ad ad

समाज


भारतको पूर्णागिरी मेलाले नेपालमा कोरोना भित्रिने खतरा

भारतको पूर्णागिरी मेलाले नेपालमा कोरोना भित्रिने खतरा

गोकुल जोशी
चैत २, २०७६ आइतबार १५:३२,

दुई तीन जना मानिस हातमा ज्वरो नाप्ने डिजिटल मेसिन लिएर बसेका छन्। कोही आयो भने ती मानिस निधार नजिक मेसिन पुर्‍याउँछन्। एक जनाको निधारमा दुई/चार सेकेन्ड जति मेसिन राखेपछि दौडेर अर्कोमा पुग्छन्। ती हुन स्वास्थ्यकर्मी।

केही स्वास्थ्यकर्मीले भ्याएसम्म ज्वरो परीक्षण गर्छन् भने केही स्वास्थ्यकर्मी ‘रुघाखोकी लागेको छ? कस्तो छ?’ लगायतका प्रश्न सोध्छन् अनि कोही भने ‘नेपाली पढ्न आउँछ? यो पढ्नुहोस्’ भनेर पर्चा पम्पलेट बाँडिरहेका छन्।

नेपालको पश्चिमी सिमानाका गड्डाचौकी तथा ब्रम्हदेव भएर भारतको पूर्णागिरी दर्शन गर्न ठुलो संख्यामा नेपालीहरु जाने गर्दछन्। पूर्णागिरी दर्शन गरेर ब्रम्हदेव तथा महेन्द्रनगरमा रहेको सिद्धबाबा मन्दिरको दर्शन गर्न पनि भारतीयहरु उस्तै ठुलो संख्यामा नेपाल भित्रिन्छन्। तीन महिना भन्दा बढी समयसम्म लाग्ने पूर्णागिरी मेला र सिद्धनाथको दर्शन गर्न आउजाउ गर्ने हजारौं भक्तजनको ज्वरो परीक्षण गर्न सीमामा थोरै संख्यामा नेपाली स्वास्थ्यकर्मीहरु खटिएका छन्।

नेपालमा कोरोना भाइरस नभित्रियोस् भनेर नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीमा एक साता यता आवत जावत गर्नेहरुको ज्वरो नाप्न थालिएको हो। गड्डाचौकी नाका भएर भित्रिने नेपाली तथा भारतीय नागरिकहरुकाे ज्वरो नाप्न स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ। सुदूरपश्चिम प्रदेश र भीमदत्त नगरपालिकाले गत फागुन २३ गते हेल्थ डेस्क स्थापना गरेको हो। त्यहाँ १० जना स्वास्थ्यकर्मी खटाइएको छ। भारतीय नागरिक वा भारत पुगेर आएका नेपाली नागरिकको पनि स्क्रिनिङ गर्न थालिएको छ।

mela2

दुई मेसिनको भरमा गड्डाचौकी नाका
भारतमा कोरोना भाइरसकै कारण दुईजनाको मृत्यु भएपछि कञ्चनपुरका नाकामा सतर्कता अपनाइएको छ। तर उपकरण र जनशक्ति अभावमा नाका भएर भित्रिने सबैमा स्क्रिनिङ गर्न नसकिएको स्वास्थ्यकर्मीले बताएका छन्। गड्डाचौकी नाका भएर दैनिक कति जना भित्रिन्छन् भने एकिन तथ्याङ्क छैन। गड्डाचौकी नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा दुई वटा माइक्रोलाइफ थर्मोमिटर मात्रै छन्। उपकरण अभावमा सबैलाई स्क्रिनिङ गर्न समस्या हुने गरेको हेल्थ डेस्ककी अनमी निर्मला जोशीले बताइन्।

पूर्णागिरी मेलाले गर्दा बिहान भारतीय नागरिकहरुको आवातजावत बढि हुने भएकाले प्रर्याप्त उपकरण नहुँदा स्क्रिनिङबाट कतिपय मानिस छुट्ने गरेको उनको भनाइ छ।

‘पूर्णागिरी मेलाले गर्दा बिहान र बेलुका नाकामा मानिसको निकै चाप हुन्छ, हामीसँग दुईवटा मेसिन मात्रै छन्। सबैलाइ स्क्रिनिङ गर्न सकिदैन,’ अनमी जोशीले भनिन्, ‘हामीले माग गरेका छौँ, केही दिनमै आउँछ।’

उनका अनुसार स्क्रिनिङ गर्दा ज्वरो १०० डिग्री भन्दा बढि भयो भने केही समय बिश्राम पछि फेरि स्क्रिनिङ गरिन्छ। त्यसमा पनि सुधार नभए अस्पताल पुर्‍याउने गरिएको उनले बताइन्।

mela3

पूर्णागिरी मेलाले कोरोनोको खतरा
ब्रह्मदेव नाका पनि नेपाल भित्रिने एक मुख्य नाका हो। यो नाकाबाट कोरोना संक्रमण नेपाल भित्रिने खतरा बढेको छ। भारतको उत्तराखण्ड टनकपुरस्थित पूर्णागिरी धाममा धार्मिक मेला लागेको छ। सो मेलाको दर्शन गरे पछि ब्रह्मदेव तथा महेन्द्रनगरमा रहेको सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरु आउने गर्दछन्। यस अवस्थामा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रह्मदेव नाकामा कुनै सतर्कता अपनाइएको छैन।

त्यसले कोरोनाको संक्रमण यहाँ पनि देखिने खतरा बढेको भन्दै स्थानीय चिन्तित बनेका छन्। ब्रह्मदेव नाका अहिलेसम्म कुनै व्यवस्थित हेल्थ डेस्क नराखेको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल चन्दले बताए। ‘हेल्थ डेस्क राख्ने कुरा भएको छ, हामीले आफ्नो क्षेत्रबाट गर्न सक्ने सबै कुरा गर्दैछौँ। ४ जना स्वास्थ्यकर्मी त्यहाँ खटाइएका छन्।’ नगर प्रवक्ता चन्दले भने, ‘औषधि दिइएको छ।’

हेल्थ डेस्कका लागि ठाउँ अभावका कारण यो प्रक्रिया केही ढिला भएको उनले बताए। पश्चिमी सीमा नाकामा फितलो व्यवस्थापनले भारतबाट कोरोना संक्रमण नेपाल भित्रिने खतरा छ। भारतमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। फागु पूर्णिमादेखि असार पूर्णिमासम्म चल्ने पूर्णागिरी मेलाको दर्शन गरेपछि सिद्धबाबा मन्दिरको दर्शन गरे मनोकाँक्षा पुरा हुने धार्मिक विश्वास रहि आएको छ। त्यसैले भारतको उतराखण्ड र उत्तरप्रदेश लगायत स्थानका दर्शनार्थीहरुले पूर्णागिरी मेला दर्शन पछि ब्रह्मदेव र महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिर पुग्ने गरेका छन्।

भारतको टनकपुर हुँदै नेपाल प्रवेश गर्ने अधिकांश तिर्थयात्रुले ब्रह्मदेव मन्दिर तथा महेन्द्रनगरको सिद्धबाबा मन्दिरको दर्शन गर्ने गर्छन्। मेला भर्नका लागि दैनिक करिब २०/२५ हजार दर्शनार्थी आउने गरेको ब्रह्मदेव प्रहरी चौकीका सई जीवन गुरुङले बताए। हजारौँको संख्यामा भारतीय दर्शनार्थी भित्रिन थालेको अवस्थामा पनि त्यस नाकामा सतर्कता अपनाइएको छैन। शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गड्डाचौकी र ब्रह्मदेव नाकाको अनुगमन गर्दै तत्काल उपकरण थप्ने र हेल्थ डेस्कलाई व्यवस्थित बनाइने प्रतिवद्धता जनाएका थिए।

mela5

भित्रिनेको संख्या बढ्दो, एक सातामा १८ हजार बढीको चेकजाँच
पश्चिमी नाका गड्डाचौकी भएर नेपाल भित्रिनेहरुको संख्या पछिल्लो समय दिन प्रतिदिन बढ्दै गएको छ। यो नाकासँगै जिल्लाको ब्रह्मदेव नाकाबाट पनि मानिसको आवातजावत बाक्लो छ। यद्यपी गड्डाचौकी नाका भएर कति मानिस भित्रिए भन्ने एकिन तथ्याङ्क कुनै पनि निकायसँग छैन। दैनिक करिब पाँच/छ हजार मानिस गड्डाचौकी नाका भएर भित्रिने गरेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई नरेन्द्र चन्दले बताए।

गड्डाचौकी नाकामा स्थापना भएको हेल्थ डेस्कमा हालसम्म १८ हजार ३ सय ९६ जनाको कोरोना स्क्रिनिङ गरिएको अनमी जोशीले बताइन्। तथ्याङक अनुसार फागुन २३ गते २ सय २७ जना, २४ गते १ हजार ६ सय ९६ जना, २५ गते १ हजार १ सय २० जना, २६ गते १ हजार ४ सय ९५ जना, २७ गते ७ सय २५ जना, २८ गते १ हजार ४ सय १९ जना, २९ गते १ हजार ५ सय ६५ जना, ३० गते ५ हजार ४ सय ७१ जना र चैत १ गते ४ हजार ६ सय ७८ जनाको कोरोना स्क्रिनिङ भएको छ। जसमा सबैको ज्वरो सामान्य रहेको छ। गड्डाचौकी नाका गएर भित्रिनेहरुको मात्रै कोरोना भाइरस स्क्रिनिङ गरिन्छ। यो तथ्याङ्कबाट पनि गड्डाचौकी भएर दैनिक हजारौँको संख्यामा भित्रिने गरेको प्रष्ट हुन्छ। यी त कोरोना भाइरस स्क्रिनिङ गरिएकाहरुमात्र हुन, अझै कति त स्क्रिनिङमा छुट्ने समेत गरेका छन्।

mela6

दोधारा–चाँदनीमा ३ हेल्थ डेस्क, प्रत्येकमा ३/३ मेसिन
माहाकाली नगरपालिकाले नगरभित्र तीन वटा हेल्थ डेस्क राखेको छ। महाकाली नगरपालिका–३ को भारतीय सीमासँग जोडिएको नाका जोगबुढा नदी पारी, ७ नम्बर वडाको कञ्चभोज र दोधारा–चाँदनी झोलुङे पुलमा हेल्थ डेस्क स्थापना गरिएको नगरपालिकाकी उप–प्रमुख चिनी गिरीले बताइन्। उनका अनुसार प्रत्येक हेल्थ डेस्कमा ज्वरो नाप्ने तीन/तीन वटा मेसिन छन्। महाकाली नगरपालिकामा मास्क अनिवार्य गरिएको छ। नगर भित्रिने प्रमुख नाकामा हेल्थ डेस्क स्थापना भए पछि सो नाका प्रयोग गर्नुको साटो अरु नाका प्रयोग गर्ने गरेकाले अन्य नाकामा पनि डेस्क स्थापना गर्ने उपप्रमुख गिरी बताउँछिन्।

बेलौरीमा एक हेल्थ डेस्क, एक मेसिन
कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित भारतसँग जोडिएको नगरपालिका हो, बेलौरी। नगरपालिकाको प्रमुख नाका बैशाखा भन्सारमा एक हेल्थ डेस्क राखिएको छ। त्यहाँ एक जना स्वास्थ्यकर्मी खटाइएको बेलौरी नगरपालिकाका प्रवक्ता बिनोद नेपालीले बताए। हेल्थ डेस्क स्थापना पछि सो नाका भएर आवातजावत गर्नेको संख्यामा कमी आएको उनले बताए। ‘कोरोनाको त्रासले आवातजावतमा कमी आएको छ, भारतीय शहरबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण गरिरहेका छौँ।’ नगर प्रवक्ता नेपालीले भने। उनका अनुसार जोखिम रहेका नगरपालिकाका अन्य तीन नाकामा पनि केही दिनमा हेल्थ डेस्क स्थापना गरिन लागेको छ।

नेपाल–भारत मैत्री बस सेवा बन्द
महेन्द्रनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ। भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि आइतवारदेखि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताए। महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ। महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .