ad ad

समाज


नाकामा अलपत्र नेपाली भन्छन् : भोकभोकै भयौँ, घर जाने व्यवस्था मिलाइदिनुहोस्

नाकामा अलपत्र नेपाली भन्छन् : भोकभोकै भयौँ, घर जाने व्यवस्था मिलाइदिनुहोस्

गोकुल जोशी
चैत ११, २०७६ मंगलबार ९:५३,

भारतमा काम गरेर फर्किएका सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँका मानिस सीमा नाकामा अलपत्र परेका छन्।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै भारत र नेपाल दुवै देशमा अवागमनमा रोक लगाएपछि भारतमा काम गरेर स्वेदश फर्किरहेका नेपालीहरु सीमामै अलपत्र परेका हुन्।

कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा गरी हजारौँ नेपाली नागरिक अलपत्र परेका हुन। स्वदेश प्रवेश अनुमति दिन ढिलाई भएपछि कञ्चनपुरको गड्डाचौकीमा तीन सय र कैलालीको गौरीफन्टामा आठ सय नेपाली रोकिएका छन्।

सीमावर्ती बजार बनवासा तथा दशगजा क्षेत्रमा नेपाली नागरिक सोमबारदेखि भोक–भोकै बस्न बाध्य भएका छन्। बिहानदेखि नै भोकै बस्नु परेको भारतीय सीमावर्ती सहर बनवासामा अलपत्र परेका हरिओम कोलीले गुनासो गरे।

‘बिहानैदेखि यहाँ अलपत्र छौँ, खाना पनि पाइएको छैन्,  पसल, बन्द छन्’, उनले भने, ‘हामीलाई छिटो देश फर्कन मन छ, घर जाने वातावरण मिलाइदिनु पर्‍यो।’

वनबासामै अलपत्र परेका अर्का नेपाली विष्णु जोशीले कोरोनाको संक्रमण बढ्दै गएपछि काम गर्ने कम्पनी बन्द भएका कारण स्वदेश फर्किएको बताए । ‘बिहानैदेखि गड्डाचौकीमा बस्नु परेको छ, सबै बन्द रहेकाले भोकभोकै बस्नु पर्ने अवस्था छ’, उनले भने। सीमामा अलपत्र रहेकाले नेपाली नागरिकले गन्तव्यसम्मको सुरक्षित यात्राको व्यवस्था गरिदिन प्रशासन समक्ष माग गरेका छन्।

दुई सयभन्दा बढी नेपाली नागरिक भारतीय सहर बनबासामा रोकिएका छन् भने केही दशगजा क्षेत्रमा पुगेका छन्।

यस्तै कैलालीको गौरीफन्टा नाकाको दशगजा क्षेत्रमा पनि तीन सयभन्दा बढी नेपाली रोकिएका छन्। नेपाल प्रवेश गर्न नपाउँदा साना बालबालिका, महिला र वृद्धावृद्धा अझ बढी समस्यामा परेका छन्। उनीहरु नेपाल प्रवेश गर्ने आशमा सीमा क्षेत्रमा पर्खेर बसिरहेका छन्।

सोमबार गड्डाचौकी नाकामा रोकिएका सयौँ नेपालीलाई साँझ स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न दिएको थियो। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मंगलबार भारतमा पनि ३० राज्यका पाँच सय ४८ जिल्ला लकडाउन गरिएको छ।

प्रशासन भन्छ : ढुक्क हुनुस्, गन्तव्यमा पुर्‍याउँछौँ
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमामा रोकिएका नेपाली नागरिकलाई गन्तव्यसम्म पुर्‍याउने विश्वास दिलाए। संघीय सरकारसँग नाकामा रोकिएका नेपालीहरुलाई नाका प्रवेश अनुमति दिन समन्वय भइरहेको उनले बताए।

‘तीन सय जति नोपली नागरिक रोकिएका छन्, अहिले ५० जति हिँडेर दशगजा क्षेत्रसम्म पुगेका छन्’ सहायक प्रजिअ उपाध्यायले भने, ‘उनीहरुलाई नेपाल प्रवेश गराउनका लागि समन्वय गर्दैछौँ।’ सेल्फ क्वारेन्टिन बस्ने प्रतिवद्धता गराएरमात्रै  नेपाल भित्र्याइने उनले बताए। यस्तै उनका अनुसार भारतबाट नेपाल आउनेको जिल्लागत विवरण समेत मागिने बताए।

नाकामा रोकिएका नेपालीलाई गन्तव्यसम्म पुर्‍याउन बसको व्यवस्था समेत गरिएको उनको भनाइ छ।

उता कैलालीको गौरीफन्टा नाका पनि सोमबार रातिदेखि नेपाली नागरिक रोकिएका छन्। आफूहरु गौरीफन्टा नाका रोकिएहरुलाई नाका प्रवेश अनुमतिका लागि छलफलमा नै रहेको कैलालीका सहप्रजिअ मोहनराज जोशीले बताए।

‘आठ सय जति नाकामै रोकिएका छन्, उनीहरुलाई ल्याएर कहाँ पठाउने भन्ने बारेमा छलफल जारी छ, गृह मन्त्रालयसँग पनि समन्वय भइरहेको छ’, उनले भने।

गौरीफन्टा नाकामा मंगलबार बिहान जबरजस्ती नेपाल प्रवेश गर्न थालेपछि सुरक्षाकर्मी र रोकिएका नेपाली नागरिकबीच झडप पनि भएको थियो। अहिले गौरीफन्टा नाकामा बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .