ad ad

समाज


बागलुङकी कोरोना संक्रमित युवतीको उपचार धौलागिरी अस्पतालमा हुने, अवस्था सामान्य

बागलुङकी कोरोना संक्रमित युवतीको उपचार धौलागिरी अस्पतालमा हुने, अवस्था सामान्य

वाशुदेव मिश्र
चैत १६, २०७६ आइतबार ८:८,

 बागलुङकी कोरोना संक्रमित युवतीको अवस्था ‘सामान्य’ देखिएपछि उनको उपचार बागलुङ अस्पतालमै हुने भएको छ।

‘उहाँको अवस्था सामान्य छ,  उपचार यहीँ–धौलागिरी अस्पतालमै हुन्छ’, जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलेले नेपालखबरसँग टेलिफोनमा भने, ‘उहाँ यतै बस्नुहुन्छ, ज्वरो नर्मल छ।’

उनका अनुसार धौलागिरी अस्पतालमा चौधरी फाउन्डेसनले दिएको १० वटा सुरक्षा कवच (पीपीई) दिएको र अस्पतालसँग पहिल्यै दुईवटा पीपीई भएकोले उपचारमा कुनै समस्या छैन। उनले युवतीका परिवार र सम्पर्कमा रहेकाहरुलाई पनि क्वारेन्टिनमा राखिएको जानकारी दिए।

‘उहाँसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टिनमै राख्ने हो, उहाँका परिवारहरु होम क्वारेन्टिनमै हुनुुहुन्छ’, उनले भने, ‘उहाँले को–कोलाई भेट्नुभयो, त्यो बुझ्दैछौँ।’

उनका अनुसार युवतीको थप परीक्षण गर्न आइतबार नै काठमाण्डौबाट डाक्टरहरुको टोली जाँदैछ भने पोखराबाट पनि आवश्यक सुरक्षा सामग्रीसहितको स्वास्थ्यकर्मीको टोली त्यता पठाइँदै गरिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन्।

बागलुङ नगरपालिका–४, कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना देखिएपछि आइतबार नै सो क्षेत्रमा किटनासक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ। जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौलेका अनुसार बागलुङ नगरपालिकाले सो क्षेत्रमा दमकलको प्रयोग गरि किटनासक औषधि छरेको हो। भिडभाड हुने र युवती गएको भनिएका सबै ठाउँमा किटनासक औषधि (क्लोरिन) छर्किएको उनले जानकारी दिए।

यसैगरि नगरपालिकाले सो क्षेत्रलगायतका नगरका अन्य भागमा कोरोना भाइरससम्बन्धी सचेतना जगाउन माइकिङ पनि गरेको छ। कतार एयरवेजबाट युवतीसँग बागलुङका अन्य २ जना अहिले घरमै रहेको र उनीहरुको स्वाब परीक्षणको तयारी गरिएको बताए।

संक्रमित युवती कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय बिमानस्थलमा झरेर सोही दिन नै बागलुङ पुगेकी थिइन्।

बिहान १० बजे काठमाडौं झरेकी उनी अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक विमानस्थलमा ट्याक्सीमा गएकी थिइन्। त्यहाँबाट उनी दिउँसो १२.४५ को एति एयरलाईन्सको ६७९ विमानमा पोखरा झरेकी र पोखरा विमानस्थलबाट ट्याक्सीमा जिरो किलोमिटर पुगेकी थिइन्। जिरो किलोमिटर पोखरा–बागलुङ (भूपि शेरचन राजमार्ग) को प्रस्थानविन्दु हो। त्यहाँबाट स्कारपियोले बागलुङ बजार ल्याएको हो। ६३५३ नं.को स्कारपियोका सबै सिटमा यात्रु थिए।

काठमाण्डौ झरेपछि युवतीसँगै ट्याक्सीमा आन्तरिक विमानस्थल गई जहाजमा पोखरा र त्यहाँबाट बागलुङसम्मै सँगै आएका अर्का एक युवा स्वस्थ नै रहेको स्रोतले बताएको छ।

युवतीको घरमा हजुरबा, हजुरआमा र बुबा छन्। उनी ज्वरो र खोकी लागेपछि चिकित्सक कहाँ पुगेकी थिइन्।

स्काप्रियोका चालकका दाइ लक्ष्मण रोकाले फेसबुक स्टाटस् भाइ  १३ दिनसम्म सेल्फ क्वारेन्टिननमा बसेको जानकारी दिएका छन्। उनका अनुसार भाइको स्वास्थ्य ठीक छ। ती चालकले सम्बन्धित निकायमा खबर पनि गरिसकेकाे र  नियमित सम्पर्कमा रहेकाे बताइएकाे छ। 

गण्डकी प्रदेशमै हलचल
बागलुङ–४, कुँडुलेकी युवतीमा कोरोना संक्रमण देखिएपछि सिंगो गण्डकी प्रदेश नै सशंकित र त्रसित बनेको छ।

कतार एयरको क्यूआर ६५२ को उडानबाट आएकी उनीसँगै दुईजनामा कोरोना पुष्टि भएपछि सोही उडानबाट गण्डकीका अन्य जिल्लाका को–को आएका थिए र उनीहरु कहाँ छन् भन्नेबारे खोजबिन पनि थालिएको छ।

सोही उडानमा कास्कीका एक युवा पनि आएको र उनी घरमै सेल्फ क्वारेन्टिनमा बसेको स्रोतले बतायो। स्रोतका अनुसार उनी कहाँ छन् भन्ने जानकारी प्राप्त भइसकेको र उनी पोखरा स्वास्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी अस्पतालको सम्पर्कमा रहेका छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार उनको स्वाब परीक्षण गरिँदैछ। यता, सोही उडानबाट बागलुङ, गोर्खा, स्याङ्जा, तनहुँका केही व्यक्तिहरु पनि आएको बताइए पनि आधिकारिक पुष्टि हुन बाँकी छ।

गण्डकी प्रदेशका केही स्थानीय निकायहरुले विदेशबाट आएका व्यक्तिहरुको नाम संकलन थाले पनि त्यो पूर्ण भएको छैन। कास्कीको रुपा गाउँपालिकाले विदेशबाट आएका २९ जनालाई क्वारेण्टाइनमा राखेको छ। मादी गाउँपालिकाले पनि १० बेडको क्वारेन्टिन बनाएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ४ ले विदेशबाट आएका ४ जनाको पहिचान भएको जनाएको छ। स्याङ्जामा पनि यो अभियान चलाइएको छ। बागलुङमा विदेशबाट भित्रिएकाहरु १३३ जना रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। विदेशबाट आउने केही सचेतहरु भने आफैँ सेल्फ क्वारेन्टिनमा बसेका छन्।

पोखरा महागनरपालिकाले सम्पूर्ण वडाहरुलाई विदेशबाट आएकाहरुको अभिलेख तयार पार्न भनेको छ। ‘वडाबाट संकलन हुँदैछ, १६ जना क्वारेन्टिनमा बसेका छन्, भारतबाट आएकाहरुलाई होम क्वारेन्टिनमा बसेका छन्’, पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले भने, ‘नदीपुरमा रहेको पदम् नर्सिङ होम्स र सिर्जनाचोकमा भएको लेकसिटी हस्पिटलमा १५० शय्याको क्वारेन्टिनन बनाएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .