन्त्रीलाई तर्साए।

व्यवसाय धरापमा पारिदिएको भन्दै म्यानपावर व्यवसायीले यसअघिका मन्त्री गोकर्ण विष्टलाई फेर्न चर्को लबिङ गरेका थिए। मन्त्रिपरिषदमा हेरफेर भएर आफू फालिएपछि विष्टले पनि राम्रो काम गर्दा हट्नुपरेको बताएका थिए। त्यसपछि मन्त्री बनेका यादव भने म्यानपावर व्यवसायीहरुकै सल्लाहमा काम गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .