ad ad

समाज


सानेपा हत्याकाण्ड: मुनाका श्रीमान् अर्जुन कार्कीले दिए यस्तो बयान

सानेपा हत्याकाण्ड: मुनाका श्रीमान् अर्जुन कार्कीले दिए यस्तो बयान

सागर न्यौपाने
फागुन २९, २०७६ बिहिबार १५:३४,

सानेपामा मुना कार्कीको हत्या र कामदार विजय चौधरीको ‘आत्महत्या’ को एक महिना बितिसक्दा पनि प्रहरीले घटनाको कारण पत्ता लगाउन सकेको छैन।

मुनाका पति अर्जुन कार्कीसँग प्रहरीले बयान लिएपनि घटनाको मनसाय खुल्ने कुनै विषय फेला नपरेको प्रहरीको भनाइ छ।

गत माघ २७ गते मुना र विजय सानेपास्थित घरमै मृत फेला परेका थिए। माघ २८ मा अर्जुनले महानगरीय प्रहरी परिसर जावलाखेल पुगेर किटानी जाहेरी दिएका थिए।

घटनाको २१ दिनपछि अर्जुनसँग बयान लिइएको परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

‘उहाँसँग हाम्रो टीमले अन्तर्वार्ता लिएको छ। उहाँले पनि घटना घटाउनुपर्ने त्यस्तो शंकास्पद लागेको विषय केही भन्नुभएको छैन,’ एसएसपी राईले भने, ‘विस्तृतमा अन्तर्वार्ता अध्ययन भइरहेको छ।’

कार्कीले विजय चौधरी र आफ्नो परिवारमा कुनै दुस्मनी नभएको प्रहरीसमक्ष बताएका छन्।

६ वर्षदेखि आफ्नो घरमा घरेलु कामदार बसेका विजयले आफूसँग खासै कुरा नगर्ने गरेको अर्जुनले बताएका छन्।

‘मसँग खासै कुरा गर्दैनथ्यो, काम अह्राएपछि नजिकै आएर उभिन्थ्यो,’ एसएसपी राईका अनुसार अर्जुनले बयानमा भनेका छन्, ‘मुनाले नै विजयलाई अह्राउने, काम लगाउने गर्थिन्।’

विजयले घटना घटाउनैपर्ने खालको कुनै व्यवहार नदेखाएको अर्जुनको भनाइ छ। विजयले मागेको बेला पैसा दिने गरेको पनि उनले बताएका छन्।

‘कहिलेकाहीँ काम अह्राउँदा छिटो गरिनस् भनेर सामान्य गाली गरेको हुनसक्छ,’ एसएसपी राईले अर्जुनको भनाई उधृत गरे, ‘हत्या गर्ने निष्कर्षमा ऊ किन पुग्यो होला? मागेको बेला पैसा दिएकै थियौं।’

प्रहरीको अर्को असफलता?
महानगरीय प्रहरी परिसर जावालाखेल र अपराध महाशाखाको टोलीले संयुक्त रुपमा घटनाको अनुसन्धान थालेको ३२ दिन भएको छ। तर, अझैसम्म ‘घटना किन घटाइयो’ भन्ने स्पष्ट कारण पत्ता लगाउन प्रहरी असफल भएको छ।

यसले नेपाल प्रहरीको अनुसन्धान क्षमतामा नै प्रश्न उठ्न थालिसकेको छ। तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु भने आफूहरु कारण पत्ता लाग्नेमा विश्वस्त रहेको दाबी गर्छन्।

‘हामी प्रमाणहरुलाई मसिनोगरी अध्ययन गरिरहेका छौँ,’ एसएसपी राईले भने, ‘हामीलाई समयको दबाब छैन, विस्तारै प्रमाण संकलन गर्दै छौँ।’

अनुसन्धान टोलीमा रहेका अर्का प्रहरी अधिकृतका अनुसार मुना हत्याकाण्डका बारेमा प्रहरीले केही ‘क्लु’ पनि फेला पारेको छ।

तर, अहिले नै त्यसलाई सार्वजनिक गर्दा प्रमाणहरु नष्ट हुने खतरा देखेर त्यसबारे केही नबोलेको उनले बताए।

प्रहरीले मुना र विजयले प्रयोग गर्ने मोबाइलको सिमकार्डको पनि अध्ययन गरिसकेको छ।

मोबाइलको डिजिटल फरेन्सिक रिपोर्टमा अपेक्षा गरे अनुसार घटनाबारे जानकारी दिने विषय फेला नपरेपछि ‘कल डिटेल्स रिपोर्ट’ अध्ययन गरिएको थियो।

अपराध महाशाखाको टोलीले सिमको अनुसन्धान गरेर महानगरीय प्रहरी परिसर जावालाखेललाई बुझाएको अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए।

‘हामीले दुईवटै सेवाप्रदायकसँग सिममा रहेको ‘कन्टेन्ट’ मगाएर हे¥यौं,’ उनले भने, ‘त्यसलाई परिसर पठाएका छौं, बाँकी अनुसन्धान उतैबाट हुन्छ।’

मोबाइलको डिजिटल फरेन्सिक रिपोर्ट, कल डिटेल्स रिपोर्टलगायत अध्ययन गर्दा मुना र विजयको सम्बन्धमा कुनै शंकास्पद पक्ष फेला नपरेको एसएसपी राईले बताए।

‘हामीले फरेन्सिक रिपोर्ट, मोबाइल कल डिटेल्स हेर्दा त्यस्तो आशंका जन्मिने खालको कुनै गतिविधि फेला पारेनौं,’ उनले भने, ‘दुवैका बीचमा घरबेटी र कामदारको दूरी देखियो।’

घटना भएको दिन मुना र अर्जुन कार्कीबीच फोनमा कुराकानी भएको देखिएपनि व्यक्तिगत गोपनीयताबारे बोल्न नमिल्ने परिसरका अर्का प्रहरी अधिकृतले बताए।

‘श्रीमान श्रीमतीबीच कुराकानी हुनु स्वभाविक हो, कहाँ आयौ, कता पुग्यौ भनेर जानकारी लिइन्छ नै, व्यक्तिको निजी मामिलामा धेरै बोल्न मिल्दैन।’

विज्ञ भन्छन्ः सीसीटीभीलाई मात्र सम्पूर्ण प्रमाण मान्नु भएन
प्रहरीले अहिलेसम्म अर्जुन–मुनाको घरबाट प्राप्त सीसीटीभी फुटेजलाई प्रमुख प्रमाण मानेर अनुसन्धान अघि बढाइरहेको छ।

सीसीसिटी फुटेजमा भान्सामा काम गर्न लागेकी मुनालाई विजय चौधरीले हिर्काएको र लडाएको देखिन्छ। यसैका आधारमा विजयले नै मुनाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो।

तर, पूरा भिडियो नभएकाले यसलाई सम्पूर्ण प्रमाण मान्न नहुने पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्।

‘भिडियो पूरा छैन, एउटा पार्ट मात्रै देखाएको छ, त्यसैलाई मात्र आधार मान्नु भएन,’ उनले नेपालखबरसँग भने, ‘घटनाको मनसाय प्रष्ट पार्न सबै स्रोतहरु प्रयोग गरेर अनुसन्धान गर्नुपर्छ।’

घटनालाई रहस्यमा रहन नदिन प्रमाणित तथ्यहरुलाई राखेर सबै क्षेत्रका विज्ञहरुसँग छलफल गर्न मल्लले सुझाव दिए।

‘कहिलेकाहीँ सानो सानो कुरामा पनि मान्छेले तत्काल रियाक्ट गर्नसक्छ,’ मल्लले भने, ‘त्यसका लागि पनि थुप्रै मन दुख्ने व्यवहार भएको हुनुपर्छ।’

सीसीटीभी फुटेजमा देखिएको दृश्यमा भने विजय योजना बनाएरै घटना घटाउन लागिपरेजस्तो देखिएको एसएसपी राईको भनाइ छ।

‘विजय घटना घटाउने प्लानमा रहेको सिसीटिभी फुटेजमा प्रष्टै देखिन्छ,’ उनले भने, ‘उसले मुनाको गतिविधि दुईतीन मिनेट वाच गरेको छ, किचेनमा मुुनाले काम गर्न थालेपछि ऊ विशेष सजग भएर चप्पल फुकालेर भित्र प्रवेश गरी यताउता गरिहन्छ, मुनाले पनि केही अह्राएको जस्तो देखिन्छ तर, केहीबेरमै मुनाको टाउकोमा एउटा वस्तुले विजयले प्रहार गर्छ र उनी ढल्छिन्।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .