ad ad

समाज


कोरोना संक्रमितका डाक्टरको अनुभवः २४ घण्टे ड्युटी, घरमा क्वारेन्टिन

कोरोना संक्रमितका डाक्टरको अनुभवः २४ घण्टे ड्युटी, घरमा क्वारेन्टिन

सागर न्यौपाने
चैत १६, २०७६ आइतबार १८:६,

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुस्थित पुरानो भवनको पहिलो तला। कोरोना संक्रमितलाई उपचारका लागि छुट्याइएको आइसोलेसन वार्ड यहीँ छ। अहिले यहाँ कोरोना भाइरस पोजिटिभ देखिएका दुई जना उपचार गराइरहेका छन्।

विश्वभर कोरोना संक्रमितको उपचारमा खटिएका सयौँ स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन्।

नेपालमा तिनको सुरक्षाका लागि अत्यावश्यक सामग्रीहरुको समेत अभाव छ। यस्तोमा चिकित्सकहरु डराउँदै, आफैँ क्वारन्टीनमा बसेर सम्भव भएसम्म सुरक्षाका उपाय अपनाएर संक्रमितको उपचार गरिरहेका छन्।

मनिटरबाट निगरानी, फोनबाटै बिरामीसँग संवाद
टेकुमा राखिएकामध्ये एक १९ वर्षीया युवतीमा चैत १० गते कोरोना संक्रमण देखिएको थियो। उनी चैत ४ मा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। चैत ६ गते यूएईबाट नेपाल आएका अर्का ३२ वर्षे युवकलाई पनि चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

आइसोलेसन वार्डबाहिर स्वास्थ्यकर्मीका लागि छुट्टै कोठा छ। त्यहाँ पीपीई लगाएका केही स्वास्थ्यकर्मी छन्। भित्तामा ठूलो मनिटर छ। हरेक आइसोलेसन वार्डमा टेलिफोन एक्सटेन्सन लाइन जोडिएको छ। डाक्टर र नर्स भित्र बिरामीको गतिविधि मनिटरमार्फत निगरानी गर्छन्, टेलिफोनमार्फत हालचाल सोध्छन्।

‘उनीहरु सामान्य अवस्थामा रहे नरहेको हेर्ने, कुनै समस्या परेको जस्तो देखिए फोन गरेर बुझ्ने काम हुन्छ,’ कोरोना संक्रमितको उपचार गर्ने चिकित्सक टोलीकी एक सदस्य डा. प्राची दुलाल भन्छिन्।

अत्यावश्यक परेमात्रै चिकित्सकहरु भित्र गएर बिरामीलाई भेट्ने गर्छन्।

‘उनीहरुका हरेक गतिविधि नोटिस गर्नुपर्छ, त्यही भएर सीसीटीभी हेर्छाैं’, डा. दुलालले भनिन्, ‘प्रत्येक रुममा रहेको एक्टेन्सनमा फोन गरेर सोध्ने पनि गरेको छौं, एकदमै गाह्रो अवस्था भएमा दगुरेर जान्छौं।’

उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य छ।

आइसोलेसनमा राखिएका बिरामीलाई पट्यार नलागोस् भनेर टेलिफोनमा पनि उनीहरुको रुचीका विषयमा चिकित्सकहरुले कुराकानी गर्ने गरेका छन्। बिरामीको घरपरिवार, खानपानबारे पनि कुरा हुने डा. दुलालले बताइन्।

‘बेलाबेलामा फोन गर्छाैं, के खाने, के गर्न मन छ, भनेर सोध्छौँ,’ उनले नेपालखबरसँग भनिन्, ‘आफन्तसँग पनि बोल्न दिन्छौँ। यताउता गरेर मुड फ्रेस गर्न भन्छौँ।’

कोरोनाबाट जोगिन के गर्छन् स्वास्थ्यकर्मी?
कोरोना संक्रमित भर्ना भएसँगै टेकुका चिकित्सकहरु आफ्नो स्वास्थ्यप्रति झनै सजग बनेका छन्।

कोरोना संक्रमणको आशंका गरिएका बिरामी आएपछि पहिलो परीक्षण इमर्जेन्सी कक्षमा गरिन्छ। त्यहाँ पाँच जना डाक्टरको टोली छ। त्यहाँ ल्याइने बिरामीको ज्वरो जाँच गर्ने, स्वास्थ्य र यात्रासम्बन्धी सबै विवरण लिने काम उनीहरुले नै गर्छन्।

कसैलाई कोरोना संक्रमणको लक्षण देखिए उनीहरुलाई आइसोलेसनमा लगिने इमर्जेन्सी कक्षमा कार्यरत डा. सृष्टि नेपाल बताउँछिन्। पहिलो केस नै आफूहरुले हेर्नुपर्ने भएकाले सुरक्षाको मामिलामा थप सजग रहने गरेको उनले बताइन्।

‘मास्क लगाउँछौँ, स्यानिटाइजर प्रयोग गर्छौँ,’ उनले भनिन्, ‘हात त कति धोइन्छ कति।’

विदेशमा चिकित्सकहरुमा संक्रमण फैलिएको खबर पढ्दा/हेर्दा डर लागेपनि नियमित काम जिम्मेवारीपूर्वक गरिरहेको उनले बताइन्।

आइसोलेसन वार्डमा जानुपर्दा पनि संक्रमणबाट बच्ने उपाय उनीहरुले अपनाएका छन्। डा. दुलालका अनुसार स्वास्थ्यकर्मीले संक्रमितसँग सकेसम्म कम भेट्ने गरेका छन्।

‘बेग्लाबेग्लै काममा पटकपटक जानेभन्दा पनि सबै काम लिएर एकै पटक एक जना मात्र भित्र जाने गरिएको छ,’ उनले भनिन्।

आइसोलेसनमा बस्ने डाक्टरहरुले अति आवश्यक नपरी बिरामीलाई नछुने उनको भनाइ छ।

‘धेरैजनाको प्रत्यक्ष सम्पर्क (एक्सपोजर) कम गर्न ड्युटी समेत २४ घण्टा गर्नेगरी मिलाइएको छ,’ डा. दुलालले भनिन्, ‘यसो गर्दा सरिहाले पनि धेरै व्यक्तिलाई एकैपटक सर्न पाउँदैन, त्यसमाथि पीपीई लगाएपछि प्रोटेक्ट गर्छ भन्ने कन्फिडेन्स हुन्छ।’

सुरक्षाको पूर्ण बन्दोबस्त गरेर मात्रै भित्र जाने गरेको उनले बताइन्।

‘उपचार त नजिकबाट गर्नुपर्छ। त्यसैले आइसोलेसनमा रहने डाक्टर र नर्सहरु भित्र जानुपर्दा सुरक्षाको सबै उपाय अपनाएर मात्र जान्छौँ,’ उनले भनिन्।

आइसोलेसनमा मात्र होइन, दैनिक ३०/४० जनाको प्रारम्भिक जाँच गरिने इमर्जेन्सीमा समेत पीपीई अनिवार्य गरिएको डा. नेपालले बताइन्।

कोरोना संक्रमित बिरामीमा गम्भीर लक्षण देखा पर्ने, श्वासप्रश्वासमा समेत कठिनाइ आउने हुनाले त्यस्ता जोखिमलाई पनि ध्यान दिएर तयारी गरिएको उनीहरुले बताए।

यस्तो औषधि दिइन्छ
अहिलेसम्म कोरोनाको औषधि बनेको छैन।

टेकु अस्पतालमा कोरोना पोजिटिभ देखिएकाहरुको आइसोलेसनमा उपचार गर्न पाँच जना विज्ञ डाक्टरको टोली छ।

सोही टोलीमा रहेका विशेषज्ञ डाक्टरहरुले संक्रमितलाई लक्षणअनुसारको औषधि दिने गरेका छन्।

कोरोना पोजिटिभ देखिएपछि डाक्टरहरुको प्रत्यक्ष निगरानीमा १४ दिनसम्म राखेर उपचार गर्नुपर्छ। उपचार गर्दा खोकी लागेको छ भने खोकीको, ज्वरो आएको छ भने ज्वरोको औषधि दिने गरेको उनीहरु बताउँछन्।

‘कुन औषधि दिने भन्नेबारेमा क्लिनिकल कोअर्डिनेटर अनुप बास्तोलाले सल्लाह दिनुहुन्छ, सोही अनुसार हामी चलाउँछौं,’ डा. दुलालले भनिन्।

उसो त गम्भीर लक्षण देखा परेका बिरामी अहिलेसम्म आएका छैनन्।

‘हामीले कोरोनाको पोजिटिभ देखिएकाहरुलाई प्रोटोकलका आधारमा छुट्याएका छौं, सामान्य, मध्यम र गम्भीर,’ डा. दुलालले भनिन्, ‘आइसोलेसनमा रहेका दुवैजना सामान्य अवस्थामा हुनुहुन्छ। उहाँहरुलाई अहिलेसम्म त्यस्तो एग्रेसिभ म्यानेजमेन्ट आवश्यक परेको छैन। कुनै जटिलता देखिएको छैन। त्यसैले उहाँहरु पनि डराउनुभएको छैन।’

२४ घण्टे ड्युटीपछि घरमा क्वारन्टीन
नेपालमा अहिलेसम्म नौ सयको नमूना परीक्षण गरिएकोमा जम्मा ५ जनाको मात्रै पोजिटिभ देखिएको छ। त्यसमध्ये एक जना निको भइसकेका छन्। त्यसैले नेपालमा आत्तिनुपर्नेगरी संक्रमण फैलिइनसकेको चिकित्सकहरु बताउँछन्।

संक्रमण नियन्त्रणकै लागि सरकारले लकडाउन लम्ब्याएर चैत २५ गतेसम्म पुर्‍याएको छ। संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुले पनि आफूबाट परिवारका अन्य सदस्य संक्रमित नहुन् भनेर होसियारी अपनाएका छन्।

फ्रान्सबाट आएकी युवतीमा कोरोना पोजिटिभ देखिएसँगै आफू सेल्फ क्वारन्टीनमा बसेको डा. नेपालले बताइन्। 

‘अस्पतालबाट घर फर्केपछि अलग्गै बस्ने गरेकी छु,’ उनी भन्छिन्, ‘आफूलाई सरेको रहेछ भनेपनि बाबा–ममीलाई जोगाउनु पर्‍यो, बाथरुम पनि छुट्टै प्रयोग गर्छु।’

डा. दुलाल पनि २४ घण्टे ड्युटीपछि घरमा क्वारन्टीनमा बस्ने गरेकी छन्।

‘डर लागेको छ, तर डाक्टरको धर्म पूरा गर्छु’
कोरोना पोजिटिभ भएकाहरुको उपचार गर्दा डर लाग्ने गरेको दुवै डाक्टरले बताए।

‘डर अलिअलि लाग्छ, राम्रा भनिएका देशमा त उपचार गर्ने डाक्टर मरिरहेका छन्,’ डा. दुलाल भन्छिन्, ‘यस्तो बेला चिन्ता त लाग्छ, पीपीई लगाएपछि सुरक्षा गर्छ भन्ने आत्मविश्वास पनि आउँछ।’

आफ्नो बारेमा परिवारमा पनि चिन्ता रहेको उनले बताइन्।

‘दूरी राखेर परीक्षण गराएपनि कतिपय बेला त छुनैपर्ने बाध्यता हुन्छ,’ डा. दुलालले सुनाइन्, ‘घरमा पनि ममीहरु डराउनु हुन्छ। झन् विदेशमा डाक्टरकै मृत्यु भएको सुनेपछि त उहाँहरु अत्तालिनु हुन्छ। तर, घरको मान्छेले कामै नगर, जागिर छोड भन्नुभएको छैन।’

डा. दुलालकै जस्तो अनुभव छ, डा. नेपालको पनि।

‘असाध्यै डर लाग्छ, सकभर डिस्ट्यान्स मेन्टेन गर्छु,’ डा. नेपालले भनिन्, ‘तर, डर लागेपनि आफ्नो धर्म यही हो, परिवारलाई नआत्तिन भन्ने गरेको छु।’

संक्रमित ठानिएको व्यक्तिमा निगेटिभ नतिजा आउँदा आफूहरुलाई खुब खुसी लाग्ने डा. दुलाल बताउँछिन्।

‘पाँच दिनअघि सिरियस केस आयो,’ उनले भनिन्, ‘सबै लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो देखियो। अनि हामीले आईसीयूमै राखेर परीक्षण गर्न पठायौँ,’ उनले भनिन्, ‘भाग्यवश रिपोर्ट निगेटिभ आयो। हामी सबै खुसी भयौँ।’

‘अब यस्ता केस नआइदिए हुन्थ्यो जस्तो लाग्छ,’ डा. दुलालले थपिन्, ‘अहिले काठमाडौंमा जम्मा २ जनाको उपचार भइरहेको छ, सबै नेपाली घरभित्र बसेका छन्। महामारी यसै टरोस्।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .