ad ad

समाज


संक्रमित छात्रासँगै आएका १२५ जना प्रहरीको सम्पर्कमा, घरमै क्वारेन्टिनमा बस्न निर्देशन

संक्रमित छात्रासँगै आएका १२५ जना प्रहरीको सम्पर्कमा, घरमै क्वारेन्टिनमा बस्न निर्देशन

सागर न्यौपाने
चैत ११, २०७६ मंगलबार ११:३७,

फ्रान्सबाट आएकी कोरोना संक्रमित छात्रासँग एउटै विमानमा आएकाहरुलाई सरकारले सम्पर्क गरी घरमै क्वारेन्टिनमा बस्न निर्देशन दिएकाे छ। बिभिन्न मुलुकबाट कतार ट्रान्जिट हुँदै स्वदेश फर्कने क्रममा ती यात्रुहरु कतार एयरलाइन्सकाे जहाजमा सँगै परेका हुन्।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले अहिलेसम्म १ सय २५ जनालाई सम्पर्क गरिएको नेपालखबरलाई जानकारी दिए।

प्रहरीले सोमबारदेखि नै सो विमानका यात्रीको सोधीखोजी गर्न थालेको थियो।

‘पेसेन्जर मेनिफेस्टो, पार्सपोर्ट डिटेल्स अध्ययन गरेर विमानमा यात्रा गरेका १ सय २५ जनाको घर ठेगाना पत्ता लगाएर परिवारको सम्पर्कमा पुगेका छौँ,’ क्षेत्रीले नेपालखबरसँग भने, ‘उहाँहरुलाई घरमै सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गरेका छौं।’

उनीहरु क्वारेन्टिनमा बसेनबसेको अनुमगन गरिने र लक्षण देखिए उपचार गर्न निर्देशन दिइएको क्षेत्रीले बताए।

‘सम्बन्धित जिल्लामै विस्तृत विवरण पठाउँछौं, सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने, बसे नबसेको स्थानीय प्रशासन तथा प्रहरीले अनुगमन गर्ने र केही लक्षण देखिए तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएका छौं,’ क्षेत्रीले भने ।

यसैबीच ती युवतीसँगै विमानमा यात्रा गरेका ४ जनाले मन्त्रालयमा सम्पर्क गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले नेपालखबरलाई जानकारी दिए।

‘अहिलेसम्म ४ जनाले आफैँ फोन सम्पर्क गर्नुभएको छ, फोन गरेकाहरुले आफूलाई कुनै समस्या नभएपनि परीक्षण गराउने बारेमा जिज्ञासा राख्नुभयो,’ दाहालले भने, ‘हामीले उहाँहरुलाई टेकु गएर परीक्षण गराउन सुझाव दिएका छौं।’

कोरोना पुष्टि भएकी युवतीसँगै यात्रा गरेकाले धेरैले त्रासका कारण सम्पर्क गरेको उनले बताए।

‘कोरोनाको कुनै लक्षण नभए घरमै बस्न सुझाव दिएका छौँ। अन्य व्यक्तिहरु पनि सम्पर्कमा ल्याउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्राचार गरिएको छ,’ उनले थपे।

चैत ४ गते कतार एयरवेजको क्यूआर ६५२ उडानमार्फत् कोरोना पोजिटिभ भएकी युवती नेपाल उत्रिएकी थिइन्। विमानमा १ सय ५८ जना यात्रु रहेको नेपाल प्रहरीका प्रवक्ता क्षेत्रीले बताए। हाल ती युवतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

यात्रुहरुको बारेमा सबै जानकारी लिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई मन्त्रालयले सोमबार नै पत्रचार गरिसकेको दाहालले जानकारी दिए।

‘हामीले हिजै पत्राचार गरिसकेका छौं, सबैको जानकारी प्राप्त हुँदैछ’, दाहालले भने।

यात्रुहरु विमानस्थलबाट ओर्लिएपछि स्वास्थ्यसम्बन्धी सबै विवरण भरिसकेको कारण उनीहरुको बारेमा खोजी गर्न समस्या नहुने उनले बताए।

विमानस्थलमा ओर्लिएपछि त्यहाँ राखिएको हेल्थ डेस्कले कोरोनाबारे आवश्यक जानकारी दिएको छ नै, सँगसँगै उनीहरुले व्यक्तिगत विवरण समेत भरेका हुन्छन्,’ दाहालले थपे, ‘विमानमा आएका अधिकांश काठमाडौंमै रहेको सूचना पाएका छौं, केही गाउँ पुगेका छन्। उनीहरुको पनि खोजी भइसकेको छ।’

अहिलेसम्म बाग्लुङमा २ जना, काभ्रेको धुलिखेलमा २ जना, काठमाडौंमा १, उदयपुरमा १ जना र झापामा १ जना र धरानका १ जनाले विमानमा आएको बताएका छन्। अहिलेसम्म उनीहरुको स्वास्थ्यमा कुनै समस्या भएकोबारे जानकारी प्राप्त नभएको मन्त्रालयले बताएको छ।

यो पनि: 
कोरोना पुष्टि भएकी युवती रहेकै जहाजमा फर्किएकी अर्की युवती होम क्वारेन्टाइनमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .