ad ad

समाज


बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण

बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण

नेपालखबर
चैत ९, २०७६ आइतबार ७:४८,

विश्वका १८३ देशमा फैलिएको कोराना भाइरस (कोभिड–१९) बाट तीन नेपाली संक्रमित भएका छन्। वैदेशिक रोजगारीका लागि बहराइन पुगेका नेपालीमा संक्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

‘बहराइन सरकारले तीन जना नेपालीमा कोरोना संक्रमण भएको र उनीहरुको उपचार भइरहेको जानकारी दिएको छ’, बहराइनस्थित नेपाली दूतावास स्रोतले नेपालखबरसँग भन्यो, ‘हामी विस्तृतमा सोधखोज गरिरहेका छौं। केही समयपछि विस्तृत विवरण आउनेछ।’

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उनीहरुको अवस्थाबारे सोधखोज गरिरहेको जानकारी दिए। नेपालखबरसँग उनले भने, ‘संक्रमित तीनै जना नेपालीको अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्थाबारे विस्तृतमा सोधखोज गर्दैछौं।’

बहरानमा हाल करिब ३५ हजार नेपाली कार्यरत छन्। उनीहरु अधिकांश वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका हुन्।

बहराइन जान भनेर हिँडेका ३० नेपालीलाई यसअघि युएईले नेपाल फर्काइदिएको थियो। युएईमा दुई जना नेपालीलाई कोरोना संक्रमण देखिएको केही समयपछि उनीहरु फर्काइएका थिए। यसअघि अष्ट्रेलिया र पोर्चुगलमा पनि एक–एक जना नेपालीलाई कोरोना संक्रमण देखिएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार बहराइनमा हालसम्म ३०१ जना कोरोना भाइरस संक्रमित देखिएका छन्। संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .