ad ad

समाज


कोरोना संक्रमित भेटिएपछि काठमाडौं दिउँसै सुनसान, अस्पतालमा ओपीडी सेवा बन्द

कोरोना संक्रमित भेटिएपछि काठमाडौं दिउँसै सुनसान, अस्पतालमा ओपीडी सेवा बन्द

सागर न्यौपाने
चैत १०, २०७६ सोमबार १३:३८,

मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी एकजना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको खुलासा गरे।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत ती महिला फ्रान्स कतार हुँदै नेपाल आएको मन्त्रीले बताए।

एक महिनाअघि पनि एकजना नेपाली युवामा कोरोनाको संक्रमण देखिए पनि उनी निको भइसकेका छन्। त्यसपछि नेपालमा कोरोना संक्रमित भेटिएको यो दोस्रो घट्ना हो।

मन्त्री ढकालले पत्रकार सम्मेलनमा फ्रान्सबाट आएकी ती १९ वर्षीय विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टि जानकारी दिएसँगै सो भाइरसको गुम्सिएको त्रासबाट उपत्यकावासी थप त्रसित भएका छन्। 

समाचार सार्वजनिक भएको केहि घण्टाभित्रै काठमाडौंमा पसल व्यवसाय गर्दै आएकाहरुले पसल बन्द गराइरहेका दृष्य देखिन्थ्यो।

नेपालखबरकर्मी दिउँसो साढे ४ बजे ललितपुर र काठमाडौंका केही ठाउँहरुको स्थलगत अवलोकन गर्दा सडकहरु थप सुनसान भएका थिए भने पसलहरु समेत बन्द गरिएको थियो।

बानेश्वर चोकबाट मध्यबानेश्वर तर्फ अघि बढ्दा त्यहाँ स्यानिटाइजर र औषधि किन्नेको लाईन देखिन्थ्यो।

त्यहि ठाउँको एक फार्मेसीमा २५÷३० जना मानिसहरु औषधि किनिरहेका थिए। तीमध्ये अधिकांशले स्यानिटाइजर किने।

‘मास्क त छैन’, फार्मेसीका कर्मचारीले ग्राहकलाई भनिरहेका थिए।

त्यहाँबाट केहि पर पुरानो बानेश्वर पुगियो।

चोकमा फाट्टफुट्ट गाडी चलेपनि मानिसको आवतजावत न्युन थियो।

बानेश्वर चोकबाट मैतिदेवी पुग्दा त्यहाँ थप मानिसहरु अत्तालिएका देखिए। ‘यहाँ त धेरैबेर बस्नु पनि डरमर्दो भयो’ मैतिदेवीका एक स्थानीयले उनले चिन्ता जनाए। ‘फ्रान्सबाट आएको त्यो मान्छेले गर्दा कतिजनालाई सारेको होला?’

market in corona 1

एक फार्मेसीका एक सञ्चालकले सरकारका गतिबिधिप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

सरकारले समयमा ‘लक डाउन’ नगरेका कारण यस्तो परिस्थिति आइपरेको उनको आरोप थियो।

‘सरकारकै कारण यो सबै भएको हो, कम्तीमा १५ दिनअघि सबैतिर लक डाउन गर्नुपथ्र्यो। अरु देशबाट नेपाल प्रवेश नै रोकिदिएको भए यस्तो हुँदैनथ्यो,’ उनले भने।

मैतिदेवी क्षेत्रमा आधा घण्टा विताउँदा त्यहाँ भेटिएका सबैले नेपालमा कोरोनाले पार्नसक्ने संभावित प्रभावबारे त्रास व्यक्त गरिरहेका थिए।

‘मैतिदेवीमा ठूलो बजार हुन्थ्यो। तर आज ३ नबज्दै बजार बन्द हुन थाले, अहिलेसम्म सबैजसो पसल बन्द भए, मानिस पनि बाहिर खासै निस्किएका छैनन्’, सो क्षेत्रमा ड्युटी गरिरहेका प्रहरी जवान बुद्धबहादुर दरैले नेपालखबरसँग भने।

‘मानिसले ज्यानको माया बल्ल महसुस गर्दैछ। कोरोनाको पुष्टि नभएको भए, यो ठाउँ यस्तो ठप्प हुँदैनथ्यो’, उनले थपे।

कोरोना संक्रमणको उच्च जोखिममा नेपाल छ। तर, सोमबार एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि आमजनता थप त्रसित भएका हुन्।

यसैबीच कोरोनाको संक्रमण फैलन नदिन काठमाडौंमा रहेका प्रमुख सरकारी र नीजि अस्पतालहरुले इमरजेन्सी बाहेकका नियमित सेवा (ओपीडी) बन्द गरेका छन्।

शिक्षण अस्पताल र सिभिल अस्पतालले ओपीडी सेवा बन्द गरेर अत्यावश्यक बिरामीलाई मात्रै उपचार गराउन थालेका छन् भने वीर अस्पतालले ज्वरो जाँच क्लिनिक सञ्चालन गरेको छ। उपत्यकामा रहेका केही नीजि अस्पतालले पनि ओपीडी सेवा बन्द गरेका छन्।

विश्वमैं महामारीको रुप लिएको कोरोनाको संक्रमणबाट नेपालमा पनि थप एकजना बिरामी भेटिएपछि त्रास फैलिएको हो।

जुनसुकै परिस्थिति आउनसक्ने भन्दै तयारी रहनपर्ने भएकोले अस्पतालहरुले तत्काल ओपीडीमार्फत दिने सेवा बन्द गरेका हुन्।

Market in corona

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले एक हप्तादेखि इमेर्जेन्सी बाहेकका विरामीलाई अस्पताल नआउन भनेको अस्पतालका कार्यकारी प्रमुख प्राध्यापक प्रेम कृष्ण खड्काले जानकारी दिए।

‘हामीले एक हप्ताअघि देखि नै अस्पतालमा अति आवश्यक बाहेक नआउन भनेका छौं, अहिले भीड कम छ’, नेपालखबरसँग खड्गाले भने।

अहिले अस्पतालमा थोरै संख्यामा बिरामी आउने गरेको उनले बताए। ‘केही फलोअपका बिरामी आउनुहुन्छ। केही इमरजेन्सीमा बिरामी लिएर आउनुभएको छ। ओपीडी सेवा हामीले अहिले तत्कालका लागि रोकेका छौं,’ खड्गाले थपे।

नेपालकै जेठो अस्पताल वीरले ओपीडी सेवा स्थगित नगरेपनि त्यहाँ आउनेको संख्या भने कम भएको अस्पतालका सम्पर्क व्यक्ति डा. बिद्याननिधि पौडेलले जानकारी दिए।

‘ज्वरो क्लिनिक सुरु गरेकोले अहिलेसम्म ओपीडी सेवा बन्द गरेका छैनौं’, नेपालखबरसँग डा. पौडेलले भने, ‘आइसोलेसनका लागि बेड संख्या पनि बढाएर छुट्टै कक्ष निर्माण गर्ने तयारी तीव्र गतिमा भइरहेको छ।’

कोरोना संक्रमित राख्ने र उपचार गर्न वीर अस्पतालले तयारी गरेको छ।

ग्राण्डी अस्पतालले शनिबारदेखि ओपीडी सेवा बन्द गरेको छ। इमरजेन्सी भने चलिराखेको छ।

ग्राण्डी अस्पतालका महाप्रवन्धक विकासमान सिंहले ओपीडी सेवालाई तत्काल सञ्चालन नगरेको बताए।

ओपीडी सेवा अहिले रोकेका छौं, नेपालखबरसँग कुरा गर्दै सिंहले भने, ‘त्यस बाहेकका विरामीलाई सतर्कताको बिधि अपनाएर उपचार गरेका छौं।’

अन्य विरामीको हकमा पनि अस्पताल बस्नैपर्ने बाहेकका बिरामीलाई डाक्टरसँग परामर्श गर्न बाहेक भीड गराउन रोकेको उनले बताए। उनले भने, ‘फलोअप केस पनि तत्काल नआउनु भनेका छौं।’
ग्राण्डीले कोरोना संक्रमित राख्नको लागि २ वटा वेड र एउटा आइसीयू तयारी अवस्थामा राखेको छ।

‘सरकारले भन्यो भने अस्पताललाई नै आइसोलेसन बनाउने व्यवस्था गर्न सक्छौं। अहिले अरु जरुरी उपचार भने भइरहेको छ,’ उनले भने, ‘ग्राण्डीले जनतालाई सेवा दिने काम गर्छ।’

ललितपुरको पाटन अस्पतालमा भने टिकट काटेर उपचार गरिने ओपीडी सेवा बन्द गरिएको छैन। ओपीडी निरन्तर भइरहेको छ। त्यसमध्ये आँखा र दाँतको सेवा भने आजदेखि बन्द गरेको अस्पताल प्रशासनले जानकारी दियो।

अस्पतालमा दैनिक १५ सयभन्दा बढीले ओपीडीबाट उपचार गराउने भएपनि सोमबार भने उक्त संख्या घटेर ८ सयमा झरेको अस्पताल स्रोतले जनाएको छ।
कोरोना संक्रमित राख्नको लागि पाटन अस्पतालले छुट्टै वार्डको निर्माण गरेको छ।

अहिले ४ वेड आइसोलेसनका लागि छुट्याएको पाटनले त्यसमा वेड संख्या थप गरेर अस्पताल परिसरमै आइसोलेसन वार्ड बनाइरहेको अस्पतालका उपकुलपति डा. भरत यादवले जानकारी दिए।

पाटनमा त्रिभुवन विमानस्थललगायत देशैभरबाट कोरोनाको आशंकाका बिरामी आउन थालेपछि छुट्टै वार्ड निर्माण गरिएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .