ad ad

समाज


पोखरा महानगरद्वारा २ करोडको राहत कोष घोषणा, मजदूरले पाउने भए ‘प्याकेज’

पोखरा महानगरद्वारा २ करोडको राहत कोष घोषणा, मजदूरले पाउने भए ‘प्याकेज’

वाशुदेव मिश्र
चैत १७, २०७६ सोमबार ९:३१,

पोखरा महागनरपालिकाले अति विपन्न तथा दैनिक ज्यालादारी गर्नेहरुलाई लक्षित गरी २ करोडको राहत कोष घोषणा गरेको छ।

कोरोना संक्रमणबाट जोगिन लागू गरिएको ‘लकडाउन’का कारणा विपन्न र दैनिक ज्यालादारी गर्नेहरुको दैनिकी कष्टकर बनेपछि महानगरले सोमबार सो कोष घोषणा गरेको हो। महानगरका मेयर मानबहादुर जिसीका अनुसार कोषबाट खाद्यान्न संकटबाट गुज्रेकाहरुलाई राहत दिइनेछ।

‘हामीले पोखरा महानगरबासी कोही पनि भोकै नहून् भनेर यो प्याकेज ल्याएका हौँ’, मेयर मानबहादुर जसीले नेपालखबरसँग भने,‘यो प्याकेज हातमुख जोर्न कठिन भएका सबै विपन्न र ज्यालादारी गर्ने नगरबासीको लागि हो। विदेशी नागरिकहरुले पनि यो सुविधा पाउँछन्।'

हातमुख जोर्न कठिन भएका ज्यालादारीमा गुजरा चलाउने र मजदूरहरुको लगत संकलन भने टोल विकास समितिले गर्नेछ। टोलका मान्छे को कहाँ बस्छ र उसको अवस्था कस्तो छ भन्ने जानकारी हुने भएकोले विकास संस्थालाइ यसको जिम्मेवारी दिइएको हो।

टोल विकास समितिले सम्बन्धित वडा कार्यालयलाई सिफारिस गरेपछि जनप्रतिनिधिले त्यसलाई प्रमाणित गर्नेछन्। ‘प्रमाणित व्यक्तिलाई वडाले टोकन दिनेछ, हामीले प्रत्येक टोलमा पायक पर्ने ठाउँको पसलबाट सामान लिन सक्ने प्रबन्ध मिलाएका छौँ’, मेयर जिसी भन्छन्, ‘भुक्तानी महानगरले दिनेछ। यसमा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले समन्वय गर्नेछन्।’

खाद्यान्न बिक्री केन्द्र मंगलबारसम्म तय गरिने उनले जनाए। राहत प्याकेज २ हजार रुपैयाँ बराबरको हुनेछ। सो प्याकेजअन्तर्गत २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, नुन र एक केजी गेडागुडी हुनेछ। यो पाँच जनाको परिवारका लागि बनाइएको प्याकेज हो। छुट्टाछुट्टै बस्नेको हकमा भने उनीहरु पाँच जना मिलेर आउनुपर्ने नियम बनाइएको छ।

करिब १० दिनको लागि मात्र यो प्याकेज बनाइएको बताउँदै मेयर जिसीले बुधबारबाट यो प्याकेज कार्यान्वयनमा आउने जानकारी दिए।

यसअघि आइतबार संघीय सरकारले प्रदेश तथा स्थानीय निकायहरुसँग समन्वय गरी राहत प्याकेज दिइने घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .