ad ad

समाज


उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना

उच्च जातको केटी भगाएको आरोपमा दलित युवकमाथि प्रहरी चौकीमै चरम यातना

शैलेन्द्र महतो
चैत १८, २०७६ मंगलबार १५:३७,

उच्च जातको केटी भगाउन सहयोग गरेको भन्दै प्रहरी प्रशासनको मिलेमतोमा एक दलित युवकलाई चरम यातना दिएको घटना सार्वजनिक भएको छ।

धनुषाको विदेह नगरपालिका–५ एकराही बस्ने २५ वर्षका सुनिलकुमार खत्वे मण्डललाई प्रहरी प्रशासनको मिलेमतोमा प्रहरीचौकीमै चरम यातना दिएको घटना बाहिरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने एक यादव थरकी युवतीलाई सुनिल मण्डलका सालो धनौजी गापा–३ बस्ने २० वर्षीय अनिल कुमार मण्डलसँग भाग्न सघाएको भन्दै मण्डलमाथि प्रहरी प्रशासनकै मिलेमतोमा चरम यातना दिइएको पीडित परिवारको आरोप छ। अनिल सुनिलका सालो हुन्।

सोही विषयलाई लिएर विदेहनगरपालिका स्थित तीनकौरिया प्रहरी चौकीका इन्चार्ज असई मोदनारायण यादवले गएको चैत १५ गते विहान मण्डललाई घरबाटै हिरासतमा लिएर चौकीमा ल्याएका थिए।

केटी पक्षको केही आफन्त बोलाएर ३/४ घण्टा चौकी भित्र राखेर असई यादव समेतले मिली हात, मुक्का, लात, पाइपले शरीरको विभिन्न भागमा प्रहार गरी सुनिललाई यातना दिएको उनकी आमा सम्तोलिया देवीले मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी पीडा सुनाएकी छन्।

विना पक्राउ पूर्जी सुनिललाई पक्राउ गरी प्रहरी चौकी तीनकौरियामा राखेर दिनभर यातना दिएको विदेह नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयराम मण्डल केवटले बताए।

‘म सुनिललाई छुटाउन गए। उनलाई भित्रबाट बाहिर ल्याउँदा बेहोस् भएर लडे। आफूलाई निकै यातना दिएको बताए। त्यति बेला नै केटी पक्षका एकजनाले सुनिललाई प्रहरीकै सामुन्ने तथानाम गाली गर्दै धम्की दिए। यसले सुनिललाई कतिसम्म प्रहरी प्रशासनकै मिलेमतोमा यातना दिएको भन्ने छर्लंग हुन्छ’ वडाध्यक्ष केवटले भने।

निर्घात कुटपिटबट घाइते भएका सुनिललाई सोही दिन दिउँसो ३ बजे विदेह नगरपालिकाका मेयर बेचन दास, वडाध्यक्ष ६ का वडाध्यक्ष केवट, स्थानीय प्रितम खत्वे र सुकिल मण्डलको रोहवरमा कागज गरेर छोडिएको थियो।

घर पुगेर साँझ झनै सिकिस्त भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। दुई दिन उपचार पश्चात स्वास्थ्य अवस्थामा सुधार आएपछि कोरोना भाइरसको सन्त्रासको कारण अस्पतालले घरमै राखेर उपचार गराउन सल्लाह दिएको आमा सम्तोलियादेवीको भनाइ छ। सुनिललाई १७ गते साँझ अस्पतालले डिस्चार्ज गरेको थियो।

आमा सम्तोलियाले केटी भगाउन छोरा सुनिलको कुनै भूमिका नहुँदा समेत विना प्रमाण र पुष्टि दलित भएकै कारण प्रहरी प्रशासनको मिलेमतोमा चौकीमै ल्याएर चरम यातना दिएको गुनासो गरिन्।

केटी भगाउन सघाएकै विषयमा त्यसअघि नै सुनिललाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ९ गते पक्राउ गरी सार्वजानिक अपराध मुद्दा चलाएको थियो। उनी जिल्ला प्रशासन कार्यालय धनुषामा धरौटीमा फागुन १३ गते रिहा भएका थिए।

aama-vai.pngसुनिलकी आमा सम्तोलिया र भाइ सकिल पत्रकारसँग पीडा सुनाउँदै‘दाइ जिल्ला प्रशासनमा ३ हजार धरौटी राखेर रिहा हुनुभएको थियो। फेरि कसरी विना पक्राउ पूर्जी प्रहरीले के आधारमा पक्रेर चौकीमा ल्याई केटीका आफन्तसँग मिलेर यातना दिए? केटी भागाउने विषयमा दाइलाई केही थाहा छैन। कुनै संलग्नता छैन। फेरि पनि यस्तो बर्बर यातना किन?’ भाइ सकिलले भने ‘पक्कै पैसाको चलखेलमा प्रहरी प्रशासन केटी पक्षसँग मिलेर हामी दलितमाथि अन्याय गरिरहेका छन्।’

सुनिल अस्पतालमा उपचाररत्त हुँदा पनि केही अपरिचित व्यक्ति पुगेर धाकधम्की र गालीगलौज गरेको भाइ सकिलको आरोप छ।

घटनाबारे विदेह नगरपालिकाका मेयर बेचन दासले प्रहरी हिरासतमा लिएर प्रहरीले कुटपिट गरेकाले घटनाको छानविन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।

यता, घटनाबारे धनुषाका डीएसी रामेश्वर कार्कीले सुनिलको सालोले कम उमेरको केटी भगाएको प्रमाण भेटिएको र त्यसमा उनको पनि संलग्नता देखिएपछि सार्वजनिक अपराधको मुद्दा चलाएको बताए। जिल्ला प्रशासन कार्यालय धनुषामा धरौटी राखेर तारेखमा रिहा भएका सुनिलाई १५ गते तीनकौरिया प्रहरी चौकीमा सोधपुछको लागि बेलाएको तर प्रहरीले कुनै प्रकारको यातना नदिएको डीएसपी कार्कीले दावी गरे।

‘तारेखमा रिहा भएका सुनिलले तीनदिनमा केटाकेटीलाई उपस्थित गराउँछु भनेर प्रतिवद्धता जनाएका थिए। तर नगराएपछि सोधपुछको लागि तीनकौरिया प्रहरीचौकीमा बोलाइएको थियो। त्यहाँ कुनै कुटपीट भएको छैन’ डीएसपी कार्कीले भने ‘प्रहरी हिरासतमा कुटपिट भएको छैन। आरोपबाट जोगिन मिडियाबाजी गरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .